अर्बको सम्पत्ति दान गर्ने दम्पतीलाई अभिनन्दन

अर्बको सम्पत्ति दान गर्ने दम्पतीलाई अभिनन्दन

नेपालगन्ज : फत्तेबाल आँखा अस्पताल नेपालगन्जले ९३ बर्से श्रीजंग शाह र उनकी ९० वर्षिया पत्नी रुद्रकुुमारी शाहलाई अभिनन्दन गरेको छ । शाह दम्पतीको योगदानको कदर गर्दै प्रदेश ५ का प्रमुुख उमाकान्त झाद्वारा उनीहरूलाई सम्मान गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, स्वास्थ्यकर्मी, वकिल, सर्वसाधारणको सहभागितामा प्रहरीको ब्यान्डसहित शाह दम्पतीलाई स्थानीय बजार परिक्रमा गराइएको थियो । अभिनन्दन कार्यक्रमका सहभागीले उनीहरूको योगदानको प्रशंसा गरेका थिए ।

शाह दम्पतीले हालै एक अरब रुपैयाँभन्दा बढी मूल्यको काठमाडौं कान्तिपथस्थित ३ रोपनी, ३ आनामा रहेको आफ्नो निजी घरजग्गा नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पताललाई दान गरेका छन् । श्रीजंगका बुुवा फत्तेजंग पश्चिम क्षेत्रको सबभन्दा ठूलो उक्त अस्पतालका संस्थापक हुन् । बुवा फत्तेजंग र आमा बालदिव्येश्वरीले तीन दशकअघि फुल्टेक्रामा रहेको आफ्नो घर र एक बिघा जग्गा अस्पताललाई दान गरेकाले उनीहरूकै नाममा अस्पतालको नामकरण गरिएको थियो ।

अस्पतालका संरक्षकसमेत रहेका       श्रीजंग दम्पतीले मरणोपरान्त अस्पतालको नाममा आउने गरी आफ्नो घरजग्गा दान गरेपछि उनीहरूको देशैभर प्रशंसा भइरहेको छ । अभिनन्दनपछि शाहले आफूले आफ्ना बाबुआमाको सामाजिक सेवा भावको संस्कारबाट प्रेरित भई दान गरेको बताए । ‘मलै कुनै भावनामा बहकिएर अर्बौंको सम्पत्ति दान गरेको होइन’, उनले भने, ‘मेरा बुवा आमाको जुन सपना थियो त्यसलाई विस्तार गर्न एउटा खुडकिला थपेको मात्र हुँ ।’

जुन उद्देश्यले अस्पताल बनेको छ, त्यो उद्देश्य पूर्ति हुनेमा आफु विश्वस्त रहेको शाहले बताए । २०४३ सालमा १० शैयाबाट सुरु भएको अस्पताल हाल २ सय ५० शैयामा सञ्चालित छ । अस्पतालअन्तर्गत विभिन्न जिल्लामा गरी ८ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । अस्पतालको नाममा हाल साढे ४ बिघा जग्गा प्राप्त भइसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा प्रदेश ५, ६ र ७ का विभिन्न जिल्लासहित भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । पश्चिम क्षेत्रमा आँखा उपचारका लागि प्रभावकारी अस्पतालका रूपमा फत्तेबाल आँखा अस्पताल स्थापित छ ।

अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्म अस्पतालबाट ६८ हजार ७ सय ५८, सामुदायिक आँखा उपचार केन्द्रबाट ११ हजार २ सय ३४ र बाह्य कार्यक्रममा ५ हजार ६ सय १७ गरी कुल ८५ हजार ६ सय ९ जनाको आँखा परीक्षण एवं उपचार गरिएको छ । यस्तै अस्पतालमा ७ हजार २ सय ३१ र बाह्य कार्यक्रममा २ सय २७ गरी जम्मा ७ हजार ४ सय ५८ जनालाई शल्यक्रिया सेवा दिइएको छ । स्वास्थ्य मन्त्रालयले फत्तेबाल आँखा अस्पताललाई आँखासम्बन्धी सम्पूर्ण उपचार गर्ने अस्पतालको रूपमा मान्यता दिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.