शिक्षाको गल्तीले आएन छात्रवृत्ति

शिक्षाको गल्तीले आएन छात्रवृत्ति

धनकुटा : साविक जिल्ला शिक्षा कार्यालय (शिक्षा विकास तथा समन्वय इकाइ) धनकुटाले अपांगता भएका विद्यार्थीलाई आवासीय छात्रवृत्ति उपलब्ध नगराउँदा भरणपोषणमा समस्या भएको छ।

शिक्षा कार्यालयको त्रुटिका कारण आवासीय छात्रवृत्तिको शीर्षक परिवर्तन हुँदा ९ महिनादेखि अपांगता भएका विद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित भएका हुन्। छात्रवृत्तिबापतको रकम नपाउँदा स्रोतकक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई भरणपोषणमा समस्या परेको हो। सरकारले यस्ता विद्यार्थीलाई मासिक ४ हजार रुपैयाँ आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। जिल्लामा छात्रवृत्ति पाउने विद्यार्थी सय हाराहारी छन्।

जिल्लाका सात विद्यालयमा अपांगता भएका विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्था छ। शिक्षा कार्यालयले छात्रवृत्ति उपलब्ध नराउँदा उनीहरूको भरणपोषणमा समस्या परेको सदरमुकामस्थित मार्गेश्वरी प्राविमा रहेको सुस्त श्रवण स्रोत शिक्षक तथा प्रधानाध्यापक श्रवणलाल राईले बताए। यो विद्यालयमा २० जना बहिरा तथा सुस्त श्रवण विद्यार्थी अध्ययनरत छन्। नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै छात्रवृत्ति नपाइएको स्रोत शिक्षक राईले बताए।

‘दैनिक उपभोग्य सामग्री ल्याउने किराना पसलमा लाखभन्दा धेरै तिर्नुपर्ने भइसक्यो। अहिले आफ्नै तलबबाट भरणपोषण गरिरहेको छु’, उनले भने, ‘तलबबाट परिवार पाल्नु कि विद्यार्थी ? मलाई साह्रै समस्या भएको छ।’

धनकुटा सदरमुकामकै डुम्रे सान्नेस्थित मार्गादेवी विद्यालयमा पनि १० जना दृष्टिविहीन विद्यार्थी छन्। उनीहरूलाई विद्यालयमा आवासीय सुविधा छ तर अहिले छात्रवृत्तिबापतको रकम नपाउँदा आफ्नै तलबबाट भरणपोषण गरिरहेको प्राधानाध्यापक तथा स्रोत शिक्षक यज्ञप्रसाद दाहालले बताए।

‘पैसा आउने आसमा आफ्नै तलब खर्च गरें तर अहिलेसम्म आएको छैन’, उनले भने, ‘शिक्षा कार्यालयबाट आइहाल्छ भन्ने मात्र आश्वासन पाइन्छ।’

धनकुटा नगरपालिका मूलघाटस्थित कौशिका आधारभूत विद्यालयमा नौ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीलाई आवासीय सुविधासहित राखिएको छ। आर्थिक अभावका कारण यी विद्यार्थीलाई भरणपोषणमा समस्या परेको स्रोत शिक्षक रोहिणी पाण्डेले बताए। शिक्षा कार्यालयबाट पैसा उपलब्ध नहुँदा किराना पसलबाट उधारोमा दैनिक उपभोग्य वस्तु ल्याएर भरणपोषण गरिरहेको उनको भनाइ छ।

हिले माविका १३ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थीलाई पनि पसलबाट उधारोमा सामान ल्याएर भरणपोषण गरिरहेको स्रोत शिक्षक टंक थापाले बताए। ‘पसलेले सधैं उधारो दिँदैन’, उनले भने, ‘त्यसैले आफ्नो तलबले नपुगेर ब्याजमा ऋण लिएर भरणपोषण गरिरहेको छु।’

उत्तरपानीस्थित आधारभूत विद्यालयमा बौद्धिक अपांगता भएका ३० भन्दा बढी विद्यार्थी छन्। तर, आवासीय छात्रवृत्ति उपलब्ध नहुँदा जेनतेन विद्यार्थीलाई भरणपोषण गरिरहेको शिक्षिका कमला दाहालले बताइन्। अब स्रोत कक्षा सञ्चालन गर्न छाड्ने स्थितिमा पुगेको मार्गेश्वरीका प्रधानाध्यापक राईले बताए। ‘आफ्नो जायजेथा सकेर विद्यार्थीको भरणपोषण गरियो, अब थेग्न सक्ने स्थिति छैन’, उनले भने, ‘छात्रवृत्तिको रकम उपलब्ध नभए नसक्ने स्थितिमा पुग्यौं।’

९ महिनासम्म पनि आवासीय भत्ता नपाउँदा स्रोतकक्षा सञ्चालन गर्न समस्या परेको शिक्षकको भनाइ छ। उनीहरूका अनुसार विद्यार्थीलाई खाना दिएर मात्र हुँदैन, दैनिक आवश्यकीय वस्तु ल्याइदिनुपर्छ।

जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले फारम भर्दा गल्ती भएकाले आवासीय छात्रवृत्ति रकम निकासामा ढिलाइ भएको बताए। ‘विभागमार्फत सच्याउनुपर्ने भएकाले कार्यालयबाट सच्याउन पठाइसकिएको छ’, उनले भने, ‘रकमान्तर गर्न मैले पहल गरिरहेको छु। शीर्षक परिवर्तन हुनेबित्तिकै छात्रवृत्ति उपलब्ध गराउँछौं।

धनकुटा सदरमुकामको डुम्रे सान्नेस्थित मार्गादेवी विद्यालयमा दृष्टिविहीन स्रोतकक्षाका विद्यार्थी। फोटोः हरिबहादुर लम्जेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.