करेन्ट लागेर १ जनाको मृत्यु, ६ घाइते
थाक्रे (धादिङ) : धादिङको थाक्रे गाउँपालिका वडा नं ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । थाक्रेको महेशखोला पारीबाट बोरिङ गरी महादेवबेसी बजारतर्फ पानी ल्याउने पाईप झुण्डाउने क्रममा पाईपमा बाँधेको सपोटको (आल्मुनियम) तारले बिजुलीको तारमा छुन गई करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएकी ६५ वर्षीया निकी तामाङको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको महादेव वेशीप्रहरीले जानकारी दिएको छ । तामाङको घर झापा भएको प्रहरीले बताएको छ ।
करेन्ट लाग्दासँगै काम गरिरहेका थाक्रे – ६ का ३७ वर्षीय धनबहादुर कार्की, १६ वर्षीय निरज कार्की, १० वर्षीय गोपी कुलु, ४० वर्षीय सुरेश पुलु, ४० वर्षीया माइली तामाङ र गौतम तामाङ घाइते भएका छन् ।
घाइतेहरुको काठमाडौँको ट्रमा सेन्टर उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।