अन्न पिसाउन घण्टौं जंगलको बाटो

अन्न पिसाउन घण्टौं जंगलको बाटो

प्युठान : कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका–५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्। गाउँलेमा मिल सञ्चालन गर्ने चाहना भए पनि विद्युत् क्षमता नहुँदा समस्या भएको स्थानीयको गुनासो छ। ‘दुई घण्टा जंगलको बाटो हिँडेर मिलमा पुग्छौँ’, सिरुबारीकी स्थानीय शिवा खत्रीले भनिन्, ‘गाउँमा मिल छैन। पुस्तौंदेखि यही समस्या छ।’

मकै, गहुँ, धान पिसाउन मिलमा पुग्नुपर्ने बाध्यता रहेको शिवाको भनाइ छ। ‘घरमा जाँतोमा पिस्ने चलन हराइसक्यो’, सोही ठाउँकी ५० वर्षीया सरस्वती खत्रीले भनिन्, ‘जाँतोमा दुई÷चार माना पिसाउन त सकिन्छ। तर, धेरै पिसाउन मिलमै पुग्नुपर्छ।’ गाउँमा मिल राख्नका लागि विद्युत् जडान गरिदिन वर्षौंदेखि आग्रह गरे पनि माग सुनुवाइ नभएको उनको गुनासो छ। ‘एकपटक सात÷आठ पाथी अन्न लिएर पिसाउँछौँ’, खत्रीले भनिन्, ‘जंगलको बाटो राति हिँड्न डर हुन्छ।’ गाउँका झण्डै ७० घरधुरीले मिल नहुँदाको यस्तो समस्या भोग्दै आइरहेका छन्। ‘कतिपयले मिल राख्न चाहना गरेका छन्’, खत्रीले भनिन्, ‘तर बिजुली नभएर मिल राख्न सकेका छैनन्।’

पैसा भएका ८÷१० जनाले गाउँमा मिल सञ्चालन गर्ने योजना सुनाएको वडाध्यक्ष हेमराज वलीले बताए। ‘सुरुमा मैले पनि मिल राख्न मन गरेको थिएँ’, उनले भने, ‘तर बिजुलीको क्षमता नभएर काम अघि बढेन।’ गाउँमा ‘टुफेज’को मात्र लाइन विस्तार भएको उनले जानकारी गराए। वलीका अनुसार मिल सञ्चालन गर्न ‘फोरफेज’ क्षमताको विद्युत् लाइन आवश्यक पर्छ।

वडा कार्यालयदेखि सिरुबारीसम्म मोटरबाटो निर्माण भएकाले आउँदो आर्थिक वर्षमा विद्युत् क्षमता विस्तारको पहल गरिने वडाध्यक्ष वलीले जानकारी गराए। ‘मिल नहुँदा सिरुबारीका स्थानीयले वर्षौंदेखि पीडा खेप्दै आएका छन्’, उनले भने, ‘टाढादेखि अन्न बोकेर मिलमा पुग्नुपर्ने बाध्यता छ। यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नेछौँ।’ नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीसँग समन्वय गरेर गाउँमा बिजुलीको क्षमता बढाउनतर्फ विशेष पहल गरिने उनले आश्वासनसमेत दिएका छन्।

गाउँमा अन्य ठाउँमा मिल सञ्चालन भए पनि सिरुबारीका स्थानीयले दुःख पाउँदै आएका हुन्। गाउँमा बिजुलीको क्षमता विस्तार गरी मिल सञ्चालन गर्ने वातावरण मिलाइदिन स्थानीयले गाउँपालिकासँग आग्रह गरेका छन्। विकासका अन्य पूर्वाधारमा गाउँ अघि बढ्दै गए पनि कुटानीपिसानी गर्न मिल नभएकाले स्थानीयले विकास र परिवर्तन महसुस गर्न नसकेका हुन्।

सिरुबारी जिल्लाकै दोस्रो पूर्ण सरसफाइयुक्त गाउँसमेत घोषणा भइसकेको छ। सिरुबारीमा मिल सञ्चालन गर्न आवश्यक विद्युत् क्षमता बढाउन विशेष पहल गरिने माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी दिए। बुटवल पावर कम्पनी लिमिटेडसँग सल्लाह गरेर गाउँमा विद्युत् क्षमता विस्तारको पहल गर्ने उनले बताए।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.