११ हजार घुससहित मालपोतका सुब्बा पक्राउ
काठमाडौँ: रुपन्देहीको मझगावाँ मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा हरिप्रसाद पौडेल ११ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गा कित्ताकाट तथा दाखिला खारेज गराई जग्गाधनी प्रमाणपूर्जा दिने कामका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै उनी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई लेखापढी व्यवसायी राम लखन पाण्डेमार्फत ६ हजार रुपैयाँ र सेवाग्राहीसँग ५ हजार रुपैयाँसहित घुस लिँदै गर्दा पौडेललाई समातेको हो ।
घुस लिने पौडेल र मध्यस्थकर्ता लेखापढी व्यवसायी पाण्डेलाई पनि पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।