सिरिया संकट र भूगोलको पीडा

सिरिया संकट र भूगोलको पीडा

गएको शनिबार बिहान सखारै सिरियामा अमेरिका, बेलायत र फ्रान्सका लडाकु विमानहरूले सिरियाको रासायनिक हतियारको अनुसन्धान केन्द्र, कमान्डर भण्डारण कक्षमाथि आक्रमण गरेर त्यसलाई नष्ट गरेको दाबी आक्रमणमा संलग्न तीनवटै मुलुकले गरेका छन्। रूसले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताउँदै त्यसविरुद्ध गम्भीर परिणामको चेतावनी दिएको छ। रूसकै आग्रहमा राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसेको छ। इरान र सिरियाले त्यसको कडा शब्दमा निन्दा गरेका छन्। चीनले पनि उक्त आक्रमणको विरोध गरेको छ। अमेरिकाले आफ्नो अभियान सम्पन्न भएको तर सिरियाले पुनः रासायनिक हतियार प्रयोग गरेमा पुनः आक्रमणको धम्की दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा प्रकाशित छन्।

तर सिरिया संकटको मूल कारण त्यसको भूगोल हो। सिरिया मध्यपूर्वका शक्तिशाली राष्ट्रहरूमा गणना हुन्छ र टर्की, इजरायल, लेबनान, जोर्डन, इजिप्टको सिनाई प्रायद्वीप र इराकको बीचमा भूमध्य सागरको पूर्वी तटमा अवस्थित छ। सिरियामाथि नियन्त्रण र स्वामित्व राख्ने राष्ट्र सिंगो मध्यपूर्वमाथि प्रभुत्व कायम गर्न सक्छ।

सिरियामा धर्म र जातिको पनि भूगोल छ। धार्मिक र जातीय घृणा, शत्रुता र स्वार्थका भूगोलहरू छन्। त्यसैमा छिमेकी र शक्ति राष्ट्रहरूका प्रभाव र प्रभुत्व विस्तारका भूगोलहरूले पनि प्रवेश गरेका छन्। त्यसैको पीडामा सिरिया चुर्लुम्म डुबेको छ।

२०११मा उत्तर अफ्रिकाको ट्युनिसिया, लिबिया, इजिप्ट सुडानबाट उठेको अरब क्रान्ति यमन हुँदै सिरिया पुग्यो। इस्लामिक स्टेट, इरान, टर्की र अमेरिकालगायतका मुलुकको भूराजनीतिक लक्ष्यअन्तर्गत निमन्त्रित गृहयुद्धको क्रममा सिरियाका दुई करोड जनसंख्यामा चार लाख भन्दा बढीको हत्या भइसकेको छ। शरणार्थीसम्बन्धी राष्ट्रसंघीय आयोग अनुसार ५६ लाख भन्दा बढी सिरियालीहरू मुलुक छोडेर भागेका छन् र ६१ लाख भन्दा बढी आन्तरिक रूपमा विस्थापित छन् र राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संगठनहरूको खाद्य वितरण कार्यक्रमअन्तर्गत निर्वाह गरिरहेका छन्।

गृहयुद्धअघिको सिरियाको प्रतिव्यक्ति आय वर्तमान भारतको प्रतिव्यक्ति आय बराबर थियो। दी न्यू मिडल इस्ट नामक पुस्तकमा बीबीसीका मध्यपूर्व ब्युरो प्रमुख पल ड्यानाहर अनुसार विद्रोह सुरु हुनुअघि सिरियाको अर्थतन्त्रले उत्साहजनक सम्भावनाहरू प्रदर्शन गरिरहेको थियो।

अरब विद्रोहकै परिणाम सिरियामा बसर अल असदको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक विरोध सुरु भयो तर त्यो विद्रोहलाई शक्ति राष्ट्रहरूले आफ्ना रणनीतिक स्वार्थ र सरोकारहरू मिसाइदिएर प्रदूषित बनाइदिए।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुन्नी राष्ट्र साउदी अरबको आर्थिक सहयोगमा सीआईएमार्फत २०१२ को अन्त्यदेखि टिम्बर सिकामोर नाउको कार्यक्रमअन्तर्गत सिरियाली विद्रोहीहरूलाई प्रशिक्षण र हातहतियार उपलब्ध गराए। तर पनि अमेरिकाले असदविरोधी संगठनहरूलाई पर्याप्त सहयोग नगरेको र पछि आएर त राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएमार्फत गर्दै आएको सहयोग बन्द गरिएकोमा अमेरिकाविरुद्ध साउदी अरबले असन्तुष्टि समेत पोख्दै आएको छ।

टर्की सिरियाली राष्ट्रपति असदविरोधी संगठनको सहयोगी राष्ट्र मात्रै नभएर सिरियाका २० लाख शरणार्थीको आ श्रयदाता राष्ट्र पनि हो। तर सिरियाली विद्रोहीहरूलाई टर्कीले उपलब्ध गराएको सैनिक सामग्री र शरणार्थीलाई आफ्नो मुलुकमा आउन दिएको सुविधाको लाभ इस्लामिक स्टेटका आतंककारी समुदायले लिइरहेको बारे बीबीसीले २०१५ देखि नै बताउँदै आएको छ। उता, मुस्लिम सम्प्रदायको सिया सम्प्रदायअन्तर्गतका असदप्रति इरानका सिया शासकहरूको स्वाभाविक अनुराग रहेको छ। त्यसमाथि मध्यपूर्वको भूराजनीतिमा सिरिया इरानको महŒवपूर्ण सहयोगी पनि हो। त्यसैले उसले राष्ट्रपति असदको सरकारलाई अर्बौं डलरको सहयोग उपलब्ध गराउँदै आएको छ। इरानको प्रेरणा र सहयोगमा लेबनानका कट्टरपन्थी हिजबुल्ला समुदायको सम्पूर्ण सहयोग पनि असदलाई उपलब्ध छ। सिया समुदायका धार्मिक स्थलहरूको संरक्षणमा लडिरहेका इरान र इराकका सिया समर्थकहरू पनि असदको पक्षमा छन्। यो अमेरिकी कदमले सिरिया, इरान र रूसको सम्बन्धलाई झन् घनिष्ट बनाएको छ।

पूर्व जर्मन विदेशमन्त्री योस्का फिसरले प्रोजेक्ट सिन्डिकेटमा उल्लेख गरेअनुसार सिरिया युद्ध सन् १६१८ देखि १६४८ सम्मको मध्य युरोपका क्रिश्चियन धर्मको क्याथोलिक र प्रोटेस्टेन्ट समुदायका मुलुकहरूबीचको ३० वर्षे युद्धसमान भएको बताउँछन्।

२८ अप्रिल २०१४ मा वासिंगटन पोस्टमा रिचार्ड जोन्सनको अमेरिकी सहयोगमा सिरियाली विद्रोहीहरूलाई प्राप्त ट्यांकप्रतिरोधी क्षेप्यास्त्रसहितका अत्याधुनिक हातहतियारसम्बन्धी सामग्री प्रकाशित भयो। अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा त्यसका तस्बिर पनि प्रकाशित भए। तीमध्ये ठूलो परिमाणका हतियारहरू इस्लामिक आतंककारीहरूका हातमा पुगेका समाचार आइरहँदा ११ नोभेम्बर २०१६ मा वाल स्ट्रिट जर्नलमा राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले सन्देहास्पद चरित्रका सिरियाली विद्रोहीलाई सीआईएमार्फत अमेरिकाले प्रदान गर्दै आएको सहयोग बन्द गरिने बताएका थिए। सिरिया युद्धमा अमेरिकी संलग्नता रूस–अमेरिका भीडन्तमा अनुवाद हुने उनको धारणा पनि उक्त अन्तर्वार्तामा व्यक्त भएको थियो।

जुलाई २०१७ मा अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाली विद्रोहीहरूलाई त्यस्तो हतियार र प्रशिक्षण रोक्ने आदेश दिएको समाचार १९ जुलाइ २०१७ मा वासिंगटन पोस्टलगायतमा समाचारपत्रहरूले दिए। सीआईएले सिरियाली विद्रोहीहरूलाई उपलब्ध गराएका हतियारहरू इस्लामिक स्टेटका आतंककारीहरूको हातमा पुगेको जानकारी एउटा अध्ययनलाई उद्धृत गर्दै १४ डिसेम्बर २०१७ मा दी यूएसए टुडेमा जिम माइकल्सले दिएपछि हतियार सहयोगको परस्परविरोधी खतरनाक चरित्र उदांगियो।

सिरियामा शक्ति राष्ट्रहरूको रणनीतिक स्वार्थ

अमेरिकी सेनाका असाधारण नेतृत्व र प्राज्ञिक क्षमताका व्यक्ति मानिन्छन्– जनरल वेस्ले क्लार्क। उनी युरोपस्थित अमेरिकी सेना र नाटोको सर्वोच्च सेनापति समेत थिए। २००४को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट मनोनयनको प्रतिस्पर्धामा समेत थिए।

सिरिया युद्ध क्षेत्रीय युद्धमा रुपान्तरण भयो भने त्यसले अन्तर्राष्ट्रिय तेल बजार र त्यसको बाटो विश्व अर्थतन्त्र तहसनहस बनाइदिने स्थिति बन्छ।

एकदिन कारण विशेषले क्लार्क अमेरिकी रक्षा मन्त्रालय पुग्दा एक तीनतारे मित्र जर्नेलले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसका रक्षामन्त्री डोनाल्ड रम्सफिल्ड र उप रक्षामन्त्री पल ओल्फोविट्सले अल कायदाको ११ सेप्टेम्बर २००१ को आक्रमणलाई निहुँ बनाएर सद्दाम हुसैनको शासन समाप्त पर्ने उद्देश्यले इराक र त्यसको पाँच वर्षको अवधिमा सिरिया, लेबनान, लिबिया, सोमालिया, इरान र सुडानमाथि पनि आक्रमण गर्ने योजना रहेको बताएका थिए। रमस्फिल्डको प्राथमिकता आतंकवादविरुद्धको युद्धभन्दा पनि मध्यपूर्वका अमेरिकी हितअनुरूप नरहेका मुलुकहरूका शासन सत्ता परिवर्तन गर्ने रहेको निष्कर्षसम्बन्धी क्लार्कको अन्तर्वार्ता युट्युबमा हेर्न सकिन्छ र पिटर जे. बोयरले दी न्यु योर्करको १७ नोभेम्बर २००३ को अंकमा पनि त्यसलाई उल्लेख गरेका छन्।

अरब क्रान्तिको सन्दर्भमा २ अप्रिल २०१२ मा तत्कालिन इन्टरनेसनल हेराल्ड ट्रिब्युनमा हेनरी किसिन्जरले अमेरिकाको मध्यपूर्व नीति उसका तीन प्रमुख सुरक्षा हितबाट निर्देशित रहेको लेखेका छन्—पहिलो, कुनै प्रभुत्वकारी राष्ट्रको उदय उक्त क्षेत्रमा हुन नदिनु। दोस्रो, विश्व अर्थ व्यवस्थाको जीवनको लागि अत्यन्त महŒवपूर्ण रहेको इन्धनका स्रोतहरूको स्वतन्त्र पारवहनलाई सुनिश्चित गर्नु र तेस्रो, इजरायल र उसका छिमेकीहरूबीच शान्तिपूर्ण सहअस्तित्व र प्यालेस्टिनी अरबहरूको समस्याको स्थायी समाधान। यी तीन सुरक्षा लक्ष्य प्राप्त गर्ने सन्दर्भमा प्रजातान्त्रिक मानवीय मूल्यहरूप्रति प्रतिवद्ध निर्वाचित सरकारहरूसँग सहकार्य अमेरिकाको प्राथमिकता हो, तर त्यसको अर्थ आफ्ना बृहत्तर रणनीतिक लक्ष्यहरूको प्राप्तिलाई सुनिश्चित गर्ने सवालमा सरकारहरू कस्तो निर्वाचन प्रणालीबाट आउँछन् त्यो मात्रै निर्णायक हुन सक्दैन भन्ने उनको मत छ।

मध्यपूर्वको केन्द्रको रूपमा रहेको सिरियाको सीमा जोडिएको इजरायल, लेबनान र जोर्डन, इराकर नाटो सदस्य राष्ट्र टर्कीलगायतका मुलुकका कारण सिरियामा अमेरिकी संवेदनशीलता बढी छ। सिरिया ठूलो तेल उत्पादक राष्ट्र होइन, त्यसमाथि गृहयुद्धले उसका तेल प्रशोधन र उत्पादन केन्द्रहरू क्षतविक्षत भएका छन्। तर सिरियाको भूगोलको विशिष्टताले गर्दा सिरिया युद्ध क्षेत्रीय युद्धमा रुपान्तरण भयो भने त्यसले अन्तर्राष्ट्रिय तेल बजार र त्यसको बाटो विश्व अर्थतन्त्र तहसनहस बनाइदिने स्थिति बन्दछ। राष्ट्रपति असदको पतनपछि सिरिया अस्थिर र असफल राष्ट्रको भयो भने त्यहाँ इस्लामी आतंककारीहरूको निर्णायक प्रभुत्व स्थापना हुने र असदका कट्टर समर्थकहरू माझ इरानको प्रभाव स्थापना हुने सम्भावना रहेको सीएनएनकी चर्चित खोज पत्रकार आस्लेफान्सको मत छ।

संसारको सबैभन्दा ठूलो प्राकृतिक ग्यासको भण्डार पारसको खाडीमुनीको इरान र कतारको क्षेत्रमा पर्छ। युरोपेली राष्ट्रहरू र साउदी अरबसँग घनिष्ट सम्बन्ध भएको कतारबाट सिरियाको बाटो भूमिगत पाइप लाइनबाट युरोपसम्म लैजाने लक्ष कतार, साउदी अरब र टर्कीले राखेका छन्।

अर्कोतिर रूसका लागि सिरियाको महŒव स्वयं सिरियालीहरूलाई जत्तिकै छ भन्ने क्यानाडाको प्रशिद्ध अखवार ग्लोब एन्ड मेलमा एसोसिएटेड प्रेसका दिमित्री लभ्सकी र सियान गोर्डानको भनाइ ८ अप्रिल २०१७ मा प्रकाशित छ। जोर्डन र इजरायलका लागि क्यानेडियाली राजदूत माइकेल बेलको भनाइ उद्धृत गर्दै ग्लोब एन्ड मेल लेख्दछ—सिरियामा आफ्नो वर्चस्वलाई कमजोर बनाउने कुनै कुरालाई रूसले स्वीकार गर्ने छैन। यहाँ के विचारणीय छ भने अमेरिकी राष्ट्रपति ओबामा र ट्रम्प दुवै सिरियामा रूसको रणनीतिक हितबारे गम्भीररूपमा संवेदनशील थिए र छन्। ट्रम्पले त माथि उल्लिखित वाल स्ट्रिट जर्नलमा दिएको आफ्नो अन्तर्वार्तामा त्यसलाई खुलारूपमा स्वीकार पनि गरेका छन्।

गृह राजनीतिमा अमेरिकी दबाब र प्रभावविरुद्ध सुरो र रूसी स्वाभिमानका प्रतीकको रूपमा जनतामाझ लोकप्रिय भ्लादिमिर पुटिन सिरियामा आफ्नो प्रवल कूटनीतिक र सैनिक सामथ्र्यका साथ उपस्थित हुनुलाई आफ्नो राजनीतिक जीवनको स्थायित्वको लागि पनि आवश्यक मान्दछन् भन्ने विश्लेषकहरूको मत छ। क्षेत्रमा नाटो र अमेरिकी उपस्थितिलाई चुनौती दिन सक्ने र अमेरिकाको रणनीतिक दृढताको परीक्षणस्थलको रूपमा पनि रूसले सिरियालाई हेरिरहेको छ।

विश्वसनीयता निर्माणको अमेरिकी चुनौती

सिरियाको बन्दरगाह सहर टार्टसमा रूसी जल सैनिक अड्डा छ। टार्टस मात्रैरूसलाई भूमध्य सागर र सो सागर हुँदै खुला समुद्रमा आफ्ना जल सेनालाई पहुँच प्रदान गर्ने एक मात्र बाटो हो। सिरियाको उत्तरपूर्वी सहर लाटकियामा रूसको वायु सैनिक अड्डा छ।

सिरियाले गएको ४८ वर्षदेखि बसर अल असदका बाबु—छोराको तानाशाही भोगिरहेको छ। मध्यपूर्व वर्तमान अस्तित्वमा आएदेखि नै मुस्लिम कट्टरपन्थीको गढ रहिआएको र वर्तमानमा इस्लामिक आतंकको केन्द्र रहेको क्षेत्रको मध्यमा रहेको मुलुकमा बलात सत्ता परिवर्तनले निर्माण गर्ने शक्तिशून्यताबारे सबै शक्ति राष्ट्रहरू गम्भीर देखिन्छन्।

त्यसैले रूस राष्ट्रपति असदको बलपूर्वकको बहिर्गमनविरुद्ध छ। ब्रिटिस प्रधानमन्त्री टेरेसा मेले आफूहरूको लक्ष्य सिरियामा सत्ता परिवर्तन नभएको र उनीहरूको आक्रमण सिरियामा रूसी सैन्यअड्डा भन्दा धेरै दूरीमा रहेको बताएकी छन्। रूसका लागि अमेरिकी राजदूत जोन एम हन्ट्सम्यान अनुसार अमेरिकालेरूससँग मुठभेडको सम्भावना आउन नदिने उद्देश्यले उसका सैन्यअड्डाबाट धेरै परको सिरियाली भूभागमा मात्र आक्रमण गरेको थियो।

रूसी रक्षा मन्त्रालयले बताएअनुसार जुन दिन रासायनिक हतियारसम्बन्धी छानबिन गर्ने अन्तर्राष्ट्रिय संगठनले रासायनिक हतियार प्रयोग भएको भनिएको सिरियाको डोउमामा छानबिन गर्दै थियो, त्यही दिन बिहान सबेरै त्यही ठाउँमा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त आक्रमण गरेर सिरियाद्वारा रासायनिक हतियार प्रयोग गरेको आफूहरूको दाबीलाई झूठो सावित गरेकोबारे रूसी समाचार संस्था स्पुटनिकले अप्रिल १४ मा बताएको छ। अमेरिका फ्रान्स र बेलायतले जम्मा एक सय तीन क्षेप्यास्त्रहरू प्रहार भएकोमा ती मध्ये ७१ वटालाई रूसी सहयोगमा निर्मित हवाइ प्रतिरक्षा प्रणालीको मद्दतले सिरियाले ध्वस्त पारेको पनि स्पुटनिकको भनाइ छ।

रूसी रक्षा मन्त्रालय भन्दछ—उक्त आक्रमण रासायनिक हतियारको कारण नभएर सिरियाले आतंकवादविरुद्धको युद्धमा पाउँदै गएको सफलतालाई भाँजो हाल्ने उद्देश्यले गरिएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो आन्तरिक राजनीतिक स्वार्थरक्षाका लागि सिरियाविरुद्ध आक्रमण गरेर सिरिया र रूसलाई एकैसाथ चेतावनी दिएको देखिन्छ। ह्वाइट हाउसको एक गोप्य बैठक र सिनेटको सम्बन्धित समितिलाई अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सिरियामा रासायनिक हतियार प्रयोग गरेको आशंकालाई पुष्टि गर्न थप प्रमाण आवश्यक भएको र त्यस्तो युद्धबाट अमेरिका ठूलो युद्धमा झोसिने अवस्था आउने र त्यसबाट अमेरिकालाई फर्किन सम्भव नहुने भएकोले थप सतर्कता र संवेदनशीलता आवश्यक भएको बताएकोबारे यही अप्रिल १२ मा दी न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो।

तर रक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूले राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत त्यस्तो आक्रमणको चेतावनी दिइसकेको अवस्थामा त्यस्तो आक्रमणलाई रोक्न कठिन हुने बताएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। यसले अमेरिका जस्तो सर्वशक्तिमान मुलुकले त्यति गम्भीर विषयमा कसरी निर्णय गर्दो रहेछ भन्ने झलक प्रस्तुत गर्छ। कतिपय अमेरिकी राजनीतिज्ञहरूले राष्ट्रपति ट्रम्पले कांग्रेसको अनुमतिबिनै सिरियामा आक्रमण गरिएकाले त्यसलाई अवैधानिक बताएका छन्।

यी सन्दर्भमा फरेन पलिसी पत्रिकामा हार्वर्ड प्रोफेसर स्टेफेन मार्टिन वाल्टको हालै प्रकाशित लेख ‘अमेरिका क्यान नट बी ट्रस्टेड एनीमोर’ ले अन्तर्राष्ट्रिय समुदायमाझ अमेरिकाको विश्वसनीयता क्षतविक्षत भइरहेको गम्भीर स्थितिलाई चित्रण गरेको छ।

बाल्टले पूर्व सोभियत संघलाई साविकको सीमानाबाट नाटोलाई एक इन्च पनि अघि बढ्न नदिनेबारे बारम्बार दिएको प्रतिवद्धतालाई अमेरिकाले उल्लंघन गरेको लेखेका छन्। आम विनासकारी हतियार भण्डारण गरेको आरोपमा सद्दाम शासनविरुद्ध आक्रमण गरेको तर त्यसलाई पुष्टि गर्न नसकेको त जगजाहेर छ। वाल्ट अनुसार अमेरिकी राष्ट्रपति जर्ज बुसले लिबियाली शासक मुअमर गदाफीलाई आमरूपमा विनासकारी हतियार नष्ट गरेमा र आफ्ना शस्त्र भण्डारलाई अन्तर्राष्ट्रिय निरीक्षणका लागि खुला गरिएमा उनको शासनविरुद्ध कुनै कारबाही नगरिने वचन दिएका थिए। गदाफीले त्यसैअनुरूप गरे तर बाराक ओबामाले ब्रिटेन र फ्रान्ससँगको सहकार्यमा कदाफीको सत्ता उल्ट्याउन र उनको हत्या गराउन निर्वाह गरेको भूमिका वाल्टले उल्लेख गरेका छन्।

१४ डिसेम्बर २०१७ मा दी न्युयोर्क टाइम्सले राष्ट्रपति डोनाल्ड ट्रम्प र बाराक ओबामाले बोलेका झूठहरूको लामोविवरण प्रस्तुत गरेको छ।

अमेरिका विश्वको सर्वशक्तिमान राष्ट्र मात्र होइन,उसले संसारभरका प्रजातन्त्रवादी र व्यक्तिगत स्वतन्त्रताका पक्षधरहरूको नैतिक नेतृत्व पनि गरिरहेको छ। तर आफ्ना जनता र अन्तर्राष्ट्रिय समुदायमाझ झूठ बोल्ने र आफ्ना वचनवद्धताहरू उल्लंघन गरिरहने अमेरिकाको त्यस्तो नैतिक पुँजीको भण्डार रित्तिदै जाँदा त्यसले अन्ततः उसको अद्वितीय सैनिक शक्ति र त्यसलाई प्रयोग गर्ने राष्ट्रिय क्षमतामा ह्रास आउँदै जाने सत्यलाई अमेरिकाले कहिले बुझ्छ त्यो जान्न भने लामै समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

— भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस)सँग सम्वद्ध छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.