नयाँ भर्ना हुन्छन्, पुरानाले छाड्छन्

नयाँ भर्ना हुन्छन्, पुरानाले छाड्छन्

गौशाला : औरही नगरपालिका-४ कठुधारकी १२ वर्षीय आशाकुमारी मुसहरले कक्षा २ को पढाइ बीचमै छाडिन्। कापी, कलम र किताब भकारीमाथि थन्क्याएर उनले दुई वर्षअघि पढाइ छाडेकी हुन्। परिवारको गरिबीले उनलाई विद्यालयको बाटोमा छेकबार लगाएको हो। खान, लाउन अभाव खेपेर भए पनि अभिभावकले आशालाई स्कुल भर्ना गरेका थिए। तर, स्कुलमा शिक्षकले मुसहरका बच्चालाई पढाउन पर्याप्त ध्यान नदिँदा उनी बढाइ छाड्न बाध्य भइन्। स्कुल छाडेकी आशाको विवाहको चर्चा चलेको छ।

आशाकी काकाकी १३ वर्षीया छोरी चञ्चलाकुमारी पनि दुई वर्षदेखि विद्यालय जान छाडेकी छन्। कक्षा ४ मा पढ्दै गर्दा उनी स्कुलबाट बाहिरिएकी हुन्।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर कठुधार औरहीमा पढ्दै गरेकी आशा र चञ्चला गरिबीको चपेटाका कारण विद्यालय छाडेका हुन्। उनीहरू अहिले ज्यालामजदुरी गरिरहेका भेटिन्छन्। आशा र चञ्चलाजस्तै बीचैमा विद्यालय छाड्ने ३० भन्दा बढी छात्रछात्रा कठुधारमा छन्।

विद्यालय भर्ना अभियानसँगै स्कुल जाने उमेरका नयाँ बालबालिका प्रत्येक वर्ष भर्ना हुन्छन्। अघिल्लो वर्ष भर्ना भएका बालबालिका विभिन्न समस्याले गर्दा विद्यालयबाट बाहिरिन्छन्।

‘सरकारले भर्ना अभियानका बेला भर्नामा चासो दिए पनि उनीहरूलाई टिकाउन खासै ध्यान दिँदैन’, गौशालाका स्थानीय रामबाबु यादवले भने।

कठुधारमा ४० घरपरिवार मुसहरको बसोबास छ। बस्तीमा विद्यालय जाने उमेरका झन्डै एक सय ५० भन्दा बढी बालबालिका छन्। अहिले बस्तीका थोरै बालबालिका स्कुल पुगेका छन्। तर, कक्षा ५ पढेको कोही पनि भेटिँदैनन्। तीन-चार कक्षा नपुग्दै ती बालबालिका विद्यालय छाड्छन्। विद्यालय पढ्ने बालबालिकालाई आफ्नो नाम लेख्न पनि आउँदैन।

‘महिनामा १० दिन मात्रै स्कुलमा पढाइ हुन्छ’, बस्तीकी जसोदेवी मुसहरले भनिन्, ‘चार कक्षामा पढ्नेलाई नाम पनि लेख्न आउँदैन। खोइ कस्तो पढाइ हुन्छ कुन्नि यहाँ !’

मुसहर बालबालिका नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर कठुधारमा पढ्छन्। यो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। तर, विद्यालयले शिक्षक अभाव झेलिरहेको छ।

विद्यालयको बालविकास कोटामा २ जना, राहत कोटामा १ र स्थायी दरबन्दीमा १ र परिचर १ गरी ६ जना कर्मचारी छन्। शिक्षक अभावमा विद्यालयमा आउने सबै बालबालिकालाई एकै पटक पढाउन नसकिएको प्रधानाध्यापक उद्नारायण यादवले बताए।

‘एकै पटक ८ वटा कक्षा सञ्चालन हुन्छन्। तर, हामी पढाउने ५ जना शिक्षक छौं। तीन वटा कक्षा त खाली नै हुन्छ’, यादवले भने, ‘शिक्षक अभावले कठुधारका मुसहर बस्तीका बालबालिकाले पढ्न पाएका छैनन्।’

विद्यालयमा साढे तीन सय बालबालिका पढ्छन्। अधिकांश बालबालिका दलित समुदायका छन्। स्कुल गए पनि केही उपलब्धि नदेखिएका कारण बालबालिकालाई अभिभावकले पढाइ छोडाएर काममा पठाउने गरेको स्थानीय लटुवा मुसहरले बताए।

‘बालबालिका विद्यालय गए पनि उनीहरूलाई नाम पनि लेख्न आउँदैन। अभिभावकले पढाए पनि नपढाएको बराबरै छ’, उनले भने, ‘बरु काममै पठाएर आफूलाई त अलिकति भए पनि सहज हुन्छ।’ बस्तीमा नयाँ भर्ना हुने उमेर पुगेका ५० जना बालबालिका रहेको उनले जनाए।

औरही नगरपालिका-४ कठुधारका वडाध्यक्ष सीयाराम रायले विद्यालयमा लामो समयदेखि शिक्षक अभाव रहेको सुनाए। विद्यालयबाहिर रहेका सबै दलित बालबालिकालाई छिट्टै विद्यालय भर्ना गराएर उनीहरूलाई पढाउने शिक्षक चन्दा संकलन गरेरै भए पनि व्यवस्था गरिने उनको दाबी छ।

कठुधारको छिमेकी गाउँ गौशाला-७ फुलकाहा मनहर्वा बस्तीको अवस्था पनि उस्तै छ। कक्षा ३ मा पढ्दै गरेका १३ वर्षीय गोविन्द मुसहर यसै वर्ष पढाइ छाडेर कमाउन पञ्जाव गएका छन्।

मनहर्वाकै १० वर्षीय लखिन्द्र मुसहरलाई अभिभावकले विद्यालय पोसाक, कापी, कमल, खाना, खाजा जुटाउन नसक्दा उनी पनि विद्यालय छाड्न बाध्य छन्।

मनहर्वा मुसहर बस्तीकै छेउमा कक्षा ४ सम्म पढाइ हुने नेपाल राष्ट्रिय जनजाति प्राथमिक विद्यालय छ। तर, मनहर्वा मुसहर बस्तीबाट विद्यालय भर्ना हुने बालबालिका प्रत्येक वर्ष भर्ना हुन्छन्। तर, बीचैमा पढाइ छाड्ने गरेको प्रधानाध्यापक द्रौपदीदेवी यादवले बताइन्।

प्रत्येक वर्ष विद्यालय भर्ना अभियान क्रममा मुसहर, चमार, पासवान, विश्वकर्मालगायत दलित समुदायका बालबालिका कक्षाकोठा पुग्छन्। तर, खान, लाउन अभावकै कारण दलित समुदायका बालबालिका विद्यालयमा टिक्दैनन्। उनीहरू होटलमा भाँडा माझ्दै गरेका भेटिन्छन्। कोही खोलामा बालुवा गिट्टीसँग जीवन साट्छन्। विद्यालयबाहिर रहेका मुसहरका बालबालिका बिहान-बेलुकाको तरकारी जोहो गर्न मुसा मार्न, माछा मार्न खेतबारी, खोलानाला धाउँछन्।

महोत्तरीको ग्रामीण भेगका दलित बालबालिका अन्य जातिका बालबालिकासँगै स्कुल भर्ना हुन्छन्। अरू समुदायका बालबालिका स्कुलमा पढाइलाई निरन्तर दिन्छन् तर दलितका बालबच्चा विद्यालयमा टिक्दैनन्। उनीहरू भर्ना भएकै वर्षबाट विद्यालय छाड्न थाल्छन्।

भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको तलब-भत्तामा सरकारले बर्सेनि करोडौं खर्चिए पनि विद्यालय भर्ना भएका बालबालिका विद्यालयमा टिकाउन कुनै योजना ल्याएको देखिँदैन।

ज्याला मजदुरीमा जीवन धान्ने दलित समुदाय पुस्तौंनी रोग, भोक, शोकले थला परेका छन्। विद्यालय छाडेका बालबालिका उमेरै नपुगी विवाह बन्धनमा बाँधिने गरेको स्थानीय सुरेन्द्र यादव बताउँछन्। ‘दलित बालबालिकाको १४-१५ वर्षमै विवाह गर्न उनका अभिभावक सुर कस्छन्’, यादवले भने।

गाँस, बास, कपास अभावमा विद्यालय भर्ना भएका बालबालिका कक्षाकोठामा टिक्दैनन्। कक्षामा टिकिहाले पनि उनीहरू टिफिनमा खाजा अभावमा कक्षाबाट भाग्ने गरेका छन्।

दलित बालबालिका पढ्ने विद्यालयमा विद्यार्थी संख्याका आधारमा शिक्षक व्यवस्थान, खाजा कार्यक्रम, विद्यालय पोसाक, शैक्षिक सामग्रीको उपलब्धता, अभिभावकको निगरानी, शिक्षक र विद्यालय व्यवस्थापन समिति जिम्मेवार भए कोही पनि विद्यार्थी बीचैमा विद्यालय नछाड्ने राष्ट्रिय जनजाति प्राथमिक विद्यालय मनहर्वाकी प्रधानाध्यापक द्रौपदीदेवी यादव बताउँछिन्।

‘दलितका बालबालिका पढ्न तेज छन्। तर, उनीहरू विद्यालयमा टिक्नै सक्दैनन्’, उनले भनिन्, ‘दलित बालबालिका विद्यालय पठाउने हो भने आधारभूत आवश्यकता सरकारले पूरा गरिदिनुपर्छ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाका झन्डै १० हजार बालबालिका विद्यालयबाहिर छन्। ‘एक बालबालिकाको भर्ना, मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’, भन्ने मूल नारासाथ शैक्षिक सत्र ०७५ का लागि विद्यालय भर्ना अभियान सुरु भएको छ।

शिक्षा मन्त्रालयले एक वर्षअघि गरेको सर्वेक्षणअनुसार प्रदेश २ का आठ जिल्लामा १ लाख ९१ हजार २ सय २१ बालबालिका विद्यालयबाहिरै छन्। विद्यालयबाहिर रहेका बालबालिकामध्ये अधिकांश दलित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.