अदालतले मुख्य न्यायाधिवक्ताको घर भेटेन

अदालतले मुख्य न्यायाधिवक्ताको घर भेटेन

काठमाडौं : ‘साइबर क्राइम’ सम्बन्धी एक मुद्दामा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको घर–ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका–५ को कार्यालयमा लगेर म्याद टाँसेको छ । काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगेर म्याद टाँसेका हुन् । उक्त जानकारी आइतबारै ललितपुरले काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वडामा टाँसिएको जानकारी तामेलदारले अदालतलाई गराएका छन् । आधार र प्रमाणबिनै झाले आफूविरुद्ध भ्रष्टाचारीको आरोप लगाउँदै आफ्नो वेबसाइट र फेसबुकमार्फत इज्जत–प्रतिष्ठामाथि आघात पुर्‍याएको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन अधिकृत कोषराज न्यौपानेले दिएको जाहेरीअनुरूप झाविरुद्ध पुस ३० गते काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार अपराध (साइबर) मुद्दा दायर भएको थियो ।

प्रहरी जाहेरीअनुरूप जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले अभियोग दर्ता गरेका हुन् । ‘उहाँको घरद्वार फेला नपरेपछि महालक्ष्मी नगरपालिका, वडा नम्बर-५ को कार्यालयमा बेपत्ते म्याद तामेल भएको जानकारी आएको छ’, काठमाडौं जिल्ला अदालतका मुद्दा दर्ता फाँटका अधिकृत टीकासिंह खत्रीले अन्नपूर्णसँग भने, ‘ललितपुर जिल्ला अदालतका तामेलदारले वतन फेला नपरेको भन्दै हाजिर हुन आउन ३० दिने म्याद टाँसेका हुन् ।’

खत्रीले मुद्दा प्रक्रियाका लागि अदालतमा हाजिर हुन आउन म्याद–पुर्जी जारी भएको बताए । झाको घर भने ललितपुर टीकाथलीमा रहेको अभियोगपत्रमै उल्लेख छ । मुद्दामा भएको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको आदेशअनुरूप झाको नाउँमा म्याद जारी भएको हो । झाद्वारा सञ्चालित ‘मधेसी युथ डट कम’ नामको इन्टरनेट वेबसाइट र फेसबुकमार्फत समाचार प्रवाहित गर्दै संसारभर आफ्नो चरित्रहत्या गरेको दाबीसहित पीडित न्यौपानेद्वारा जाहेरी परेको थियो ।

मानवअधिकार आयोगका कामकारबाहीमा अनियमितता गरेको भनेर वेबसाइट र फेसबुकमा सन्देश प्रवाह गरेपछि आफ्नाविरुद्ध चरित्रहत्या हुने गरी विभिन्न ‘कमेन्ट’ गरिएको दाबी उनको छ ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कृष्ण नेपालले कानुनतः विपक्षीलाई रीत पूर्वकको म्याद तामेल भएको छ भने फैसला नरोकिने बताए । ‘मुलुकी ऐन अदालती बन्दोबस्त महलको ११० नं. मा केके भए मुद्दाको रीत पुग्छ भन्ने उल्लेख छ । उक्त व्यवस्थाअनुसार भएको छ भने मुद्दाको कारबाही अघि बढाउन समस्या हुँदैन’, नेपालले भने ।

प्रदेश–२ का मुख्य न्यायाधिवक्ता झाले भने आफूविरुद्ध दर्ता गरेको मुद्दा झुटा र पूर्वाग्रही रहेको बताए । ‘त्यो मुद्दा झुटा हो । यसरी मुद्दा चलाउँदै जाने हो भने कोही बाँकी रहँदैन,’ झाले प्रतिक्रिया दिँदै भने, ‘मुद्दामा केही विधि र प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । म अर्को साता अदालतमा जान्छु ।’ उनले मुद्दामा कुनै सत्यता नरहेको भन्दै प्रतिवाद पनि गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.