सदरमुकामबारे अन्योल कायमै
रुकुमकोट : पूर्वीरुकुमको सदरमुकाम विवाद नसुल्झिँदा विकासमा अवरोध भएको सरोकारवालाले बताएका छन्। रुकुम दुई जिल्लामा विभाजित भएपछि पूर्वी रुकुमको सदरमुकाम कहाँ रहने भन्ने अन्योल कायमै छ। रुकुमको ४४ वर्षअघिसम्मको सदरमुकाम रुकुमकोटमा नयाँ मुकाम बन्ने आसमा बसेका स्थानीय तत्कालीन शेरबहादुर देउवा सरकारले पुथा उत्तरगंगा गाउँपालिकाको गोलखाँडा तोकेपछि आन्दोलनमा उत्रिएका थिए।
लामो समय आन्दोलन गरेका रुकुमकोट र मुकाम तोकिएको गोलखाँडाका स्थानीय स्थायी मुकाम कहाँ हुने विषयमा अन्योलमै छन्। सदरमुकाम विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। वैशाख ६ गते हुने पेसीमा सदरमुकामको विवाद हल भई निकास निस्किने विश्वास पूर्वी रुकुमवासीमा छ। तर, दुवै क्षेत्रका स्थानीयबीच हानथाप रोकिएको छैन।
रुकुमकोटका स्थानीय संगम केसीले सदरमुकामको विषय टुंगो नलाग्दा विकासमा समेत अवरोध भएको भन्दै छिटो निकास निकाल्न माग गरेका छन्। ‘कान्छो जिल्लाको सदरमुकाम तय भइसकेको रुकुमकोटको विकासलाई सरकारको निर्णयले अवरोध गरिदियो’, केसीले भने, ‘सदरमुकाम कहाँ रुकुमकोट कि गोलखाँडा ? जनतालाई निष्कर्ष चाहिएको छ।’
सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा स्थानीय जनप्रतिनिधि पनि बाँडिएका छन्। तीन गाउँपालिकाका ३१ वडामध्ये सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकाका १ वडाका जनप्रतिनिधि रुकुमकोटको पक्षमा छन्। उता गोलखाँडावासी सरकारले गरेको निर्णय फेरबदल हुन नहुने पक्षमा अडिग छन्। गोलखाँडामै सदरमुकाम हुनुपर्छ भनेर लागिरहेका धु्रव बुढा भन्छन्, ‘हामीले कसैको भाग खोसेका होइनौं। कसैबाट थुत्न लागेका पनि होइनौं। सरकारले गरेको निर्णय न्यायिक ढंगले कार्यान्वयन हुनुपर्छ मात्र भनिरहेका हौं।’
रुकुमकोटमा रहेको रुकुमको सदरमुकाम २०३० सालमा मुसिकोट सारिएको थियो। नयाँ जिल्ला बनेपछि फागुन ११ गते सरकारले गोलखाँडालाई सदरमुकाम तोकेपछि पूर्वीरुकुमका स्थानीय विभाजित भएका हुन्। जिल्लाको पुरानो सदरमुकामसमेत भएकाले रुकुमकोटमा तत्काल मुकाम बनाउँदा कार्यालय व्यवस्थापनमा सहज हुने दाबी गरिएको छ।