पर्यटकीयस्थलको प्रचारमा पदयात्रा

पर्यटकीयस्थलको प्रचारमा पदयात्रा

 फुङलिङ : पूर्वका पर्यटकीयस्थल प्रचारप्रसार गर्ने उद्देश्यले तिनजुरे-गुफा-पाथीभरा पदयात्रा समूह शुक्रबार ताप्लेजुङ आइपुगेको छ। ‘अबको गन्तव्य पाथीभरा’ भन्ने मूल नारासहित ताप्लेजुङ र पाथीभराको पर्यटन प्रवद्र्धनलाई जोड दिने, ताप्लेजुङ, पाँचथर, तेह्रथुम र संखुवासभाका पर्यटकीयस्थलको प्रचार गरी पाथीभरा जाने पर्यटकलाई त्यसतर्फ प्रेरित गर्ने पदयात्रा आयोजक ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले जनाएको छ।

‘कोशी र मेची पहाडका पर्यटकीयस्थललाई एउटै सर्किटमा जोड्ने हाम्रो लक्ष्य हो’, पदयात्राका संयोजक टंक श्रेष्ठले भने, ‘तेह्रथुमको बसन्तपुर-संखुवासभाको गुफापोखरी-ताप्लेजुङको पाथीभरा-पाँचथरको सिलौटी हुँदै इलामसम्मको यो पदमार्ग प्रदेश १ कै उत्कृष्ट गन्तव्य हुन सक्छ।’

जसका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका सरोकारवालाको अगुवाईमा काठमाडौंबाट हिँडेको टोलीले शनिबार पाथीभरा देवीको मन्दिरमा विशेष कार्यक्रम गर्नेछ। ‘नयाँ वर्ष २०७५ को पहिलो दिन पाथीभरा मन्दिरमा ‘पूर्वको पर्यटन विकासमा पाथीभरा’ विषयक कार्यक्रम हुनेछ’, श्रेष्ठले भने।

बसन्तपुरबाट चैत २७ गते हिँडेर तीनजुरे-गुफापोखरी-मिल्के-दोभान हुँदै शुक्रबार फुङलिङ पुगेको टोलीले फुङलिङमा ताप्लेजुङको पर्यटकीय सम्भावना र चुनौती विषयक अन्तक्र्रिया गरेको थियो। अन्तक्र्रियामा प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले धार्मिक आस्था र प्राकृतिक सुन्दरताको धनी पाथीभरा क्षेत्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बासस्थान र जैविक विविधताको भण्डार रहेकाले यसको प्रवद्र्धनमा केन्द्र सरकार लाग्ने बताए।

चौकी, गुफा र साँघुमा पनि स्थानीयसँग पर्यटन प्रवद्र्धन सम्बन्धित छलफल भएको सरोकार केन्द्रका उपाध्यक्ष रमेश बरालले जानकारी दिए। ‘अहिले २८ प्रजातिका गुराँस फुलेर राताम्मे रहेको यो क्षेत्रले पर्यटकलाई अन्य मौसममा पनि उत्तिकै लोभ्याउँछ’, बराल भन्छन्, ‘साथै सूर्योदयसँगै देखिने कन्चनजंघा-कुम्भकर्ण-मकालु-खुम्बु र गौरीशंकर हिमशृंखलाको एकैपटक दृश्यावलोकन गर्न सकिन्छ।’

ताप्लेजुङमा कञ्चनजंघासहित आठ हजार मिटरभन्दा बढी उचाईका पाँचवटा हिमाल छन्। तीन हजार सात सय ९४ मिटर उचाईमा रहेको पाथीभराबाट यी हिमाललगायत विश्वकै सुन्दर मानिएको सिंहलिला पर्वत, सुन्दर र आकर्षक हिमाल कुम्भकर्णलाई आँखै अगाडि नियाल्न सकिन्छ।

पर्यटन व्यवसायी पीके शेर्पा बताउँछन्। ‘तर, पाथीभरामा जति पर्यटक पुग्नुपर्ने हो, त्यति पुग्न सकेका छैनन्’, शेर्पाले भने, ‘त्यसैले बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानी ‘अबको गन्तव्य पाथीभरा’ बनाउन पदयात्राको आयोजना गरिएको हो।’ पदयात्रामा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसहित ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र पाँचथरका सांसद, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, सञ्चारकर्मी र स्थानीय गरी ८० जना सहभागी छन्।

पदयात्रापछि ताप्लेजुङको पाथीभरालाई केन्द्र बनाएर टीएमजे, सिलौटे र श्रीअन्तु टुर एन्ड ट्रेक्स सर्किटको चिनारीका साथै गुराँस संरक्षणप्रति स्थानीयमा चेतना वृद्धि हुने गुरुङको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.