घुम्टो खोलेर नेपाल आइडलमा

घुम्टो खोलेर नेपाल आइडलमा

धरान : सिरहा गोलबजारस्थित जम्दहमुसहर्नीको विपन्न समुदायमा शिक्षाको उज्यालो पुग्न सकेको छैन । त्यही विपन्न समुदायको अँध्यारोभित्र शान्ति सदाको जन्म भयो ।तराई-मधेसको परम्परागत बन्द परिवेशमा हुर्किएकी सदाले एक दिन आधुनिक सहरमा पुगेर धोको फुकाएर गीत गाउँछु भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर, नेपाल आइडलको दोस्रो सिजनका लागि अडिसन दिन उनी श्रीमान्सहित धरानको विष्णु मेमोरियल उच्च मावि आइपुगिन् । करिब एक हजार प्रतिस्पर्धीसँगै उनले आफ्नो प्रतिभा खुलेर देखाइन्। 

‘हाम्रो समुदायमा घरभित्र वा बाहिर सल र साडीको एक छेउले अनुहार छोपेर हिँड्ने चलन छ’, उनले भनिन्, ‘मेरा साथीहरू बजारसम्म पनि जान डराउँछन् तर म घुम्टो खोलेर गाउन हिँडेकी छु ।’

नौ वर्षअघि विवाह भएकी सदाका दुई सन्तान छन् । घरमा गृहिणीका रूपमा सन्तान स्याहारेर बसे पनि उनले मनभित्रको चाहना मारेकी छैनन् । सानै उमेरदेखि घरमा दिदी र आमाको सहयोग पाएर गीत गाउँदै हुर्किएकी सदाले बालक्लबमा आफ्नो क्षमता देखाउँथिन् । ‘हाम्रो समुदायमा केटी मान्छेले नाचगान गर्न सिके नराम्रो दृष्टिले हेरिन्छ’, उनले भनिन, ‘मेरो पनि कुरा काट्ने धेरै थिए, मैले अरूका कुरा वास्ता गरिनँ ।’

एपीवान टेलिभिजनले नेपाल आइडल गराउँदै छ भन्ने अघिल्लै साल सुनेकी हुन् उनले । तर, भर्खर संगीत विद्यालयमा भर्ना भएकी सदाले केही अभ्यासपछि मात्र प्रतिस्पर्धामा भाग लिने निचोड लिइकी थिइन् । गुरुदेव कामतसँग संगीत सिकिरहेकी उनले आफूभित्रको क्षमता निखारेर मात्र धरान आइपुगेको बताइन् । ‘मेरो मुख्य उद्देश्य जित्नु मात्र होइन, हाम्रो समुदायप्रति हेर्ने दृष्टिकोण बदल्नु पनि हो’, उनले भनिन् ।

‘हाम्रो समुदायमा केटी मान्छेले नाचगान गर्न सिके नराम्रो दृष्टिले हेरिन्छ’, उनले भनिन, ‘मेरो पनि कुरा काट्ने धेरै थिए, मैले अरूका कुरा वास्ता गरिनँ ।’

गीतसंगीतमा लाग्न उनलाई श्रीमान्सहित, सासू र देवरको सहयोग छ । उनले आफूलाई परिवारबाट सहयोग भए पनि आफूजस्तै अन्य क्षमतावान् महिला अवसरको पर्खाइमा रहेको बताइन् । उनले नेपाली मिडियाले लुकेको प्रतिभालाई उजागर गर्ने मौका दिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन् । ‘अल्पसंख्यक समुदायको आवाजलाई मञ्च दिनुपर्छ, दलित पिछडिएका समुदायको भावनालाई सम्बोधन गर्न पनि ठूला कार्यक्रमले सहयोग पुर्‍याउँछ’, सदाले भनिन् ।

नेपालमा पहिलोपटक एपीवान टेलिभिजनले आयोजना गरेको नेपाल आइडल, गायन क्षेत्रको विश्वस्तरीय रियालिटी सो हो । दोस्रो भागका लागि नयाँ प्रतिभा खोजी गर्न देशका विभिन्न सहरमा अडिसन भइरहेको छ । अडिसनमा विभिन्न क्षेत्रका फरकफरक समुदायका व्यक्तिको सहभागिता छ । पोखरा र काठमाडौँ अडिसन सकेर पोस्ट प्रडक्सनमा जाने कार्यक्रम साउन १० देखि प्रसारणमा जाने नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.