माटोबिनै तरकारी खेती
तेह्रथुम : माटोबिनाको तरकारी खेती कत्तिको सम्भव होला ? माटोको प्रयोगबिना तरकारी उब्जाउ हुन्छ भन्ने सुन्दा पत्याउन पनि गाह्रो । सुन्दै अचम्म लाग्दो माटोबिनाको खेती भनेपछि पानीमा गर्ने हो कि हावामा गर्ने हो भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो ।
यस्तो अचम्म किसिमको खेती तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुलाका एक युवाले सुरु गरेका छन् । २६ वर्षीय अनिलकुमार नेपाल स्नातकोत्तरसम्मको पढाइ सकेर जागिरका लागी निकै भौंतारिए । त्यही सिलसिलामा केही विद्यालयमा अध्यापन पनि गरे तर उनका आवश्यकतालाई त्यो सानो जागिरले परिपूर्ति सकेन । वैदेशिक रोजगारीमा लाग्नुभन्दा आफ्नै ठाँउमा केही गर्ने सोच थियो उनमा । नयाँ र फरक किसिमको व्यवसाय गर्ने भन्दै विभिन्न ठाँउमा अनुसन्धानका लागि पुग्ने गर्थे उनी । निकै लामो खोज अनुसन्धानबाट माटोको प्रयोगबिना तरकारी खेती गर्ने निर्णयमा पुगे ।
नेपालमा यस्तो किसिमको खेती सुरु गरिएको तीन महिना भयो । माटोबिना उत्पादन भएका तरकारीहरू उनले बजारमा समेत लगेर बेच्न थालेका छन् । उनले नरिवलको जट्टा पेलेर बनाइएको ढुटो गमलामा राखेर तरकारी खेती गर्दै आएका छन् । ‘खेतबारीजस्तो खनजोत गर्नुनपर्ने, पानीको पनि बचत हुने भएकाले नमुनाको रूपमा यो खेती सुरु गरेको हो’, उनले भने । नेपालको चार पाँच ठाउँमा मात्र यस्तो खेती हुने गरेको र तेह्रथुममा भने यो नै पहिलो भएको उनले बताए ।
अनिलले गमलामै मुख्य गरी लिफ्ली भेजिटेबल, साग, धनिया, गोलभेडा, चाइनिज रायोलगायत तरकारी खेती गर्दै आएका छन् । ‘खेती सञ्चालन गरेको तीन महिना भयो, माटोबिनाको तरकारी खेतीमा च्याउ पनि पर्ने भएकोले च्याउबाट पनि राम्रै आम्दानी हुँदै छ’, उनले सुनाए । अन्य पातजन्य खेती तत्कालै उत्पादन हुने र बजारमा पनि चाँडै बिक्री हुने भएकाले यसलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनको भनाइ छ ।
कुनै प्राविधिक तालिम नलिई इन्टरनेटको माध्यममा आफ्नै खोज अनुसन्धानबाट यो खेती गर्दा राम्रो हुने उनले बताए । ‘गरे फाइदै फाइदा छ’, भन्छन्, ‘यसले व्यवसायीहरूको लागि एउटा गतिलो उदाहरण प्रस्तुत गर्छ ।’ यो खेतीका लागि नरिवलको जट्टा, गमला र पानी भए पुग्ने युवा कृषक नेपाल बताउँछन् । अप्ठेरोे भूगोलमा गर्न सकिने र मलिलो माटो आवश्यक नुहने बताउँदै उनी टनेल प्रयोग गरेर ग्रिन हाउस बनाई यो खेती हुने र ग्रिन हाउस प्राविधिक टिमले निमार्ण गर्ने बताउँछन् । अनिलले राष्ट्रिय युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सरकारको बिनाब्याज पाँच लाख ऋण लगानीबाट यो व्यावसाय सुरु गरेका हुन् । कामका लागि उनले अन्य आफूजस्तै १० युवाको एउटा समूह नै बनाएका छन् ।
युवालाई विदेश पलायन हुनबाट रोकेर स्थानीयस्तरमै स्वरोजगार बनाउनु आफ्नो लक्ष्य भएको उनले सुनाए । ‘गाउँघरमा भएका युवालाई उत्साहित गर्न निरन्तर काम गरिरहेको छु’, उनले भने, ‘परम्परागत खेती नै गर्नुपर्छ भन्ने छैन, नयाँ पुस्ताले नयाँ प्रविधि अपनाएर कृषिबाटै मनग्य आम्दानी लिन सकिन्छ ।’