रंगशालाको स्तरोन्नति सुस्त
भोजपुर : भोजपुर सदरमुकाममा रहेको टुँडिखेल नाचगान, सभासमारोह, ठूल्ठूला औपचारिक कार्यक्रमका लागि एकमात्र सार्वजनिक मञ्चको रूपमा लिइन्छ। यसका साथै जिल्लास्तरीय र बाहिरका ठूला धनराशिका खेलहरू खेलाइने एकमात्र खेलमैदान यही टुँडिखेल हो।
सबैको साझा थलो टुँडिखेलमा फुटबल क्षेत्रका पनि ठूलादेखि साना प्रतियोगिता हुँदै आएको छ। तर, करिब १० वर्षअघि फुटबलका लागि सुरु भोजपुर नगरपालिका–७, कोदारमा रहेको भोजपुर रंगशालाको कामले भने अझसम्म गति लिन सकेको छैन।
फुटबल खेलको विकासमा टेवा पुर्याउने गरी १० वर्षे जनआन्दोलनपश्चात् २०६४ सालमा पहिलो जिल्ला विकास समिति बोर्डले ५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषद्मार्फत उक्त रंगशालाका लागि जग्गा खरिद गरेको थियो। तर, जिविसबाट छुट्याइएको थोरै बजेटले रंगशालाको स्तरोन्नतिमा केही सीप चलेन। बजेट अभावले बर्सेनि रंगशालाको स्तरोन्नति शीर्षक बनाउँदै दुईतीन लाख रुपैयाँको सानो बजेटमा काम हुँदै आएको छ।
रंगशाला निर्माण कछुवा गतिमा बढेको अवस्थामा २०७० सालमा हाल प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सांसद कोषमार्फत रंगशालाको स्तरोन्नतिका लागि १० लाख रुपैयाँ बजेट दिएका थिए। त्यसले माटो फालेर खेलमैदान मिलाउने काम गरिएको थियो। गत वर्ष भोजपुर नगरपालिकाबाट रंगशालाको स्तरोन्नति शीर्षकमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो।
गत असारबाट रंगशाला सम्याएर खेल्नयोग्य बनाइएको छ। जिल्ला फुटबल संघ भोजपुरले यसअघि ०६८ र ०६९ सालमा दुईपटक भोजपुर गोल्डकप आयोजना गरिसकेको छ। विभिन्न समयमा जिल्लास्तरीय फुटबल प्रतियोगिता पनि आयोजना गर्ने गरेको छ। १० वर्षको अन्तरालसम्म ४० लाख रुपैयाँबराबर रंगशाला स्तरोन्नतिको काम भए पनि पूर्ण हुन अझै धेरै बजेट र समय लाग्ने फुटबल संघका कोषाध्यक्ष बिनम श्रेष्ठ बताउँछन्। उनले बजेट अभावकै कारण रंगशालाको पूर्णता दिन अझै केही वर्ष लाग्ने बताए। कुल २६ रोपनी रहेको रंगशालालाई दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइमा मैदान सम्याइएको छ।
फुटबल संघले आधिकारिक रूपमा सम्बन्धित निकायसामु पहल गरे पनि रंगशाला निर्माणका लागि आवश्यक बजेटको माहोल बन्न नसकेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए। ‘हामीले रंगशालाको स्तरोन्नतिका लागि बजेटको कुरा गरेका छौं। मन्त्रालयसम्म रंगशालाको निर्माणका लागि बजेटको सम्भावना भए पनि विविध प्राविधिक कारणवश त्यो माहोल सिर्जना हुन सकेको छैन’, उनी भन्छन्, ‘खेलाडीका लागि अभ्यास गर्ने मैदान पनि साविकको भन्दा सानो क्षेत्रफलको छ। साँघुरो मैदानमा अभ्यास गर्दा फिजिकल फिटनेस र ट्रेनिङ राम्रोसँग हुँदैन। यसबाट खेलको नतिजा पनि राम्रो आउँदैन।’
दर्शकका लागि प्यारापिट, रंगशालाको बाहिरी भौतिक संरचना निर्माणलगायत बाँकी रंगशालाको संरचना पूरा गर्न अझै १०÷१२ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ। हरेक वर्ष रंगशालाका लागि छुट्याइने थोरै बजेटले मात्र निर्माणको काम धान्न नसकिने अध्यक्ष सुवाल सुनाउँछन्। धनकुटा, इलाम, संखुवासभामा रंगशाला र खेलाडी उत्पादन हुँदा भोजपुरमा भने उचित खेलमैदानकै अभावले सोचेजस्तो खोजेजस्तो खेलाडी उत्पादन गर्न नसकिएको गुनसो पनि सुवालले गरे।