बाँसको पुल पनि बाँकी रहेन

बाँसको पुल पनि बाँकी रहेन

राजविराज : तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित खाँडो खोलामा रहेको चचरी (बाँसको) पुल भत्किएको छ। वर्षौंदेखि भारतको बिहार कुनौलीसँग जोड्दै आएको पुल केही दिनअघि भत्किएसँगै आवतजावत जोखिमपूर्ण बनेको छ।

‘दैनिक हजारौं व्यक्ति आवतजावत गर्ने पुल मर्मतमा कसैको ध्यान नपुग्दा सीमा वारपार गर्न अहिले सास्ती भएको छ’, स्थानीय देवनारायण यादवले भने, ‘खोलाको समस्या कायमै छ, त्यसमाथि सप्तरीको तिलाठी र भारत बिहारको कुनौलीलाई जोड्ने पुल बनाउनेतर्फ पनि कसैको ध्यान पुगेन।’

खाँडोका दुवैतर्फ सडक रहे पनि बजार जोड्ने गरी पक्की पुल निर्माण भएको छैन। बाँसको पुल पनि भत्किएपछि अहिले जोखिम मोलेर खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्।

बिनारोकटोक आवतजावत गर्न पाइने सीमा क्षेत्रका नागरिकबीच विवाहवारी हुँदै आएकाले पारिवारिक सम्बन्ध छ। सप्तरीका तिलाठी, लौनिया, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगरसहित अधिकांश क्षेत्रका बासिन्दा बजार भर्न कुनौली बजार जाने गरेका छन्। उपचारका लागि पनि एक देशका नागरिक अर्को देशमा जाने गरेका छन्। यही पुलले नेपालको सप्तरी र भारतको बिहारबीचको व्यापारिक, पारिवारिक सम्बन्ध र मित्रतालाई कायम राखेको थियो।

मैत्रीपूर्ण सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पक्की पुल पनि बनाउन नसकेको स्थानीयको गुनासो छ। ‘दुई देशका नागरिक भए पनि पहिलादेखि नै हामीबीच पारिवारिक सम्बन्ध छ’, छिन्नमस्ता गाउँपालिकाका खोजेन्द्र झाले भने, ‘आपसी सम्बन्धलाई देशको सिमानाले रोक्दैन न बेला-बेला हुने सीमा विवादले नै रोक्छ।’

सम्बन्ध जोगाउनका लागि पनि दुवै देशका सरकार संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ छ। दुवै देशका नागरिकलाई सुविधाका लागि तिलाठी-कुनौली जोड्न पक्की पुल आवश्यक रहेको स्थानीय मुकेश यादवको कथन छ।

विगतमा स्थानीयवासी डुंगामार्फत खाँडो खोला वारपार गर्दथे। पछि स्थानीय जमिनदारको सहयोगमा जोखनले बाँसको पुल बनाए। पुल प्रयोग गरेबापत उनले स्थानीयबाट बर्सेनि परिवारको पालनपोषणका लागि धान लिने गर्थे। उनको मृत्युपछि छोरा छेदीले त्यसलाई नै निरन्तरता दिएको कथन छ। छेदीको पनि केही वर्षअघि मृत्यु भयो। अहिले उनका छोरा रामचन्द्रले पुलको रेखदेख गर्दै आएका छन्। पुल चढेबापत यात्रुले दिने पैसा र अन्न नै उनको परिवार पाल्ने मुख्य स्रोत हो। यसका अतिरिक्त खेतीपाती पनि गर्ने गरेको उनले सुनाए।

‘पुल प्रयोग गरेबापत बाहिरी मान्छेले पैसा दिन्छन्, स्थानीयले धान दिन्छन्’, उनले भने, ‘तर, खुसी भएर दिने गरेको पैसा मात्र लिने गरेको छु।’ उनले स्थानीयबाट वार्षिक प्रतिपरिवार ८-१० किलो धान र बाहिरबाट आउने यात्रुबाट प्रतिव्यक्ति १० रुपैयाँ पाउँछन्।

गाउँपालिका अध्यक्ष सतीसकुमार सिंहले पुल भत्किँदा आवतजावत जोखिमपूर्ण बनेको स्वीकार गर्दै मर्मतसम्भारका लागि रामचन्द्रलाई ५१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.