ठाकुरलाई आइसीयूबाट क्यावीनमा सारियो
नयाँ दिल्ली : हरियाणा राज्यको मेदान्ता अस्पतालको आइसीयूमा उपचारार्थ राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई मंगलबार बिहान क्यावीनमा सारिएको छ।'चिकित्सकको सल्लाहअनुसार एक दुई दिन अझ अस्पताल बस्नुपर्ने हुनसक्छ, पार्टीका प्रवक्ता कृष्णा सिंहले जानकारी दिए।
सोमबार आइसीयूमा भेटको क्रममै चिकित्सकले उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको बताएका थिए।उपचारका क्रममा उनको रक्तचापमा गिरावट आएको, युरिनमा इन्फेक्सन देखिएको हुँदा उनलाई आइसीयूमा विशेष निगरानीमा राखिएको पनि चिकित्सकले जानकारी दिएका थिए। उपचारका क्रममा ठाकुरलाई कब्जियतको समस्या पनि देखिएको थियो।
गत मंगलबार नियमित स्वास्थ्य परिक्षणका लागि दिल्ली आएका ठाकुरको बुधबारदेखि मेदान्तामा उपचार सुरु गरिएको थियो। नियमित चेकजाँच पछि आएको रिपोर्टमा मुटुको भल्वमा ब्लकेज देखियो। त्यसपछि उनको एन्जियोप्लास्टी गरिएको हो। एन्जियोप्लास्टी गरेर उनको मुटुमा स्टेन्ट(सानो मेटलको टयुव) राखिएको छ।
ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो।मुटुको चाल नियन्त्रण गर्न पेस मेकर जडान गरिएको थियो। त्यसको चार महिना पछि उनी फलोअपका लागि मेदान्ता आएका थिए। मधेस आन्दोलन, निर्वाचन लगायतको राजनीतिक व्यस्तताका कारण त्यसयता उनी चेकजाँचमा आउन पाएका थिएनन्।उनको पेसमेकरमा कुनै समस्या नरहेको चिकित्सकले जानकारी दिएका छन्।