कम्युनिस्ट एकता गर्न खोज्दा मदन भण्डारीको हत्या: प्रचण्ड
रौतहट: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् । 'अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ', उनले अगाडि भने ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेको बताउँदै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको पनि उनले बताए ।
दाहालले २०४६ सालदेखि नै कम्युनिस्टबीच एकताको कुरा सुरू भएको समेत बताए । कम्युनिस्टको एकता अघि बढिरहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको उनले दाबी गरे ।
‘यो एकताको बिषय सजिलो गरी भएको होइन', उनले भने, 'कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० जेठ ६-७ गते छलफल गर्ने कुरा हामीबीच भएको थियो', प्रचण्डले विगतको एकता प्रयास सम्झिँदै भने, 'तर उहाँको बीचमै (२०५० जेठ ३ गते) हत्या भयो ।’
शुक्रबार एकतालार्इ अन्तिमरूप
शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो ।अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ-आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।
अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनले बताए ।