आईसीयू उपकरणमा माकुराको जालो

आईसीयू उपकरणमा माकुराको जालो

महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा आईसीयू सञ्चालनका लागि जडित उपकरणमा माकुराको जालो लाग्न थालेको छ। उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको आईसीयू कक्ष सञ्चालनमा आउन नसकेपछि उपकरणमा जालो लाग्न थालेको हो।

उपकरण जडान भएको तीन वर्ष पुग्न लागिसकेको छ। उपकरण जडान भएदेखि आईसीयू कक्ष बन्द छ। न त्यहाँ कुनै सरसफाइ हुन्छ, न त उक्त कार्यकक्ष खुल्छ नै। महाकाली अञ्चल अस्पतालको निरीक्षणका क्रममा आउने मन्त्री, विभागका अधिकारीलाई देखाउनकै लागि मात्रै उक्त कक्ष खुल्ने गरेको छ। मन्त्री र विभागका अधिकारीले निरीक्षण गरेपछि तत्काल सेवा सञ्चालन गराउने आश्वासन दिने गरेका छन्। तर उक्त आश्वासन कार्यान्वयन भने हुन सकेको छैन।

प्रदेश सरकार गठन भइसकेपछि महाकाली अञ्चल अस्पतालको अवस्था बुझ्न पुगेका प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले तत्काल आईसीयू सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिएका थिए। तर, उनले निरीक्षण गरेको डेढ महिना बितिसक्दा पनि आईसीयू सञ्चालन हुने कुनै सुरसार छैन। ‘म अञ्चल अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि पनि पटकपटक केन्द्रको ध्यानाकर्षण गराइसकेको छु’, अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले भने, ‘तर केन्द्र, न मन्त्रालय, छ, न विभागले नै चासो दिएको छ।’

केन्द्रमा महाकाली अञ्चल अस्पतालमा आईसीयू कक्ष जडान भइसकेको लामो समय भइसकेका विषयमा सबै जानकार भए पनि सेवा सञ्चालनका लागि कसैले चासो नदिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नभएको र आईसीयू सेवा तत्काल सुरु गराउन कैयौंपटक डेलिगेसनसमेत बुझाइसकिएको छ।

आईसीयू सेवा थाल्न आवश्यक विशेषज्ञ चिकित्सकसहितको टोली नपठाउँदा जडित उपकरण त्यसै थन्किने अवस्थामा पुगेका हुन्। ‘केन्द्रमा बुझ्दा त्यहाँ जान चिकित्सकले नमान्ने गरेको भन्ने जवाफ आउँछ’, अध्यक्ष पाण्डेयले भने, ‘महाकाली अञ्चल अस्पताललाई सुगम क्षेत्रमा राखिनु र अन्य निजी अस्पतालसमेत नभएका कारण चिकित्सक आउन मान्दैनन्।’

आईसीयू सेवा सञ्चालनका लागि चार विशेषज्ञ चिकित्सक, दुई फिजिसियन, ऐनेस्थेसिया एक, बालरोग विशेषज्ञ एक, सर्जन एक, मेडिकल अफिसर चार, स्टाफ नर्स १२, एक बायो इन्जिनियरिङ टेक्निसियन र नर्सिङ एड १२ जनाको जनशक्ति आवश्यक पर्छ। २७ जना चिकित्सिकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिले एक सर्जन, एक हड्डी तथा नसा रोग विशेषज्ञ, एक स्त्रीरोग विशेषज्ञ, एक मेडिकल अधिकृत र दुई जना डेन्टल चिकित्सक मात्रै कार्यरत छन्। अन्य तीन जना मेडिकल अधिकृत महाकाली अञ्चल अस्पताल विकास समितिअन्तर्गत कार्यरत छन्।

दरबन्दी नहुँदा एकै जना चिकित्सकले घण्टाँैसम्म काम गर्नुपर्ने बाध्यता छ। विभागले दरबन्दीमा अहिलेसम्म मेडिकल सुपरिटेन्डेन्टसमेत पठाएको छैन। ११औं तहको दरबन्दी रहेको अस्पतालमा हाल दसौं तहका चिकित्सक डा. श्रीकृष्ण भट्टले निमित्त मेसुको जिम्मेवारी सम्हालेका छन्।

आईसीयी सेवा नहुँदा इमर्जेन्सी अवस्थामा आउने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘जडित उपकरण त्यसै थन्किएका छन्, चलाउने दक्ष जनशक्ति छैन’, अस्पतालका सुचना अधिकृत केशवदत्त अवस्थीले भने, ‘उपकरण जडान भएको तीन वर्ष हुन लाग्यो। अहिलेसम्म कसैको चासो छैन।’ आईसीयू सेवा र विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामी सीमावर्ती भारतीय सहर खटिमा, पिलिभित तथा बरेलीसम्म गएर महँगो रकम तिरेर उपचार गराउन बाध्य छन्। आईसीयू र उपचारका नाममा भारतीय अस्पतालमा दिनप्रतिदिन नेपालबाट जाने बिरामी ठगिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.