किन आउँछन् शव ?
वैदेशिक रोजगारमा गएका युवामध्ये दैनिक तीनवटाको शव आउने क्रममा कुनै कमी आएको छैन। पछिल्लो नौ महिनामा ६ सय सातजना युवाको शव आएको छ, जसमध्ये अधिकांश मलेसियामा कार्यरत छन्। वैदेशिक रोजगारमा गएका युवाको निधन धेरै हुने देशको दोस्रो नम्बरमा साउदी अरब छ। नौ महिनामा शव आएकाहरूको सूची हेर्दा अरब मुलुकमा धेरै युवाको मृत्यु हुने गरेको देखिएको छ। दिनहुँ आउने तीन शवको बाकसले वैदेशिक रोजगारका असरबारे पुनः घोत्लिन बाध्य बनाएको छ। आखिर किन यति धेरै संख्यामा हाम्रा युवा विदेशी भूमिमा जीवन गुमाइरहेका छन् ?
पछिल्लो नौ महिनामा भएका निधनको कारण हेर्दा सबैभन्दा बढीको हृदयाघातका कारण निधन भएको पाइएको छ। त्यस्तै दोस्रो प्रमुख कारण आत्महत्या हो। प्राकृतिक प्रकोप र ट्राफिक दुर्घटना अरू मुख्य कारक देखिन्छन्। प्राकृतिक प्रकोप वा कार्यस्थलमा हुने दुर्घटना भवितव्य मात्र हुँदैन। काममा दक्षता नहुँदा कार्यस्थलमा हुने दुर्घटना बढी हुन्छ। विडम्बना वैदेशिक रोजगारकै भरमा अर्थतन्त्रको नक्सा कोरिरहेको देशले विदेशगमनको यत्रो वर्षमा पनि दक्ष कामदार पठाउन सकिरहेको छैन। यो तथ्यले पुष्टि गर्छ, राज्य वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणका आधारमा अर्थतन्त्र सञ्चालन गर्न जति इच्छुक छ, त्यो रकम पठाउने युवाको जीवनप्रति जिम्मेवार छैन।
युवाहरूको निधनको कारण अदक्ष हुनु मात्र होइन। त्यो त निकै झीनो कारण हो। युवाहरूको मृत्यु हुने कारणको सूचीमा अघिल्ला दुई नम्बरमा रहेका कारक हुन्: हृदयाघात र आत्महत्या। हृदयाघात शारीरिक स्वास्थ्य र आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिए पनि यी दुवैमा सामाजिक–पारिवारिक सम्बन्ध हुने पुष्टि भइसकेको छ।
हृदयाघातसँग जीवनशैली जोडिन्छ। साथै एक्लोपन, चिन्ता, विषाद, आवेग र तनावले हृदयाघातको सम्भावना बढाउँछ। विदेशी भूमिमा काम गर्न गएका नेपाली युवाको निरन्तर स्वास्थ्य जाँच र काउन्सिलिङको अभाव देखिन्छ। स्वस्थ मनोरञ्जन र सामाजिक घुलनशीलताको अभावले उनीहरूलाई उच्च रक्तचापको रोगी बनाइरहेको छ। काम, आराम र कामको चक्रीय दौडले जीवन आनन्द दिन सकेको छैन।
त्यस्तै आत्महत्या मानसिक अवस्था र चिन्तनसँग जोडिन्छ। आत्महत्या किन भइरहेको छ ? आत्महत्या गर्ने युवाको पारिवारिक अवस्था कस्तो छ ? उनीहरूलाई मानसिक स्वास्थ्य परीक्षण र ताजगीको वातावरण कस्तो छ ? आदिबारे राज्यले रत्तिभर पनि ध्यान दिइएको पाइँदैन। विदेश जानुअघि औपचारिकता पूरा गर्ने हिसाबले गरिएका काउन्सिलिङले समस्याको निदान त के न्यूनीकरण पनि हुँदैन भन्ने पुष्टि हुन के अझै पनि युवाहरूको शव आउने सिलसिला जारी राख्नुपर्छ र ?
वैदेशिक रोजगारको असरबारे निकै कम मात्र अध्ययन भएका छन्। भएका अध्ययनबाट आएका निचोडलाई पनि सम्बन्धित पक्षले गम्भीरतापूर्वक लिएको पाइँदैन। वैदेशिक रोजगारमा गएका युवा पारिवारिक मनमुटाव, चर्को ऋण, श्रमसम्झौताअनुसार काम नहुने, तलब सेवासुविधा नपाउनेजस्ता समस्या सामना गर्न बाध्य छन्। यी सामाजिक र व्यवस्थापकीय समस्या हुन्। विडम्बना राज्यले यति ठूलो समस्यालाई वास्तै गरेको छैन।
वैदेशिक रोजगारमा गएका अधिकांश युवा आत्मसम्मानको अभावमा छन्। लामो समयसम्म विदेशमा रहँदा एकातर्पm उनीहरूको सामाजिक उपस्थिति कमजोर भएको छ भने अर्कोतर्फ विदेशी भूमिमा ती हेपिएका छन्। मानिस भएर जन्मिएपछि आत्मसम्मानपूर्वक बाँच्न पाउनु मानव अधिकार हो। तर राज्यको अर्थतन्त्रको मूल खाँबो भएर आर्थिक देन गरिरहँदा पनि सधैंभरि अपमानित, अपहेलित भएर बाँच्नुपर्ने विवशतालाई राज्यले समाधान खोजिदिनुपर्दैन ?
लाहुरे संस्कृतिबाट हुर्किएको नेपाली समाजका युवाहरू खाडी लाहुरे हुँदै अहिले विश्व बजारका सस्ता श्रमिक बनेका छन्। विदेशगमनसँगै दिनहुँ आउने तीन युवाको शव भयानक तस्बिर हो। वैदेशिक रोजगारले उत्पादनमूलक अर्थतन्त्रमा सिर्जना गरेको ठूलो रिक्ततालाई त तीस, चालीस वर्षमा पूर्ति गरौंला। तर यसले निम्त्याएको सामाजिक–सांस्कृतिक रिक्ततालाई कसरी पुर्ने ? सोच्न ढिलाइ भइसकेको छ।