आकस्मिक गर्भनिरोधकको दुरुपयोग

आकस्मिक गर्भनिरोधकको दुरुपयोग

बिर्तामोड : एक औषधि पसलमा २०–२५ वर्षकी युवती आइन्। औषधि पसलेसँग उनले भनिन्, ‘दाइ इकोन दिनुस् न।’ पसलेले इकोन सकिएको भन्दै त्यसको विकल्पमा अर्को औषधि दिए। युवतीले पसलमै पानी मागेर औषधि खाइन्, दुईवटा किनेर झोलामा राखेर हिँडिन्।

व्यापारीका अनुसार केही समयअघि यौन व्यवसायीले यो औषधिको प्रयोग बढी प्रयोग गर्थे। पछिल्लो समय बिर्तामोडका औषधि पसलमा इकोनलगायत गर्भनिरोधक औषधि बढी बिक्नेमा पर्न थालेको छ। यस्ता औषधि प्रयोगकर्ता विवाहितभन्दा पनि अविवाहित किशोरकिशोरी बढी रहेको औषधि पसल सञ्चालक बताउँछन्।

‘यसलाई बेच्ने उसलाई नबेच्ने भन्ने मापदण्ड छैन’, व्यवसायी सन्दीप शाक्यले भने, ‘त्यसैले यसको दुरुपयोग गर्नेको संख्या बढेको छ।’

उनका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा क्याम्पस पढ्ने युवायुवतीले। ‘यौनसम्पर्कमा रहने कतिपय अविवाहित युवती त आकस्मिक गर्भनिरोधक चक्कीकै भरमा भेटिएको छ’, उनले भने।

नयाँ बस पार्क क्षेत्र, इलाम स्टेन्ड, बीएन्डसी अस्पताल लाइन, कन्काई र मनमोहन अस्पलात क्षेत्रका मेडिकलमा आकस्मिक गर्भनिरोधक चक्की लिन आउनेको संख्या बढी रहेको जनाइएको छ। अधिकांश युवती आफैं आउँछन् भने कोही युवाले पनि इकोन माग्ने गरेको व्यापारीको भनाइ छ। अस्थायी साधनमध्ये प्रायःले इकोन र केहीले पिल्स किन्ने गरेका छन्। कलेज ड्रेसमा पनि कतिपय युवायुवती अस्थायी साधन किन्न आउने गरेको उनीहरू सुनाउँछन्।

एउटा मेडिकलबाट दैनिक ८ देखि १० वटासम्म आकस्मिक गर्भनिरोधक औषधि बिक्री हुने गरेको पाइएको छ। ‘अविवाहितले त दुरुपयोग गरेका नै छन्, कतिपय विवाहित महिलाले पनि यसको दुरुपयोग गरेको पाइएको छ’, एक मेडिकलमा काम गर्ने प्रतिमा सुवेदीले भनिन्, ‘आकस्मिक गर्भनिरोधक चक्की भएपछि विवाहितले पनि महिनाभर खानुपर्ने चक्की, सुइ वा पुरुषले कन्डमको प्रयोग गर्न नरुचाउने गरेको पाइएको छ।’

यस्ता औषधि नियमित खाए हाड खिइने, क्यान्सर, मुटु रोगको सम्भावना बढ्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्ने।

छिटो, सजिलो र झन्झटरहित मानेका कारण आकस्मिक गर्भनिरोधक साधनको दुरुपयोग बढ्दो छ। पछिल्लो समय इकोन र आईपिल खोज्ने ग्राहक बढी आउने गरेको मेडिकल सञ्चालक बताउँछन्। आकस्मिक गर्भनिरोधक भन्दै आइपिल, म्याक्स ७२, इ ७२, इकोन, अनवान्टेड, पोस्टिनोर आदि औषधि बढी बिक्री भइरहेको पाइएको छ। ५० देखि १ सय ५० रुपैयाँसम्म पर्ने यस्ता चक्कीको माग बढ्दै गएको औषधि व्यवसायी बताउँछन्।

आकस्मिक गर्भनिरोधक चक्की असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्ने हुन्छ। जसरी कुनै पनि गर्भनिरोधक साधनले शतप्रतिशत गर्भनिरोध ग्यारेन्टी दिँदैन त्यसैगरी आकस्मिक चक्कीले पनि सही समयमा उपयोग गरे ९९.९ प्रतिशतको मात्र ग्यारेन्टी दिने बीएन्डसी अस्पतालका विशेषज्ञ डा. रोहित यादवले बताए। आकस्मिक रूपमै यसको प्रयोग गरे यसका सामान्य र तत्कालीन असरबाहेक अन्य जोखिम नहुने उनको भनाइ छ। उनका अनुसार यसको नियमित उपयोग गरे स्वास्थ्य जटिलता देखिन सक्छ।

यसको दुरुपयोगले शरीरमा हार्मोनको स्तरमा वृद्घि भई स्टेराइडसम्बन्धी जटिलता देखिने, हाड खिइने, क्यान्सर, मुटु रोगको सम्भावना बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान सक्छ। यसको अत्यधिक प्रयोगले प्रजनन् स्वास्थ्यमा समस्यासमेत हुन सक्ने जनाइएको छ।

१५२१ जनाको गर्भपतन

झापामा गर्भपतन गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा १ हजार ५ सय २१ जनाले गर्भपतन गराएका छन्। गर्भपतन गराउनेमा कम उमेरमा विवाह गरेकादेखि विवाह नै नगरेका पनि रहेको कार्यालय स्रोतले जनाएको छ। ‘आठ सातासम्मको गर्भपतन गराउन सक्ने गरी निःशुल्क सेवा दिइँदै आएको छ’, जनस्वास्थ्य अधिकृत मधुसूधन कोइरालाले भने, ‘अहिले लुकिछिपी गर्नुपर्ने अवस्था नभएकाले गर्भपतन गराउनेको लाइन नै लाग्छ।’ जिल्लामा १२ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिँदै आएको छ। गर्भपतन गराउनेको संख्या बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.