भारतीय दूतावासको सम्पर्क कार्यालयमा विप्लवको बम, दुईजना पक्राउ

भारतीय दूतावासको सम्पर्क कार्यालयमा विप्लवको बम, दुईजना पक्राउ

किशोर बुढाथोकी

विराटनगरः विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बम विष्फोट गराएको पुष्टि भएको छ । 

पार्टीले विष्फोटको आधिकारिक जिम्मा नलिए पनि प्रहरी अनुसन्धानले घटनामा नेकपाको संलग्नता पुष्टि गरेको हो । 

विराटनगर महानगरपालिका–१३ स्थित दूतावासको सम्पर्क कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा यही वैशाख ३ गते राति ८ः१५ बजे प्रेसर कुकर बम विष्फोट भएको थियो ।

विष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुग्नुका साथै स्थानीय देवकान्त झाको घरको झ्यालको सिसा फुटेको थियो । 

प्रहरीले विष्फोटमा संलग्न भएको भन्दै नेकपाका जिल्ला नेतासहित दुई जनालाई पक्राउ गरेर सोमबार बम विष्फोटन सम्बन्धी मुद्दा गर्दा गर्न म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । 

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अुनसार मोरङको बेलबारी नगरपालिका–४ का ४२ वर्षीय युगेन भनिने उदय राई र ताप्लेजुङ थुकिमा ७ का ३४ वर्षीय भीम लिम्बूलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकामध्ये राई नेकपाको मोरङ सेक्रेटरी र लिम्बू कार्यकर्ता भएको प्रहरीले जनाएको छ । विराटनगर–१ स्थित बाटोमा शंकास्पद अवस्थामा हिँड्दै गर्दा दुवै जनालाई आइतबार पक्राउ गरिएको जानकारी बिसीले दिए । 

पक्राउ परेकाहरुलाई अनुसन्धान गर्ने क्रममा बम विष्फोटमा नेकपाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । 

‘पक्राउ परेकाहरुले घटनामा आफ्नो पार्टीको संलग्नता स्वीकार गरिसकेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘बम विष्फोटमा कति जना संलग्न थिए भन्नेबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको छ ।’ घटनामा संलग्न भनेर नाम आएका नेकपामा आवद्ध अन्य व्यक्तिहरुको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

ठूलै क्षति पु¥याउने उदेश्यले बम राखिएको भए पनि विष्फोटबाट सामान्य क्षति मात्रै पुगेको र धनजनको ठूलो क्षति हुनबाट भने जोगिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीले घटना भएकै भोलीपल्ट पूर्व सांसद बाबुलाल पासवानलाई पनि पक्राउ गरेको थियो । 

माओवादीबाट सांसद बनिसकेका उनी अहिले नेकपामा आवद्ध छन् । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पूर्व सांसद पासवान विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको एसपी बिसीले बताए । 

उनले भने, ‘अहिलेसम्म विष्फोटमा पासवानको संलग्नता पुष्टि भइसकेको छैन । तर गहिरोरुपमा अनुसन्धान गर्ने काम भइरहेको छ ।’ 

प्रहरी उच्च स्रोतका अनुसार घटनास्थलको प्रकृति हेर्दा र भारतीय राजदूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरेर बम विष्फोट गराइएको पाइएपछि प्रहरीको अनुसन्धान ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीतिर त्यतिबेलै मोडिएको थियो । 

भारतीय पक्षलाई विशेष ‘थ्रेट’ मा राख्दै आएका कारण पनि विष्फोटको घटनामा प्रहरीले नेकपाको संलग्नता हुन सक्ने अड्कल काटेको थियो । प्रहरीका एक अधिकारीले भने, ‘पक्राउ परेका राई र लिम्बूले पार्टीका नाममा विष्फोटको योजना बनाउँदै घटनामा मुख्य भूमिका निर्वाह गरेको पुष्टि प्रारम्भिक अनुसन्धानबाट भएको छ ।’ 

एसपी बिसीले ‘विप्लव’ नेत्रृत्वको पार्टीमा रहेर राई र लिम्बूको अन्य घटनामा पनि संलग्नता रहेको खुलेको बताए । ‘बम विष्फोट, धाक धम्की, चन्दा आतंक लगायतका अन्य विभिन्न अपराधिक घटनामा पनि उनीहरु संलग्न रहेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ,’ उनले भने, ‘ठाउँ ठाउँमा बम राखेर पड्काउने गरे पनि उनीहरुको संलग्नतामा कुन कुन घटना भएको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।’ 

राई र लिम्बूकै नेत्रृत्वमा अन्य अपराधिक घटनाको योजना बनाउने काम पनि भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दावी प्रहरीले गरेको छ । 

भारतीय दूतावासको सम्पर्क कार्यालयमा विष्फोट गराए लगत्तै प्रहरीले जिल्लामा रहेका नेकपाका सबै नेता कार्यकर्ताको खोजी तीव्र पारेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउका लागि अभियान चलाइएको थाहा पाएपछि जिल्लाबाट पार्टीमा आवद्ध भएको भनेर नाम खुलिसकेका सबैजसो नेता कार्यकर्ता भूमिगत बनेका छन् ।

 ‘घरघरमा र उनीहरु बस्ने ठाउँको समेत पहिचान गरेर पक्राउ गर्ने योजना अनुरुप प्रहरीको विशेष टोली परिचालन गरिएको थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘तर त्यसको सुइँको पाउन साथ सबै नेता कार्यकर्ता भूमिगत भइहालेछन् ।’ मोरङमा नेकपामा आवद्ध भएको भनेर नाम खुलेका धेरै नेता कार्यकर्ता प्रहरीको खोजी सूचीमा रहेको उनले बताए ।
 
भूमिगत बनेपछि उनीहरुको गतिविधी प्रहरीको पहुँच कम भएको ठाउँमा बढेको पाइएको एसपी बिसीले बताए । ‘प्रहरीको उपस्थिती कम भएको ठाउँमा उनीहरुको ‘मुभमेन्ट’ बढेको पाइयो,’ उनले भने, ‘अहिले जिल्लाका सबै ठाउँमा प्रहरीको उपस्थिती बलियो बनाएर खोजी तीव्र पारिएको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.