विराटनगरमा एकैपटक चारवटा मल सञ्चालन

विराटनगरमा एकैपटक चारवटा मल सञ्चालन

विराटनगर : चार अर्ब रुपैयाँको लगानीमा विराटनगरमा एकैपटक चारवटा सपिङ मल थपिएका छन्। एउटाले नयाँ वर्षसँगै सेवा दिन सुरु गरेको छ भने बाँकी तीनवटा निर्माणाधीन छन्।

प्रदेश १ को राजधानी विराटनगरमा एक अर्ब रुपैयाँको लगानीमा भाटभटेनी सुपरमार्केटले वैशाख १ गतेदेखि आफ्नो १५ औं शाखा सञ्चालनमा ल्याएको छ। ६ महिनाभित्र थप तीनवटा व्यावयायिक मल सञ्चालनमा आउने तयारी गर्दैछन्।

भाटभटेनीबाहेक उद्योगी मोती दुगडको सेन्चुरियन मल, व्यावसायिक युवा व्यवसायीको समूह नेपाल बजार र चौधरी–देवेनरा ग्रुपको सेन्ट्रल मल निर्माणाधीन छन्। तीनवटै मल एक/एक अर्ब लगानीका हुन्।

उद्योगी दुगड सञ्चालक रहेको सेन्चुरियन मल बढीमा ६ महिनापछि सञ्चालनमा आउने तयारीमा छ। दुगड भन्छन्, ‘एक सय करोडको लगानीको यो परियोजना बहुआयामिक हुनेछ। हामी चाँडै नै सञ्चालनमा ल्याउने गरी धमाधम काम गरिरहेका छौं।’ उनका अनुसार प्रदेशको राजधानी भएसँगै विराटनगरमा मल संस्कृति बढ्दै गएको छ। प्रदेश राजधानी भएसँगै मल निर्माणमा तीव्रता दिइएको उद्योगीको भनाइ छ। दुगडले होटल ह्यारिसन प्यालेस पनि सञ्चालन गरेका छन्।

धरानरोडमा एक बिघा आठ कठ्ठा जमिनमा फैलिएको मलभित्र पाँचतारे होटल, सुपरमार्केट, मल्टिप्लेक्स सिनेमा हल, एम्युटमेन्ट पार्क, स्विमिङ पुल, जिम सेन्टर र तीन हजार मानिस अटाउने हलसहितका सुविधा हुने दुगडले बताए।

निर्माणाधीन ‘सेन्ट्रल मल’ को काम चाँडै नै पूरा गर्ने गरी निर्माण जारी रहेको उद्योगी प्रकाश मुन्दडाले जानकारी दिए। साढे १८ कठ्ठा जग्गामा निर्माण हुँदै गरेको मलमा दुईवटा सिनेमा हल, डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट, चिल्डे«न पार्कसहितका सुविधा दिइने बताउँदै भने, ‘२० हजार स्क्यावर फिटमा भवन निर्माणाधीन छ। एक सयवटा छुट्टाछुट्टै पसल रहने व्यवस्था गर्दैछौं।’ मल निर्माणको काम बढीमा ६ महिनामा पूरा हुने उनले बताए।

त्यस्तै नेपाल बजारले पनि आफ्नो व्यावसायिक मल निर्माण गरिरहेको छ। विराटनगर–धरान रोडमै बन्दै गरेको भवनमा सुपरमार्केट, रेस्टुरेन्ट, स्पासहित खेलकुदका लागि पनि व्यवस्था गरिने बताइएको छ। नेपाल बजारले महेन्द्रचोकमा यसअघि नै डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले विराटनगरमा मल संस्कृतिलाई बढावा दिन आफूहरू यहाँ आएको बताउँदै भने, ‘सम्भावना देखेरै हामी धरानपछि विराटनगर आएका हौं।’ पहिलो दिन अत्यधिक भीड थेग्न नसकेर उद्घाटन गरेको तीन घण्टापछि नै सुपर मार्केट बन्द गरिएको उनले बताए।

मार्केटले पहिलो दिन ८१ लाख रुपैयाँको कारोबार गरेकोमा दोस्रो दिन बढेर एक करोड ४३ लाखको सामान बिक्री भएको बताइएको छ। साततले भवनमा लत्ताकपडा, पेय, जुत्ताचप्पल, तरकारी, फलफूल, इलेक्ट्रोनिक, कस्मेटिक सामग्रीलगायत ४० करोडभन्दा बढीका एक लाख २५ हजारभन्दा बढी सामग्री रहेको भाटभटेनीको दाबी छ। भाटभटेनीले छिमेकी भारतका ग्राहकलाई तान्ने र नेपालीलाई भारतको जोगबनीतिर किनमेल गर्न जान रोक्ने गरी सुविधा दिने तयारी गरेको छ।

५० करोड लगानीमा नयाँ होटल

विराटनगरमा ५० करोड रुपैयाँको लगानीमा होटल बिग सञ्चालनमा आएको छ। यो होटलले पनि नयाँ वर्षको सन्दर्भ पारेर सेवा सुरु गरेको छ।

स्थानीय रोडशेष चोकमा खुलेको यो होटल थ्री स्टारस्तरको भएको सञ्चालकको दाबी छ। वीरेन्द्र न्यौपाने र रूपमणि राजभण्डारीको संयुक्त लगानीमा खोलिएको होटेल पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए। यसमा वातानुकूलित ५३ कोठा, तीनवटा स्विट कक्ष छन्। स्विमिङ पुल र रुफ टप रेस्टुरेन्टको सुविधा छ। व्यवस्थापक केशवप्रसाद पौडेलले भने, ‘हामीले सबै सुविधा दिने प्रयास गरेका छौं।’ खासगरी भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै होटलले सुविधामा कुनै कन्जुस्याइँ नगरेको उनले बताए।

विराटनगरमा हालै सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा किनमेल गर्दै उपभोक्ता। कुमार लुइँटेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.