आँधीहुरीबाट दुईको मृत्यु
गौशाला : मंगलबार राति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार सोमबार राति ७:३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो।
आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो।प्राथमिक उपचारपश्चात् पछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको र उपचारकै क्रममा उनको मंगलबार राति ९:३० बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए।
त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा आँधीहुरी आएकै बेला बाटोमा हिँडिरहेका पहिचान नखुलेका एक पुरुष व्यक्ति सोही सडकखण्डमा रहेको बरको रुखमुनि लुक्न गएकोमा सोही बरको रुख उखेलिएर ढल्दा उनको च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए।रासस