वर्षका १० फिल्म

वर्षका १० फिल्म

२०७४ सालमा ७० वटा नेपाली फिल्म रिलिज भए। वैशाख १ गते दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’ले खोलेको खाता चैत ३० गते मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ रिलिज भएसँगै टुंगियो। यो वर्ष रिलिज भएका १० प्रतिशत जति चलचित्रले बक्स अफिसमा आफूलाई अब्बल साबित गरे भने केही चलचित्र बक्स अफिसमा असफल भए पनि विभिन्न कारणले चर्चामा रहे।

 यो वर्ष महिला निर्देशक र सिक्वेल फिल्मले धेरै चर्चा पाए। रिलिज भएका फिल्मको तुलनामा निर्माण सुरु भएका फिल्मको संख्या अधिक देखियो। वर्ष ०७४ मा फिल्ममा हुने लगानीसँगै ठूला बजेटका नेपाली फिल्म बन्ने क्रम बढ्यो। फिल्मले गरेको व्यापार, चर्चा, फिल्ममा समावेश गीतले पाएको भ्युज र कलाकारले पाएको हाइपका आधारमा वर्षका १० फिल्म चयन गरिएको छ।

‘पर्व’

नायक मानवले एक दिन ‘क्लब’मा चुस्की लिइरहँदा एक जोडी नशामा झुम्दै सोफामा उत्ताउलो प्रेमालाप गरिरहेको देख्छ। नशामा उन्माद युवतीको मोबाइलमा घन्टी बज्छ। उनले मानव भएनजिकै गएर फोन उठाउँछिन्। ती युवतीका श्रीमान्ले फोन गरेका हुन्छन्। प्रेमीसँग नशामा चुर भएकी ऋतु अर्थात् नायिका नम्रता श्रेष्ठ बाहिरिन्छिन्। ऋतुको हराएको फोन लिएर उपन्यासकार नायक नायिकाको घरमै पुग्छन्।

‘पर्व’को कथा जति सरल छ, त्यति नै ‘सस्पेन्स’ छ। मानव र ऋतुबीच सम्बन्ध गहिरिँदै जान्छ। ‘काले दाइ, काले दाइ’ बोलको गीत फिल्मको अर्को आकर्षण हो। फिल्म नायक मानव (कोसिस क्षेत्री) को मनोविज्ञान वरिपरि घुमेको छ। दिनेश राउतको निर्देशनमा बनेको पर्वमा मसिना विषयलाई सूक्ष्म ढंगले देखाइएको छ। फिल्म निकिता पौडेल र सुवास गिरीले निर्माण गरेका हुन्। फिल्ममा नम्रता, कोसिस, माला लिम्बू, जेविका कार्कीको अभिनय छ। बक्स अफिसको कलेक्सनले भन्दा पनि फिल्मको विषयवस्तु र प्रस्तुतिका कारण यो फिल्म चर्चामा रह्यो।

प्रेम गीत-२

२०१६ को म्युजिकल लभ स्टोरी ‘प्रेम गीत’को सिक्वेलका रूपमा निर्माण भएको ‘प्रेम गीत-२’ व्यावसायिक हिसाबले सफल फिल्म हो। रोमान्स र एक्सन समावेश फिल्ममा म्यानमारबाट नेपाल घुम्न आएकी युवतीको कथा छ। अभिनेता प्रदीप खड्का र अभिनेत्री अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको फिल्म सन्तोष सेनले निर्माण गरेका हुन्। रामशरण पाठकले निर्देशन गरेको फिल्ममा सन् १९४५ को दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्दै एक्सन, प्रेम, ड्रामा र कमेडी मिसाइएको छ। बर्मादेखि मुगुसम्मको यात्रा छ यसमा। यात्रामा हुने नायक प्रेम र नायिका गीतको रोमाञ्चक प्रेमकथा कथा नै फिल्मको मुख्य अंश हो।

ए मेरो हजुर-२

शिव रेग्मीको निर्देशनमा बनेको ‘ए मेरो हजुर’ को सिक्वेलका रूपमा बनेको फिल्म ‘ए मेरो हजुर-२’बाट नायिका झरना थापाले निर्देशनमा डेब्यु गरेकी हुन्। ‘ए मेरो हजुर’मा उनी नायक श्रीकृष्ण श्रेष्ठको अपोजिटमा थिइन्। यसको सिक्वेलमा भने अघिल्लो फिल्मका कलाकार छैनन्। अघिल्लो फिल्मका निर्देशक शिव र नायक श्रीकृष्णको निधन भइसकेको छ। ‘ए मेरो हजुर-२’ मा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स हेर्न पाइन्छ। झरनाकै होम प्रोडक्सनमा बनेको फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। हिमाली जिल्लामा छायांकन गरिएका फिल्मका गीत चर्चामा छन् भने विदेशमा समेत फिल्मले राम्रो कलेक्सन गरेको छ।

छक्कापञ्जा-२

सिक्वेल फिल्मको क्रम चलिरहेकै बेला आएको ‘छक्कापञ्जा-२’ ले बक्स अफिसमा राम्रो कलेक्सन गर्योह। छिटो कलेक्सनको हिसाबले यसले अघिल्लो फिल्मलाई उछिन्यो। विजया दशमीको अवसर पारेर रिलिज गरिएको दीपा श्री निरौला निर्देशत यो फिल्मका कलाकारहरू ‘छक्कापञ्जा’कै दोहरिए पनि कथावस्तु फरक छ। फिल्ममा वैदेशिक रोजगारीले नेपाली समाजमा निम्त्याएको समस्या मुख्य विषय बनाइएको छ। आमा सरस्वती मुभिज तथा आईएमईको प्रस्तुति ‘छक्जापञ्जा-२’ निर्माणमा एक करोड ५० लाख रुपैयाँ लगानी भएको थियो। दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत लगायतले फिल्ममा अभिनय गरेका छन्।

कान्छी

नायिका श्वेता खड्काले दिवंगत पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जलि दिन निर्माण गरेको फिल्म हो ‘कान्छी’। मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा फिल्मको सम्पूर्ण छायांकन गरिएको छ। चलचित्रका निर्देशक आकाश अधिकारी हुन्। यसअघि श्वेता अभिनीत फिल्म ‘कोहिनुर’मा पनि निर्देशक आकाश नै थिए। ‘कान्छी’को मुख्य भूमिकामा श्वेताले अभिनय गरेकी छन्। ४८ दिन लागाएर छायांकन गरिएको ‘कान्छी’मा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन्। नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियन्ता भूमिका               श्रेष्ठ फिल्ममा छन्। पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बास्कोटा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीको संगीत रहेको फिल्मको ‘चरी चट्ट परी’ बोलको गीतले निकै चर्चा पाएको थियो।

ऐश्वर्य

समीर (रमेश उप्रेती) र राघव (प्रशान्त ताम्रकार) काठमाडौंका दुई प्रतिस्पर्धी व्यापारी हुन्। तर, जब मोडेल दीपिका (दीपिका प्रसाई) फिल्मको पर्दामा देखिन्छिन्, त्यसपछि सुरु हुन्छ— यी दुईबीचको वास्तविक द्वन्द्व। ऐश्वर्यको कथा उनीहरूकै सेरोफेरोमा घुमेको छ। नायक रमेश उप्रेतीले लामो अमेरिका बसाइपछि निर्माण गरेको चलचित्र हो यो। उद्योगमा राम्रै स्थान बनाइरहेका उनी एकाएक अमेरिका सेटल भएका थिए। उताबाट फर्केपछि उनले ‘ब्रासलेट’ नामक फिल्म खेलेका थिए तर त्यसले उनको पुनरागमन निराशाजनक बनाएको थियो। त्यसपछि आफ्नै लगानीमा बनाएको ‘ऐश्वर्य’ले उनलाई उचाइमा पुर्याायो।

दिवाकार भट्टराईले निर्देशन गरेको यो फिल्मबाट मोडल दीपिका प्रसाईले डेब्यु गरेकी हुन्। फिल्ममा समावेश दीपिकाको बिकिनी दृश्यले निकै चर्चा पाएको थियो। रमेश, दीपिका, प्रशान्तका साथै केकी अधिकारी पनि फिल्ममा मुख्य भूमिकामा छिन्। छठ पर्वको अवसरमा रिलिज गरिएको फिल्म एक करोड ७५ लाख रुपैयाँको लागतमा बनेको हो। काठमाडौं, पोखरा, मुस्ताङ लगायतका स्थानमा यसको छायांकन गरिएको छ।

कृ

अनमोल केसी र अदिति बुढाथोकी स्टारर ‘कृ’ धेरै कारणले चर्चामा रह्यो। फिल्म प्रदर्शन भइसकेपछि गीत चोरीको आरोप लाग्यो। पुराना निर्देशक शम्भु प्रधानले सम्झनामा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत निर्माता सुवास गिरीले चोरेर ‘कृ’मा राखेको भन्दै मुद्दा हाले। निकै बहस भयो। र, ११ लाख रुपैयाँ जरिवाना तिरेर ‘कृ’ टिमले फिल्मबाट गीत हटायो। व्यावसायिक रूपमा पनि फिल्म सफल नै रह्यो।

कलाकारलाई दृश्यअनुसार तयार गर्न लामो समय खर्चिएको हुनाले फिल्म प्रदर्शनमा आउन दुई वर्ष लाग्यो। यसअघिका चलचित्रमा लभर ब्वाइको भूमिकामा देखिएका अनमोल यसमा ‘एंग्री एक्सन स्टार’का रूपमा प्रस्तुत भए। ‘जानी नजानी माया’ बोलको गीतमा दर्शकले अनमोलको पछिल्लो लुक्स हेर्न पाए। यो गीत स्कटल्यान्डका रमणीय स्थानमा छायांकन गरिएको छ। फिल्ममा अनमोल सेनासँग जोडिएको भूमिकामा छन्। रिभेन्ज र राष्ट्रियतासँग जोडेर उनलाई प्रस्तुत गरिएको छ। सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन्।

शत्रु गते

सत्र वर्षपछि मह सञ्चारले निर्माण गरेको ‘शत्रु गते’ व्यापारिक रूपमा सफल भयो। कलाकारहरूको जम्बो टोली समावेश चलचित्र ‘ऊँट’ बनेको चर्चा गर्नेहरू पनि भेटिए। ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’मा मदनकृष्ण        श्रेष्ठ र हरिवंशको साथमा पल शाह, आँचल शर्मा, नरेन्द्र कंसाकार, रमेश झा, मोहित आचार्य, दीपकराज गिरी, शिवहरि पौडेल, दीपा श्री निरौला, वसुन्धरा भुसाल, प्रियंका कार्की किरण केसी लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको कथा हरिवंशले लेखेका हुन्।

२ रुपैयाँ

बक्स अफिसमा आशातीत सफल नदेखिए पनि फिल्ममा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले करोडौं भ्युज पाएका कारण ‘२ रुपैयाँ’ले लाखौं रुपैयाँको चर्चा पायो। रिलिज गरिएको छोटो समयमा सबैभन्दा धेरै भ्युज पाउने नेपाली गीतको रेकर्ड पनि यही गीतले राखेको छ। जी टु वान प्रोडक्सन र ब्ल्याक हर्सको ब्यानरमा असिफ शाह निर्देशित यो फिल्ममा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, टीका पहाडी, मेनुका प्रधान, राजन ईशान, प्रतीकराज नेउपानेको अभिनय छ।

म यस्तो गीत गाउँछु

सुदर्शन थापा निर्देशत फिल्म ‘म यस्तो गीत गाउँछु’ रोमान्टिक लभ स्टोरी हो। फिल्ममा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। फिल्मकी निर्मात्री पनि यसकी नायिका पूजा नै हुन्। बाबुको कडा निर्देशनमा रहेकी छायाँ अर्थात् पूजा शर्मा स्वतन्त्र पन्छीझैं उड्ने सपना देखेपछि घर छाड्छिन्। घर छाडेपछि नायक पलसँग हुने भेट र उनीसँग नायिकाको बढ्ने सम्बन्ध नै फिल्मको मुख्य अंश हो। छायाँले किन पल र आफन्त भुल्छिन् ? पुराना याद फर्काउन पलले के के गर्छन्, यही सेरोफेरोमा फिल्म घुमेको छ। पूजा र पलसँगै फिल्ममा सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारको अभिनय छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्मको ‘मनको कुरा भन्छु आज’ बोलको गीतले चर्चा पायो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.