सामूहिक बलात्कारको ठहर गर्दै १० बर्ष कैद
गाईघाट : ४८ बर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन आरोपित मध्येका एकलाई जिल्ला अदालतले १० बर्ष कैद र क्षतिपूर्तीवापत ३० हजार उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश तिर्थराज केसीको एकल इजलासले बुधबार ताप्ली गाउँपालिका–५ का ४५ वर्षीय भागिराम परियारलाई बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । अदालतले १ पटक बलात्कार गरेको ५ बर्ष र सामुहिक बलात्कार गरेको ५ बर्ष गरी परियारलाई १० वर्ष कैद भुक्तान गर्ने गरी फैसला सुनाएको हो ।
०७३ पुस १८ गते भागिरामसँगै उदयपुरगढी गाउँपालिका १ बञ्चरेका ४० बर्षीय लोकबहादुर घतानी र सोही ठाउँका ५० बर्षीया धनबहादुर विकसहितको तीनजनाको समूहले महिलालाई सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । उनीमध्ये भागिरामले सामूहिक भन्दा अघि पनि बलात्कार गरेको अदालतले ठहर गरेको छ ।