बुद्धजयन्तीको तयारी तीव्र
भैरहवा : शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको २५६२ औं बुद्धजयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र पारिएको छ ।
लुम्बिनीमा वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गते बुद्धजयन्ती कार्यक्रम तय गरिएको छ । लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २६ मुलुकका बौद्ध विद्घान सहभागी हुने भएका छन् । तीमध्ये १३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीसमेत सम्मेलनमा सहभागी हुने लुम्बिनी विकास कोषले जनाएको छ । कोषले दिएको जानकारीअनुसार हालसम्म भारत, जापान, फ्रान्स, बेलायत, पोल्यान्ड, मलेसिया, जर्मन र श्रीलंका सहभागी हुने पक्का भइसकेको छ ।
१३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीसमेत सम्मेलनमा सहभागी हुनेछन् ।
कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मित्तेय)का अनुसार सम्मेलनमा १५ वटा मुलुकका बौद्ध प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्नेछन् । अहिलेसम्म विभिन्न ३० बौद्ध विद्वानले कार्यपत्र प्रस्तुत गर्न पाऊँ भनी निवेदन दिए पनि सरकारले राखेको नारालाई मेल खाने खालको कार्यपत्र मात्रै प्रस्तुत गरिने उपाध्यक्ष त्रिपाठीले बताए ।
बौद्ध सम्मेलन लुम्बिनीस्थित चाइना विहारमा हुने भएको छ । सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन उद्घाटन गर्न वैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउने र १७ गतेको बुद्धजयन्ती मूल समारोह सकेर मात्र काठमाडौं फर्किने बताइएको छ । १७ गते हुने मूल समारोहमा प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेको कोषले जनाएको छ ।