एसईई दिएका विद्यार्थीलार्इ अवसर
एसईई दिएका विद्यार्थी अहिले नतिजा प्रकाशित नहुँदासम्म छुट्टीको रूपमा समय बिताइरहेका छन्। हुन त ए लेबल पढ्ने कि प्लस टु अनि बृजकोर्स गर्ने कि आदि-आदि तयारी र सोचाइमा पनि लागेका छन्। घुम्न जाने, ट्रेकिङ जाने कार्यक्रम मिलाउने, संगीत, नृत्य या अन्य कुनै सीपमूलक तालिममा भाग लिने इच्छाले पनि सताइरहेका होलान्। यी सबै सोचाइको पछाडि सबै अभिभावक र नानीहरूको इच्छा हो- पढेर सकेपछि राम्रो जागिर खाने, स्वदेशमै होस् या विदेश गएर राम्रो जागिर खाएर टन्न पैसा कमाउने।
हाम्रो राष्ट्रिय गरिबी, व्यवस्थापनको गरिबी, स्रोतसाधनको उपयोगमा अज्ञानता, औद्योगीकरणको अभाव, रोजगारको अभाव र जीवन जिउने वैकल्पिक आधार नहुँदा विदेश पलायन हुने सोच राख्नु सामान्य हुन थालेको छ। कुन अभिभावकलाई इच्छा हुन्छ महँगो शुल्क तिर्ने ?
अभिभावकले नचाहँदा-नचाहँदै पनि महँगो शुल्क तिरेर विदेशी कोर्स भएका स्कुल पढाउनुको उद्देश्य पनि आफ्नो नानी विदेश नै जाओस् भन्ने इच्छा भन्दा पनि उसले भविष्यमा टन्न पैसा कमाओस् र सुखी जीवन बिताओस् भन्ने हो। हुन पनि हो बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म पैसाबिना कुनै काम चल्दैन। सहज र सरल अनि सुखपूर्वक जीवन जिउन पैसा नै चाहिन्छ। आफ्ना भौतिक आवश्यकता पूरा गर्ने आर्थिक सम्पन्नता नभएकै कारण हामीलाई पैसा नै सबैभन्दा ठूलो कमाइ हो जस्तो भ्रम परेको छ।
तर सामान्य आवश्यकता पूरा गर्ने पैसा भएपछि पनि मानिस सुखी छ त ? अवश्य छैन, किनकि मानिसको खोज सुख र पैसा मात्र होइन। सुख र दुःख सधैं आउँछन् र जान्छन्, यो निरन्तरता चलिनै रहन्छ। शिक्षा आर्जन गर्नु, आर्थिकरूपमा सम्पन्न हुनु, पद सम्मान हासिल गर्नु बाहिरी लक्ष्य हुन्। जीवनको वास्तविक खोजचाहिँ जुन कुरा अकाट्य छ र सधैं आफूभित्र छ त्यसमा रमाउनु हो। त्यो हो आनन्द, आफ्नो स्वभावमा जिउनु र आफूलाई जान्नु। यो शिक्षा आजका युवा नानीहरूलाई पनि दिनु जरुरी छ।
एसईई दिएका नानीहरुले वि श्रामपूर्ण समयलाई ध्यानमा बिताएर मन र हृदयलाई शान्त र सहज बनाई सिर्जनात्मक कलाको विकास गर्दा जीवनोपयोगी हुनेछ।
हाम्रा नानीहरूले कसरी शारीरिक, मानसिक, सामाजिक, नैतिक र आध्यात्मिक सबै आयामबाट सन्तुलित जीवन जिउन सक्छन् त्यो शिक्षा हामीले उनीहरूलाई दिनुपर्छ। जीवनमा आवश्यक भौतिक सम्पत्ति कमाउने र आफ्नो वास्तविक खोज के हो, त्यसको पनि बोध हुने सिकाइ र शिक्षा आजको आवश्यकता हो। एसईई दिएका किशोर अवस्थाका नानीहरूको उमेर र सोचाइअनुसारे मनोभावना बुझेर उनीहरूका इच्छालाई पनि आत्मसात गर्दै उत्प्रेरणा दिने समय पनि यही हो। आफ्ना अभिभावकको धारणा र इच्छा बुझ्ने समय पनि यही हो। यो अमूल्य समयलाई नयाँ आयामका रूपमा लिएर निम्न कुरा अवलम्बन गरेर बिताउन सक्छन्
आफूले सक्ने र रुचाएको विषय पढ्ने
हाम्रो समाजमा बाबाआमाले आफूले गर्न नसकेको कुरा छोराछोरीले पूरा गरिदिऊन् भन्ने चाहना हुन्छ। मेडिकल डाक्टर या इन्जिनियर बनून्, विज्ञान विषय पढून् भन्ने पहिलो प्राथमिकता दिइएको बुझिन्छ। यसमा नानीहरू आफैंले मेरो रुचि र खुबी यो विषय पढ्नमा छ भनेर खुलस्त रूपमा अभिभावकलाई बुझाउन सक्नुपर्छ। अभिभावकले पनि नानीहरूका इच्छा र खुबीअनुसारको विषय लिएर पढ्ने उनीहरूको इच्छामा साथ दिनुपर्छ। जे पढून्, जे गरून्, जे सिकून् त्यसमा विशेषज्ञता हासिल गरून् र ठूलो मानिस होइन असल सन्तान बनून् भन्ने इच्छा राख्नुपर्छ। धनी र ठूलो प्रख्यात व्यक्तिभन्दा हाम्रो घर, समाज र राष्ट्रलाई नै असल, इमानदार र संस्कारयुक्त व्यक्तिहरूको खाँचो छ।
सीपमूलक तालिमका लागि समय दिने
यो खाली समयमा नानीहरूले आफ्नो रुचिअनुसारका तर आफूलाई उपयोगी र त्यसले स्वयं आफूलाई, घरपरिवारमा र सबैलाई लाभ दिने खालको काममा तालिम लिँदा राम्रो हुन्छ। गाडी सिक्ने, कम्प्युटरमा अरू दक्खल राख्ने हो कि, नृत्य, संगीत, नाटक आदि-आदि। सकिन्छ भने मेसिनरी सामानको प्रयोग कसरी गर्ने, गाडी, मोटरबाइक बिग्रेमा त्यसको मर्मतसम्भार कसरी गर्नेजस्ता कुरामा तालिम लिँदा पनि उपयुक्त नै हुन्छ। किनकि अहिलेको समय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थामा र आफूले सवारी नचलाए पनि अभिभावकको सहयोगका लागि पनि यसले मद्दत गर्छ। बीच बाटोमा सवारी बिग्रेर धेरै दुःख पाएका घटना ताजै छन् हामीसँग।
परिवार र आफन्तजनलाई भेट्ने
अहिले हाम्रो परिवारको बनोट पहिले-पहिलेजस्तो संयुक्त परिवार नभएर एकल परिवार भएको छ।हाम्रा नानी आफ्ना बाआमा र दाजुभाइ या बहिनीसँग मात्र दैनिकी बिताएका हुन्छन्। हजुरबा-हजुरआमा, ठूला बा-ठूली आमाहरू र दिदीबहिनीहरूको संगत हुन पाएको हुँदैन। हजुरबा-हजुरआमा वृद्धहरूबाट संस्कार सिक्न पाएका पनि हुँदैनन्। कतिपय परिवारमा त बसाइ टाढा या कामको व्यस्तताले दाजुभाइका परिवारबीच वर्षौंसम्म भेट भएको हुँदैन।
नानीहरूले आफ्ना हजुरबा-हजुरआमाको प्रेम अनुभूति गर्न पाएका हुँदैनन्। फुपूहरू, आफन्तहरू को-को कहाँ छन् ,के नाता छ त्यो थाहा नपाउनेहरू पनि धेरै छन्। यो समयमा नानीहरू स्वयंले आफ्ना परिवार र नातेदारहरूलाई भेट्न जाने, प्रेम बाँड्ने, आशीर्वाद लिने र परिवार र इष्टमित्रबीचको सम्बन्धलाई निरन्तरता दिने एउटा सुनौलो अवसर बनाउनुपर्छ। आफ्ना अभिभावकसँग सोधेर आफ्ना परिवार र नातेदारको फोन नम्बरको सूची बनाउने। नजिक हुनेलाई भेट्ने र टाढा हुनेलाई फोनमार्फत कुरा गरेर आफ्ना कुरा राख्ने गर्नुपर्छ। यसले सम्बन्धलाई प्रेमपूर्ण बनाउनुका साथै पूर्णता प्रदान गर्छ र असल संस्कारको विकास हुन्छ।
विद्युतीय उपकरणको प्रयोग रचनात्मक काममा प्रयोग गर्ने
अहिले घरघरमा, सबै नानीहरूसँग कम्प्युटर, ल्यापटप, आइपड, आइप्याड, ट्याब्लेट, स्मार्ट फोनहरू हातहातमा छन्। यसको प्रयोगमा रोक लगाउने अवस्था छैन, अभिभावकको र रोक लगाउनु जरुरी नै पनि छैन। तर नानीहरूले सामाजिक सञ्जालका फेसबुक, ट्विटर, इन्स्ट्रा ग्राम, युटुब आदिमा फोटो र भिडियो अपलोड गर्ने मात्र होइन, त्यसबाट विभिन्न देशका भाषा सिक्ने, राम्राराम्रा ज्ञानवद्र्धक किताबहरू डाउनलोड गरेर पढ्ने र विभिन्न लाभदायक कुरा सिक्ने बानी बसाल्नुपर्छ।
सकारात्मक सोच बढाउने, उत्प्रेरणा दिने खालका भिडिओहरू हेर्नुपर्छ। अन्तर्राष्ट्रिय भूगोल, संस्कार, हावापानी, पोषणयुक्त खाना, रहनसहन, इतिहास आदिका बारेमा जानकारी लिन यिनै विद्युतीय उपकरणले मद्दत गर्छन् यदि यिनको सही तरिकाले प्रयोग गर्न जानेमा।
ध्यान र योग सिक्ने र प्रयोगमा ल्याउने
अहिलेका किशोर उमेरका नानीहरू कतिपय डिप्रेसन अर्थात् तनावमा जाने गरेको पाइएको छ। हाम्रो रहनसहन, वातावरण, खानपान, आचार, आहार र विचारले नानीहरूमा असर गरेको हुन्छ। त्यसले गर्दा पनि हिजाआजका नानीहरू छिट्टै तनावमा प्रवेश गर्दछन्। यो उमेरमा सिक्नलायक एउटा महत्वपूर्ण पक्ष ध्यान र योग हो। काँचो माटो जस्तो उनीहरूको यो उमेरमा ध्यान र योगको कला सिकाउन सके स्वयं नानीहरू र परिवारका सबैलाई सकारात्मक उपलब्धि हुनेछ। किनभने दैनिक जीवनको भागदौडले नानीहरूलाई पनि प्रभाव पारेको छ र उनीहरूको चित्त बहिर्मुखी भएर आफ्नो स्वकेन्द्रबाट धेरै टाढा पुगेका हुन्छन्।
दैनिक आधा घन्टा मात्र भए पनि ध्यान र योगाभ्यास गर्ने, प्रशस्त पानी पिउने गर्नाले शरीर र मन स्वस्थ हुन्छ। स्वस्थ शरीर र स्वस्थ मन भएपछि विचार पनि सकारात्मक हुन्छन्। मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र विस्तारै अशान्त बनाउँछ। ध्यानले नानीहरूलाई स्वकेन्द्रमा फर्काई मन र हृदयलाई स्थायीरूपमा शान्त र सहज बनाउँछ। ध्यान हामी सबैको सहज आन्तरिक स्थिति हो, जहाँ शरीर, मन र हृदय एक गहन वि श्रामपूर्ण, सरल र स्वाभाविक अवस्थामा रहन्छन्।
ध्यानस्थ अवस्थामा नानीहरूले आफैंभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने र एकाकार भई स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्छन्। ध्यानले व्यक्तिगत, पारिवारिक र पढाइमा पनि सहयोग पुर्याउँछ। एउटा ध्यानी व्यक्ति प्रेमले भरिपूर्ण, आफ्नो कर्मप्रति निष्ठावान् र कुशल व्यवहार सिकेको हुन्छ। त्यसर्थ ध्यान गर्न कुनै उमेर चाहिँदैन। यसले त व्यक्तित्व निखार्छ, कर्ममा कुशलता ल्याउँछ र पारिवारिक सम्बन्ध थप सुमधुर बनाउँछ। त्यसैले नानीहरूमा सिर्जनात्मक कलाको विकास हुन जरुरी छ।