१२ डिग्री उकालोले विद्युतीय सवारी थला

१२ डिग्री उकालोले विद्युतीय सवारी थला

काठमाडौं : यातायात व्यवस्था विभागले १२ डिग्री उकालो नचढे कुनै पनि विद्युतीय सवारी दर्ता गर्दैन। सवारी परीक्षण केन्द्र टेकुले विद्युतीय सवारीको उकालो चढ्ने क्षमता परीक्षण गर्न कपनस्थित सेतो गुम्बाको उकालो चढाउने गर्छ। देशका सबै राजमार्ग र सडक निर्माणको राष्ट्रिय मापदण्ड भने १० डिग्रीभन्दा बढी उकालो हुन नहुने भए पनि विभागले १२ डिग्री उकालो चढ्ने विद्युतीय सवारी मात्र काठमाडौंका सडकमा गुड्न लायक मान्छ र त्यस्ता विद्युतीय साधन दर्ता गर्छ।

विभागले बिनाआधार सडक सक्षमता परीक्षणको नाममा तेस्र्याएको १२ डिग्रीको अवरोधले विद्युतीय सवारी खरिद बिक्री ठप्प हुने स्थिति छ। विभागले वातावरणमैत्री यातायात नीति स्वीकृत गरे पनि यस्तो अंकुशले वायु प्रदूषणको स्तर अझै बढाउने निश्चितप्रायः भएको वातावरणविद् बताउँछन्। केन्द्रले एक सयभन्दा बढी विद्युतीय सवारी परीक्षण गर्दा ६ वटाले मात्र १२ डिग्री उकालो चढेका छन्। विद्युतीय स्कुटरमध्ये जापानमा निर्मित टेराले १४ डिग्री र बेला मोडलका ५ वटा स्कुटरले १२ डिग्री उकालो चढेका छन्। चीनमा निर्मित ‘हाअयू इ वान फोर’ गाडी १० डिग्री चढेको छ भने बाँकीले परीक्षण गराएका छैनन्। विभागले २०५४ सालदेखि हरियो स्टिकर वितरण थाले पनि त्यसको नतिजा प्रभावकारी पाइएको छैन।

विभागले वातावरणमैत्री यातायात नीति स्वीकृत गरे पनि विद्युतीय सवारीलाई सञ्चालन अनुमति दिन मापदण्ड बनाएको छैन। यस्ता गाडी उकालो चढाएर मात्र क्षमता मापन गर्ने गरेको सवारी परीक्षण केन्द्र टेकुका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले बताए। हाम्रो देशका राजमार्ग १० डिग्रीसम्म मात्र उकालो हुने राष्ट्रिय मापदण्ड छ। विद्युतीय सवारी दर्तामा हचुवाका भरमा १२ डिग्री राख्नु उपयुक्त नभएको भनाइ उनको छ। ‘भारतमा ७ डिग्री र युरोपमा १२ डिग्रीलाई मान्यता दिइएको छ। नेपालमा १२ डिग्रीलाई मान्यता दिइनु प्रभावकारी छैन’, उनले भने।

यातायात व्यवस्था विभागका प्राविधिक शाखा प्रमुख प्रेमकुमार सिंहले पनि १२ डिग्री उकालो चढ्ने सवारीलाई मात्र काठमाडौं उपत्यकामा अनुमति दिने गरिएको बताए। यता पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई भने भारतीय निर्माता कम्पनीले अटो मोबाइल रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले दिएको प्रमाणपत्रका आधारमा दर्ता गरिन्छ। पहुँचका भरमा परीक्षणबिनै विभागले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई अनुमति दिने गरेको छ।

विभागले हालसम्म बेला कम्पनीको ग्लोरिया, पोल्स, एस्प्रो, डुरो, स्मल स्पोर्टिभ मोडलको स्कुटर र कारमा भारतको रेवा, कोरियाको किया सोउल, चीनको बिवाईडी ई-सिक्स, ईओएनई फोर मोडलका गाडीलाई उपत्यकामा गुड्ने अनुमति दिएको छ। विभागले देशमा भित्रिएका करिब ५० मोडलमध्ये ३० कम्पनीका एक हजार पाँच सयभन्दा बढीलाई उपत्यका बाहिर गुड्ने अनुमति दिएको छ।

 ती सवारीले १२ डिग्री उकालो चढेको रेकर्ड भने विभागसँग छैन। कर्मचारीको तजबिजका भरमा विद्युतीय सवारीलाई तगारो लगाइएको छ। दर्ता प्रक्रिया सहज बनाउनुको साटो अंकुश लगाउँदा उपत्यकामा वायु प्रदूषण बढेको वातावरणविद् भूषण तुलाधरले बताए। ‘विद्युतीय सवारी दर्तामा अवरोध गर्दा वायु प्रदूषण बढाउँछ। सरकारले विद्युतीय सवारी सञ्चालनमा सहजीकरण गर्नुपर्छ’, उनले भने।

३८ प्रतिशत वायु प्रदूषणको कारक सवारीबाट निस्कने धुवाँ र धुलो नै रहेको अध्ययनले देखाएको छ। विभागको तथ्यांकअनुसार २०७४ माघसम्म ३० लाख ८ हजार १ सय ९ वटा सवारी दर्ता भए पनि विद्युतीय सवारी भने सय वटा पनि दर्ता भएका छैनन्।

*यसअघि गलत फोटो पर्न गएकोले भूलसुधार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.