पुरानो ठिमीमा कहिले तोडिएला ९ नम्बरको सिण्डिकेट ?
पाठक पत्र
सुललिता सुरमञ्जरी
मध्यपुर ठिमी भक्तपुरको एउटा सांस्कृतिक नगर । यही नगरपालिकामा पर्ने सानोठिमी शैक्षिक नगर पनि हो । यति महत्त्वपूर्ण ठाउँ भएर पनि यहाँ सार्वजनिक यातातातको नाममा ९ नम्बर रुटका बाहेक अरु गाडी चल्दैनन्, दशकौंदेखि ।
चल्दैनन् के भन्नु, चलाउनै दिइँदैन । ९ नम्बर गाडीका मालिकहरू ठिमीकै भएकाले उनीहरूको एकछत्र राज छ, यहाँ । साझालगायत यातायात चलाउने वर्षौँदेखिको प्रयास यहाँ विफल हुँदै आएको छ । ९ नम्बरका यातायात व्यापारीको सिण्डिकेट कायम राख्न भक्तपुरका सीडीओ, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख र प्रहरी प्रशासनले समेत सघाउने गरेका छन् ।
यी निकायमा जो जो आउँछन्, आर्थिक प्रलोभनमा परेर अरु गाडी चलाउनै नसक्ने वातावरण बनाइदिन्छन् । उनीहरू जनताले तिरेको करबाट किनिएका चिल्ला गाडीमा हुइँकिन पाइहाल्छन्, सर्वसाधारणले दुःख पाएको यिनलाई के मतलब ?
प्रहरी–प्रशासनलाई राम्रो भेटी चढाएकै कारण दशकौंसम्म पुरानो बाटोमा ९ नम्बरको गाडीको हालीमुहाली छ । भनेजति गाडी छैनन् । काठमाडौं जाँदा सानोठिमी र पेप्सीकोलामा अनि भक्तपुर फर्किँदा कोटेश्वर, जडिबुटीजस्ता ठाउँमा १०÷१५ मिनेटसम्म रोकेर मान्छे खाँदिन्छ । ड्राइभर र खलासीले भनेजस्तो मुद्रामा बसेर, खाँदिएन भने मुख मात्र छोड्ने होइन हातै छोड्न बेर लाउँदैनन् यात्रुलाई । महिला र ज्येष्ठ नागरिकलाई सम्मान गरिँदैन । भाडामा एकरूपता छैन । नयाँ मान्छे देखे भने मनपरी भाडा उठाउँछन्।
यहाँ भन्दा वर्षौँपछि बनेका सहरमा भनेजस्ता सुविधाजनक गाडी चल्छन् । एउटामा भीड भए अर्कोमा, पहिलोमा चढ्न मन नलागे दोस्रो, छानीछानी सुविधा पाइन्छ । यहाँ भने अझै ठिमीका व्यापारीको मनोमानी चलिरहेकै छ । सरकारले यातायात क्षेत्रको ‘सिण्डिकेट’ हटाइसकेको सन्दर्भमा मध्यपुर ठिमीको सार्वजनिक यातायातमा कहिले लोकतन्त्र आउला ? यहाँका बासिन्दा प्रतीक्षारत छन् ।
मध्यपुर–२, सानोठिमी