झापाका महेन्द्र गिरी उत्कृष्ट नागरिक
विर्तामोड : वीरता जेसीज विर्तामोडसहित झापाका एक सय २५ संस्थाले मंगलबार सामूहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन् ।
आर्थिक समृद्धिमार्फत् सामाजिक रुपान्तरणमा टेवा पुर्याएको भन्दै विर्तामोड–२ चारपाने निवासी ४८ वर्षीय गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो। वीरता जेसीज पूर्व अध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदक, नगद तथा सम्मान-पत्र प्रदान गरिएको थियो।
सहारा नेपालतथा सहारा नेपाल साकोसमार्फत पछाडि परेको वर्गको उत्थान र सशक्तिकरणका साथै आर्थिक समृद्धिमा गिरीको अगुवाईमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै झापाका सामाजिक संस्थाले उनलाई सम्मान प्रदान गरेका थिए।
सहारासहित झापा गोल्ड कपको संस्थागत विकास, समर्पण राष्ट्रिय अभियानलगायतका राष्ट्रिय महत्वका कार्यको परिकल्पनाकार गिरीलाई मानिन्छ। सहारामार्फत अहिले एक लाख ३० हजार सदस्य संगठित छन् भने गरीब सात अर्बको आर्थिक कारोबार गर्न सफल भएको छ। सहारा अहिले देशकै ठूलो र उत्कृष्ट संस्थाको रुपमा गनिएको छ।
प्रमुख अतिथि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मान–पत्र हस्तान्तरण गरे।