सीमामा कार्यालय छ काम छैन

सीमामा कार्यालय छ काम छैन

फिदिम : जिल्लाको उत्तरी सीमा क्षेत्र च्याङथापुस्थित सीमा प्रशासन कार्यालयको काम ठप्प भएको छ। शाखा अधिकृत, नायबसुब्बा, खरिदार, सहलेखापाल, कम्प्युटर अपरेटर एक÷एक र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको यो कार्यालयले २०५७ सालदेखि प्रभावकारी रूपमा काम गर्न नसकेको हो। दरबन्दीअनुसारका कर्मचारी हाजिर नभएपछि कार्यालय खोल्न र बन्द गर्नमै सीमित भएको छ।

भारतको सिक्किम जान पासको व्यवस्था र नागरिकतासम्म बनाउन सुविधा दिने कार्यालयबाट काम ठप्प भएपछि स्थानीयलाई समस्या भएको छ। कार्यालय सञ्चालन नभएपछि नागरिकता बनाउन सदरमुकाम फिदिम धाउनुपर्ने बाध्यता छ। सीमा प्रशासनले दिनुपर्ने पास च्याङथापुस्थित प्रहरी चौकीले दिँदै आएको स्थानीय यज्ञ भट्टराईले बताए।

‘कार्यालय सञ्चालन गरेर सेवा दिने हो भने धेरैलाई राहत हुनेछ’, उनले भने, ‘सीमा प्रशासन कार्यालयलाई प्रभावकारी ढंगले सञ्चालन गर्न राज्यले चासो दिनुपर्छ।’

एक जना कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन्। ‘कार्यालय खोल्ने, झन्डा राख्ने र बन्द गर्ने काम गरिरहेको छु’, १३ वर्षदेखि कार्यालय सहयोगी रहेका लक्ष्मी खवासले भने, ‘हाकिम नहुँदा अरू काम हुनै सक्दैन।’

अधिकृतलगायत कर्मचारी पठाइए पनि नजाने गरेको जनाइएको छ। कर्मचारी गए पनि दुई-चार दिन हाजिर भएर त्यसपछि जाँदैनन््। अघिल्लो वर्ष नायबसुब्बा रेणु ओझा ६ महिना बसेका थिए। प्रमुख जिल्ला अधिकारीले ओझालाई नै कार्यालय प्रमुखको जिम्मेवारी तोकेका थिए। त्यस बेला ओझाले १५ जनालाई नागरिकता वितरण गरेका थिए।

‘अधिकृत र सुब्बा नभएपछि भएका कर्मचारी पठाए पनि काम हुँदैन’, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले भने ‘सीमा प्रशासनमा अधिकृतलगायत कर्मचारी खटाउन सकिएको छैन। कर्मचारी पर्याप्त भएपछि सीमा प्रशासनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेछौं।’ सीमा प्रशासन कार्यालयबाहिर झन्डा र बोर्ड देखिन्छ। कार्यालयभित्र दुई-चारवटा कुर्सी राखिएका छन्।

यो कार्यालयले उत्तरी क्षेत्रको नियमित अनुगमन र जाँच गरी प्रतिवेदन दिने, स्थानीय शान्ति-सुरक्षाका साथै यो क्षेत्रका अन्य सरकारी कार्यालय र संघसंस्थाबीच निरन्तर समन्वय गर्ने र विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हो। विगतमा दुई गाउँपालिकाका झन्डै एक दर्जन वडाका बासिन्दालाई सीमा प्रशासनले सेवा प्रदान गर्दै आएको थियो। उत्तरी फलैंचा, च्याङथापु, मेमेङ र प्राङबुङसित भारतीय सीमा जोडिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.