मुसहरलाई छोएन भर्ना अभियानले

मुसहरलाई छोएन भर्ना अभियानले

सुन्दरहरैंचा : सुन्दरहरैंचा नगरपालिका–५ स्थित मुसहर बस्तीमा २० वर्षीय अनित ऋषिदेव ८ कक्षा उत्तीर्ण एक्लो युवा हुन्। ८ कक्षा उत्तीर्ण भएपछि उनी विद्यालय जान पाएनन्। पढ्न छाडेकै पाँच वर्ष भयो। परिवारको आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाड्न बाध्य भएको उनले सुनाए। उनी पढाइ छाडेर मजदुरी गर्दै परिवारका सदस्यको आडभरोसा बन्नुपर्‍यो।

‘पढ्न मन हुँदाहुँदै पारिवारिक समस्याले अघि बढ्न सकिनँ’, उनले भने, ‘वृद्ध बुवाआमा र परिवार पाल्नुपर्ने जिम्मेवारी मेरै काँधमा थियो। मजदुरी गर्नुपर्ने अवस्था आइपर्‍यो।’ पढाइ छाडेर अर्काको ट्र्याक्टरमा मजदुरी गर्न थालेको उनले बताए।

चेतना अभाव र आर्थिक समस्याले गर्दा मुसहर बस्तीले अहिलेसम्म ८ कक्षा उत्तीर्ण एक जनाभन्दा धेरै पाउन सकेको छैन। विद्यालय भर्ना अभियान चलिरहे पनि ५५ परिवारको बसोबास रहेको यो सुकुम्बासी मुसहर बस्तीमा यसको प्रभाव छैन। ‘पछिल्लो भर्ना अभियान पनि बस्तीसँग जोडिन सकेको छैन’, स्थानीय घनश्याम घले गुरुङले भने, ‘यसअघि अभियान चलाउँदा बालबालिकालाई विद्यालयसम्म पुर्‍याइए पनि धेरैले पढाइ छाडे। किन छाडे भन्नेबारे अनुगमनसमेत हुन सकेन।’ पढाइमा के कुराले बाधा परेको छ र किन विद्यालय जान पाउँदैनन् भन्ने अध्ययन नभएको उनले बताए।

यो बस्तीमा १६ वर्षमुनिका ५० बालबालिका छन्। अधिकांशले कक्षा ५ सम्म पनि पढेका छैनन्। उनीहरू ४ कक्षामा पढ्दै गर्दा मजदुरी गर्न जाने गरेका छन्। बस्तीनजिकै श्रीलाल र बुद्ध आधारभूत विद्यालय छन्। १० मिनेट पैदल हिँड्दा ज्योति मावि पुगिन्छ। यी विद्यालयमा एक जनाभन्दा बढी मुसहर बालबालिकाले ५ कक्षा उत्तीर्ण गरेको तथ्यांक छैन।

सुन्दरहरैंचा–५ का वडासदस्य एवं श्रीलाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम घिमिरेले भर्ना अभियान मुसहरमा केन्द्रित रहेको दाबी गरे। ‘बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन घर–घरमा गएर जानकारी दिँदै छौं’, उनले भने, ‘छोराछोरीलाई स्कुल पठाउन अभिभावकलाई आग्रह गर्दै छौं।’ अभिभावकले नै काममा लगाउने गर्दा बालबालिका विद्यालय नजाने गरेको उनले बताए। विद्यालयमा निःशुल्क पढ्नेले पनि अक्षर चिनेपछि छाड्ने गरेका छन्।

रुदाई ऋषिदेवका अनुसार मुसहर समुदाय जमिनविहीन छन्। उनीहरू सुकुम्बासी बनेर खोलाको डिल र सार्वजनिक जग्गामा बसेका छन्। बाढी आउँदा वा कुनै विपत्ति आइपर्दा विस्थापित हुनुपर्छ। ‘हाम्रो बसाइ नै अस्थायी छ’, उनले भने, ‘कसरी छोराछोरीलाई पढाउने ? ’

धेरै अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना नभएको उनले बताए। मजदुरी गर्नुपर्ने भएकाले उमेर नपुग्दै धेरै बालबालिका घाँसदाउरा गर्न, अर्काको ट्र्याक्टरमा काम गर्न र गाडीमा ड्राइभर बन्न जाने गरेको उनले बताए। अधिकांशले दैनिक दुई सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

अधिकारकर्मी उमेश विश्वकर्माले स्थानीय तहले पनि पिछडिएको दलित समुदायलाई विद्यालयसम्म पुर्‍याउन पहल नगरेको बताए। भने, ‘आर्थिक अवस्था कमजोर भएकाले छोराछोरी पढाउनुभन्दा श्रममा लगाउँछन्।’

सुन्दरहरैंचा–५ का वडाध्यक्ष रामप्रसाद रिजालले मुसहर समुदायको शैक्षिक स्तर उकास्नका लागि भर्ना अभियानसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको दाबी गरे। ‘बालबालिकालाई विद्यालय भर्ना गर्ने गरिए पनि त्यसमा अभिभावक बाधक बनिरहेका हुन्छन्’, उनले भने, ‘तर, बालबालिकालाई पोसाक र शैक्षिक सामग्रीको व्यवस्था गरेर नियमित विद्यालय जाने वातावरण बनाउने काम भइरहेको छ।’

मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले गरिबी सम्बोधन हुने कार्यक्रम सञ्चालन गरी बालबालिका नियमित विद्यालय जाने वातावरण बनाइने बताए। भने, ‘यसका लागि सामुदायिक अध्ययन केन्द्रसँग समन्वय गरी विद्यालय भर्नासँगै बीचमै पढाइ छाड्न नदिने कार्यक्रम ल्याउने अवस्थाको सिर्जना गरिनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.