खेतीपाती गर्न बालबालिकाको भर
प्युठान : झिमरुक गाउँपालिका–१ बांगेमरोठ कपिलपाटा प्युठानका विकास घर्तीमगर १६ वर्षका भए। उनी कक्षा ११ मा पढ्छन्। घरका जेठो छोरा उनलाई सानै उमेरमा राम्रोसँग पढ्नुभन्दा खेतीपातीको पिरलो छ। हिजोआज गाउँघरमा मकै छर्न भ्याइनभ्याई छ। बाँझोबारी जोत्ने, बारीमा मल पुर्ने र मकै छर्ने काम उनकै काँधमा छ। ‘भाइ सानो छ’, उनले भने, ‘बुबा विदेश जानुभएको छ। चार वर्ष भयो खेतबारी जोत्ने मै हुँ।’ बारीमा मकै छरिसकेपछि मात्र पढाइ सुरु गर्ने उनको सोच छ।
विकास मात्र होइन, गाउँभरका धेरैजसो बालबालिका र वृद्धवृद्धाले खेतीपाती धान्ने गरेका छन्। युवा रोजगारीका लागि भारत र खाडीमुलुक जानेको संख्या बाक्लो छ। खनजोत गर्ने बेला गाउँमा खेताला पाइनै मुस्किल हुन्छ। सानै उमेरका बालबालिका, बुढ्यौली लागेका वृद्धवृद्धा र महिलाले गाउँको पहिचान बचाएका छन्।
खेताला नपाएकै कारण कतिपयले खेतबारी बाँझो राखेर बसेका छन्। ‘दुई भाइ छोरा विदेशमा छन्’, झिमरुक गाउँपालिका–४ बांगेमरोठकै गोरेबहादुर रोकाले भने, ‘घर व्यवहार चलाउने जिम्मा मेरै काँधमा छ।’ दुई÷चार वर्षमा छोरा घरमा आउने गरेको उनले जानकारी गराए। धेरैजसोका घरमा ज्यालादारीमा कामदार खोजेर बाली लगाउने गरेको उनको भनाइ छ। ज्यामीले दैनिक कम्तीमा पाँच सय रुपैयाँ ज्याला लिएर काम गर्ने उनले जानकारी दिए।
गाउँघरका युवाजति घर छाडेर जाने क्रम बढ्दै गएकाले खेतीपाती गर्न समस्या हुने गरेको स्थानीय भरतविक्रम जिसीले सुनाए। ‘गाउँका धेरैजसो युवा काम गर्न भारतमा गएका छन्। कोही अन्य मुलुकमा पनि छन्’, उनले भने, ‘भएकाहरू पढ्न बुटवल, काठमाडौं, दाङ गइसके।’ आठ÷नौ कक्षामा पढ्दै गरेका बालबालिकाले गाउँमा खेतीकिसानीको काम अवस्था रहेको उनले जानकारी गराए। ‘गाउँ छाड्ने क्रम पछिल्लो समय बढ्दै गएको छ’, स्थानीय शिक्षकसमेत रहेका जिसीले भने, ‘वैदेशिक रोजगारी रोक्न गाउँघरमै स्वरोजगारीका कार्यक्रम राज्यले ल्याउनुपर्छ।’
सामान्य घरखर्च चलाउन महँगो ब्याजदरमा ऋण खोजेर विदेश जाने क्रम गाउँमा अझै रोकिएको छैन। ‘आफैं लगानी गरेर राम्रो मुलुकमा जाने गाउँमा खासै छैनन्’, जिसीले भने, ‘खाडी मुलुकमै युवा पसिना बगाइरहेका छन्।’ गाउँघरमा सामाजिक काम गर्दा दक्ष युवा जनशक्ति अभाव खड्किने गरेको उनले अनुभव सुनाए। स्थानीय सरकारले युवामैत्री रोजगारीका कार्यक्रम सञ्चालन गरेर बढ्दो बेरोजगारी समस्यालाई कमी गर्नुपर्ने उनको सुझाव छ।
बालबालिका, वृद्धवृद्धा र महिलाको भरमा गाउँघर धानिएको गौमुखी गाउँपालिका ठूलोबेंसीका अध्यक्ष विष्णुकुमार गिरीले स्विकारे। गिरीले भने, ‘बर्सेनि युवा गाउँ छाड्ने क्रम बढ्दै जान थाल्यो। यसलाई रोक्न ठोस कार्यक्रम बनाएर अघि बढ्ने सोचमा छौं।’
पञ्चवर्षीय रणनीतिक योजना बनाउने तयारीमा रहेको जानकारी दिँदै उनले गाउँपालिकाभित्रका सम्भावनाको खोजी र विकास गरिने बताए। ‘अल्लो, हाते कागज, चिराइतो र जडीबुटीको यस क्षेत्रमा राम्रो सम्भावना छ’, गिरीले भने, ‘कृषि, वन, पर्यटन र ऊर्जाकै क्षेत्रमा बढी लगानी गरेर रोजगारी सिर्जना गर्ने वातावरण मिलाउनेछौं।’ सबैको साझा प्रयास र सहभागिता भएमा बढ्दो बेरोजगारी समस्यालाई कम गर्न सकिने उनको बुझाइ छ। पछिल्लो समय दुर्गम गाउँसमेत सडक सञ्जालले जोडिँदै गएपछि उत्पादन भएका वस्तुलाई बजारसम्म पु¥याउन समस्या नहुने गिरीले बताए।
पढ्दै गरेका बालबालिकाले खेती किसानीको जिम्मेवारी सम्हाल्दा उनीहरूको पढाइको स्तरसमेत खस्किँदै जान थालेको गिरीले बताए। ‘गाउँघरमा साँझसम्म पनि बालबालिका काम गरिरहेको देखिन्छन्’, उनले भने, ‘साँच्चिकै गाउँघरमा पीडादायिक अवस्था छ। जनप्रतिनिधिकै मुख्य जिम्मेवारी जनताकै जीवन परिवर्तन गर्नु हुनेछ।’ जिल्लाका अधिकांश गाउँमा सडक सञ्जाल पुगिसकेका छन्। निर्माण गरिएका सडकलाई निरन्तर सञ्चालन गर्न स्थानीय सरकारले विशेष पहल गर्ने र स्थानीय स्तरका वस्तुको बजारीकरण गर्न सके रोजगारीको अवसर सिर्जना गर्न सकिने सम्भावना देखिन्छ।
जिल्लाका नौ वटै स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि युवा रोजगार लक्षित कार्यक्रम ल्याउन नागरिक समाजका अगुवाको सुझाव छ। जिल्लाका दुर्गम गाउँमा हरेक क्षेत्रमा सम्भावना भएकाले उनीहरूको विकास एवं प्रवद्र्धनमा जोड दिनुपर्ने धेरैले सुझाव दिएका छन्। तामा, फलाम, ढुंगा, मार्बल, चुनढुंगालगायत विभिन्न खानी जिल्लाका विभिन्न क्षेत्रमा पहिचान भइसकेका छन्।