पत्नीपीडित पतिहरुको कथा: घर सम्पत्ति सबै गुम्यो, ज्यान पनि गयो

पत्नीपीडित पतिहरुको कथा: घर सम्पत्ति सबै गुम्यो, ज्यान पनि गयो

सुरुङ्गा, झापा: विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयम् निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो-उनलाई थाहै नदिई पत्नीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । 

चर्को घाम-गर्मी, भोक-तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट पर सात समुन्द्रपारि ती पुरुषले बिताएका १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीविकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो । 

१९ वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी थप धन कमाउन र परिवारलाई सुखसयलसँग पाल्न भन्दै पुनः इराक पुगे । 

पछि अफगानिस्तानमा रोजगारीमै रहेका बेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, पत्नीले उनलाई आठ वर्ष अघि नै ‘डिभोर्स’ दिएकी रहिछिन् । भएको चल अचल सम्पत्ति पत्नीकै नाममा थियो । 

‘डिभोर्स’ गरे पनि उनले पतिलाई त्यो कुरा सुनाइनन् । पतिले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो बेला मात्र उनले थाहा पाए पतिले थाहै नदिई ‘डिभोर्स’ गरेकी रहिछिन् । उनका एक छोरी छन् । उनी आमासँगै बस्दै आएकी छिन् । 

पत्नीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिन अघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् । 

उनले भनिन्, 'पत्नीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौं । वास्तबमै उनी पीडित रहेछन् ।' 

न्यायिक समिति संयोजकसमेत रहेकी प्रसाईंले भनिन्, 'यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनु पूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो । उनको त्यही क्रममा मृत्यु भयो ।' 

बिर्तामोड नगरपालिका-९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका बेला श्रीमान्लाई थाहै नदिई पत्नी अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि पत्नीको नाममा रहेछ । 

बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईंले भनिन्, 'पतिले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछिन् । उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौं ।' 

'खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौं', उपप्रमुख प्रसाईंले भनिन्, 'मैले भनेका दुईवटा केस प्रतिनिधि घटना मात्रै हुन् । यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।' 

बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक मात्रामा परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झण्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी विदेश जाने पुरुषका छन् । 

कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन् । उपप्रमुख अधिकारीले भनिन्, 'वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ ।'

दमक नगरपालिकामा पत्नीको नाममा जग्गा भएकाहरु धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । 'वैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा पत्नी बेपत्ता बनेका र धन सम्पत्ति समेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौं', उपप्रमुख अधिकारीले भनिन् । 

पत्नी विदेश गएपछि नफर्किने र उतै अर्कैसँग विवाह गरेर घरजम गरेका र पति-पत्नीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरी पाउँ भनेर नगरपालिकामा केही उजुरी परेको बताइएको छ । 

दमक नगरपालिकामा अधिकाँश उजुरी अंश, साँध सिमाना, छोराछोरीले बुबाआमाको हेरचाह नगरेको र पुरुष हिंसाका उजुरी पनि धमाधम परिरहेको न्यायिक समिति संयोजक समेत रहेकी अधिकारीले बताइन्। 

'पुरुष पनि हिंसामा परेर न्याय माग्दै आएकामा दुई जनाको सम्बन्ध विच्छेदको सिफारिश नै गरिसकेका छौं', उनले भनिन् । रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.