कमलको जरा बिक्रीबाट लाखौं आम्दानी
रुकुमकोट : रुकुमपूर्वको रुकुमकोटमा अवस्थित कमल दहमा पाइने नेपालमै दुर्लभ मानिने कमलको जरा बिक्रीबाट यस वर्ष मात्रै स्थानीयहरूले लगभग आठ लाख रुपैयाँ आम्दानी गरेका छन्। गत फागुन २७ देखि यही वैशाख ९ गतेसम्म निकालिएको जरा बिक्रीबाट यति धेरै अम्दानी भएको कमलको जरा बिक्रीको जिम्मा पाएका स्थानीय ठेकेदारले बताएका छन्।
सिस्ने गाउँपालिका ६ मा पर्ने कमल दहबाट हरेक वर्ष फागुन अन्तिमदेखि वैशाखको मध्यसम्म कमल जरा निकाल्न सकिन्छ। यसअघिका वर्षहरूमा जसले पनि कमल निकाल्न पाउने र यसका लागि कुनै शुल्क नलाग्ने व्यवस्था भए पनि यस वर्षदेखि भने स्थानीय सरकार सिस्ने गाउँपालिकाले एक पटक कमल निकालेको पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेपछि पहिलोपटक कमल तालको आम्दानी गाउँपालिकामातहत आएको छ।
स्थानीय दीपक शाहीले तालमा कमल निकाल्नेबाट शुल्क उठाउने ठेक्का पाएका थिए। यसका लागि उनले गाउँपालिकालाई अग्रिम ८० हजार बुझाइसकेको बताएका छन्। शाहीका अनुसार फागुन २७ देखि वैशाख १० गतेसम्म तालबाट कमल निकाल्न खुला गरिएको थियो। चैत ९ गतेसम्म सरदर प्रतिदिन पाँच जनाले कमल निकाल्ने गरेका र एक जनाले सरदरमा दैनिक पाँच हजार आम्दानी गर्ने गरेका शाहीले बताए। यसरी सरदर हिसाब गर्दा जम्मा ३९ दिनमा स्थानीयले गरेको आम्दानी जोड्दा लगभग १० लाख कमलको जरा बिक्री भएको छ। यद्यपि यसको बास्तविक हिसाब भने राखिएको छैन।
जन्डिस रोगको औषधि हुने विश्वास गरिएको कमल किन्न विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन्।
तालमा पौडिँदै खुट्टाले कमल भएको स्थान थाहा पाएपछि डुबेर त्यसको जरा अथवा डाठ निकालिन्छ र उक्त कमललाई बिक्री गरिन्छ। स्थानीय जनक विकले बिदाको समयमा आफूहरूले हरेक वर्ष कमल निकाल्ने गरेको र यसबाट राम्रो आम्दानी पनि हुने गरेको बताए। ‘स्कुल बिदा भएको बेला हामी दैनिकजसो कमल निकाल्नै व्यस्त हुन्छौं’, उनले भने, ‘दैनिक पाँचदेखि सात हजारसम्म कमाइ हुन्छ। भने, ‘कहिलेचाहिँ योभन्दा थोरै पनि हुन्छ। सरदर हामी दैनिक पाँच हजार जति कमाउँछौं।’
जन्डिस रोगको औषधि हुने विश्वास गरिएको कमल किन्न रुकुमपूर्व–पश्चिम जिल्लाका साथै छिमेकी जिल्लाबाट समेत ग्राहकहरू आउने गरेका छन्। तालबाट निकालेलगत्तै ताल छेउमै पुगेर ग्राहकहरूले किन्ने भएकाले यसको छुट्टै बजार अहिलेसम्म आवश्यक परेको छैन। प्रतिकिलो चार सय रुपैयाँमा पाइने भनिए पनि कमल निकालेकासँगको बार्गेनिङमा जति पनि मूल्य पर्न सक्ने भएका कारण कमल महँगोमा किन्नुपरेको ग्राहकको गुनासो छ। कमलको यो जरालाई उसिनेर वा भुटेर अचार अथवा तरकारीको रूपमा प्रयोग गर्ने गरिएको छ भने यसलाई चाना बनाएर घाममा सुकाएपछि वर्षैभरि अचारको रूपमा खान सकिन्छ। यहाँको कमल विदेशसम्म पनि पुगेको छ। यसैका कारण पनि रुकुमपूर्व चिनिएको पनि कतिपय बताउँछन्।