फिल्ममा हिट घरबारमा फ्लप
खुलस्त संवाद
फिल्म निर्माणमा तीन दशक बिताइसकेका छविराज ओझालाई फिल्मकर्मीले ‘छवि बा’ भनेर सम्बोधन गर्छन्। ३० वर्षमा २३ फिल्म बनाउँदा फिल्मी करिअरमा सफल मानिएका ओझा वैवाहिक जीवनमा भने आफू असफल भएको स्विकार्छन्। फिल्मदेखि उनका जीवनका आरोह–अवरोहबारे उनीसँग रामकुमार डिसीले खुलस्त संवाद गरेका छन्।
हृष्टपुष्ट र फिट देखिनुभएको छ त ?
म २०२१ सालमा जन्मेको मान्छे। ५३ वर्षको भइसकेँ। त्यस्तो हृष्टपुष्ट त के हुनु ?
हेर्दा त त्यस्तै देखिनुहुन्छ। यो फिटनेसको रहस्य के हो ?
त्यस्तो खास केही छैन। पानी अलि बढी पिउँछु। धेरै पानी पिउँदा पेट सफा हुँदो रहेछ अनि स्वस्थ पनि भइने रैछ। सकेसम्म फाइबर भएको खाना खान्छु। बिहानको खाना टन्नै खान्छु। बेलुका चाहिँ अलि कम खान्छु।
तन्नेरी भएको महसुस गर्नुहुन्छ कि प्रौढ ?
५० वर्षसम्म त आफूलाई जवानै ठान्थेँ। अहिले अलि कमजोर महसुस गर्न थालेको छु। पहिलेभन्दा अचेल दौडधूप पनि कम गर्छु। 'म जे पनि सक्छु' भन्ने आँट पहिले थियो, अहिले त्यो कम हुँदै गएको छ।
फिल्म क्षेत्रमा तपाईंलाई 'छवि बा' भनेर सम्बोधन गरिन्छ। यस्तो सम्बोधन सुन्दा कस्तो लाग्छ ?
यो त मेरा लागि सम्मानको कुरा हो। म फिल्म क्षेत्रमा लागेको ३० वर्ष भइसक्यो। सरकारी जागिर खाएको भए रिटायर्ड भइसक्थेँ। तर, फिल्म क्षेत्रमा त्यस्तो हुँदैन।
तपार्इंको वैवाहिक जीवन उति सफल रहेन भन्न सकिन्छ ?
सकिन्छ। अहिलेसम्म २३ वटा फिल्म निर्माण गरिसकेँ। फिल्म उद्योगमा आफूलाई सफल नै ठान्छु। वैवाहिक जीवनको कुरा गर्दा म यसमा असफल मान्छे हुँ। मेरो सिनेमाको परिवार त राम्रो छ तर व्यक्तिगत परिवार ठीक छैन। यसो भन्नु ठीक होला– फिल्ममा त म हिट भएँ तर घरबारमा चाहिँ फ्लप भएँ।
आफैँले फिल्ममा 'डेब्यू' गराएका अभिनेत्रीहरूसँग बिहे गर्नुभयो। तर, कुनै पनि सम्बन्ध सफल भएन किन होला ?
फिल्म खेलुञ्जेलसम्म सबै कुरा ठीक हुन्छ। तर, बिहे गरेपछि बेठीक हुन थाल्छ। हामीबीच कुरा मिल्दैन।
किन ?
बिहेअघि उहाँहरूलाई लाग्दो हो– 'छवि ओझा सबथोक हो, यसले यति धेरै फिल्म बनाइरहेको छ, फिल्म इन्डस्ट्री नै हाँकेको छ।' बिहेपछि सामान्य देखिए हुँला। 'यो त समान्य मान्छे रहेछ, योसँग केही पनि रैनछ' लाग्दो हो। त्यसपछि कुरा मिल्न छोड्छ।
यसमा कमजोरी कसको ?
म सधैँ एकनासको मान्छे हुँ। म हिजो जे थिएँ, आज पनि उस्तै छु, भोलि पनि यस्तै रहन्छु। मुख्य कुरा उहाँहरूको सोचको हो। बिहे गरेर आएपछि उहाँहरूको रवाफमा परिवर्तन आयो।
बिहेअघि आफ्नोबारे सबै कुरा स्पष्ट भन्नुहुन्न ?
सबै कुरा बुझाएकै हुन्छु। लामो समय संगत गरेरै बिहे हुन्छ। मेरा तीन वटै बिहे मागी होइनन्। सबै प्रेम विवाह हुन्। तर, पछि आएर उहाँहरू बदलिनुहुन्छ। स्टार बन्नुहुन्छ। अनि, मेरो स्थान तल हो भन्ने सोच्नुहुन्छ, उहाँहरू।
एउटै पेशा भएकाले पो यस्तो भएको हो कि ?
यो पनि हुनसक्छ। मेरा कतिपय कुरा उहाँहरूलाई चित्त बुझ्दैनन्। मलाई पनि उहाँहरूका केही कुरा मन पर्दैनन्। कहिलेकाहीँ स–साना कुरामा पनि झगडा पथ्र्यो।
अभिनेत्री शिल्पा पाखरेलसँग तपाईंको बिहे भइसकेको हो ?
भएको छैन।
फिल्मकर्मीबीच त तपाईंहरूले गएको दशैँमा बिहे गरिसक्नुभएको चर्चा छ नि ?
त्यो हल्ला मात्रै हो। बिहे गर्ने भनेर शिल्पाजीको घरमा पनि कुरा भएको हो। हामी एकअर्कालाई मन पराउँछौँ। फिल्ममा पनि सँगै काम गरिरहेका छौँ। उहाँले मेरा चार वटा फिल्ममा काम गरिसक्नुभयो। शिल्पाजीको एक जना पण्डित हुनुहुन्छ। पण्डितले 'ग्रह नमिलेकाले अहिले बिहे गर्न मिल्दैन' भन्नुभएको छ। त्यसैले अहिलेलाई यो रोकिएको मात्रै हो।
तपार्इंको फिल्म आउने बेलामा बिहेको खूब चर्चा हुन्छ। फिल्म प्रचारका लागि तपाईं बिहेको कुरा उठाउनुहुन्छ भन्ने छ नि ?
बिहेको कुरा हामीले होइन, मिडियाले उठाउँछन्। हामी फिल्मको कुरा गर्न जाँदा ‘तपाईंहरूको मंगल (बिहे) चाहिँ कहिले ?' भनेर सोध्नुहुन्छ। त्यसको जवाफ दिँदा बिहेको कुरा निस्किहाल्छ। हामी यस्ता कुरा ल्याउन चाहन्नौँ, तर मिडिया ल्याउन चाहन्छ।
उसो भए बिहेको कुरालाई फिल्म प्रचारको अस्त्र बनाउनुभएको होइन ?
बिलकुल होइन। त्यसले फिल्म प्रचारमा केही पनि फाइदा गर्दैन। फाइदा नै नगर्ने कुरा कसरी प्रचारको अस्त्र भयो ? दर्शकलाई राम्रो फिल्मसँग सरोकार हुन्छ। निर्माता र नायिकाको बिहेसँग दर्शकलाई के मतलब ?
फिल्म क्षेत्रभन्दा बाहिरका मान्छेसँग बिहे गरेको भए सम्बन्ध टिक्थ्यो कि भन्ने लाग्दैन ?
त्यस्तो सोचेको छैन। मन पर्ने मान्छेसँग बिहे गर्ने हो। आफू जुन क्षेत्रमा हुन्छ, त्यही क्षेत्रका मान्छेसँग बढ्ता उठबस हुने हो। मेरो पनि बिहानदेखि बेलुकासम्म फिल्म क्षेत्रकै मान्छेसँग भेटघाट हुन्छ। त्यसैलै अरू क्षेत्रको खोजिनँ।
वैवाहिक जीवन असफल भइरहँदा तिक्तता महसुस हुँदो हो नि ?
फिल्म जस्तै पारिवारिक जीवन पनि सफल होस्, घर जाँदा श्रीमतीले चिया बनाएर देओस् भन्ने महसुस त भइहाल्छ नि। उमेर बढेपछि त्यस्तो झनै महसुस हुँदो रैछ। एउटा साथीको कमी महसुस भइराख्छ।
'पटक–पटक बिहे गरेर गल्ती गरेँ' भन्ने लाग्छ कि ?
मैले नचाहेर पनि धेरै बिहे गर्नुपर्यो, त्यो गल्ती हो। फिल्म क्षेत्रमा राम्रो गरे पनि पारिवारिक जीवन राम्रो नहुँदा मभन्दा बढी मेरी ९५ वर्षीया आमालाई टेन्सन छ। ‘छविले दुःख पायो’ भन्नुहुन्छ, उहाँ। अरूले पनि ‘तपाईंको घरबार चाहिँ बनेन है’ भन्छन्।
फिल्म क्षेत्रमा कसरी आइयो ?
म धरानमा जन्मेँ, हुकेँ र त्यहीँ पढेँ। मेरो घरनजिकै ‘शिव सिनेमा हल’ थियो। त्यो हल मालिकका छोराहरूसँग मेरो एकदमै घनिष्ट सम्बन्ध थियो। मलाई फिल्म हेरेको पैसा पनि लाग्दैनथ्यो। एउटै फिल्म छ–सात पटकसम्म हेर्थें। पढाइमा कमजोर थिएँ तर फिल्म हेर्न भनेपछि हुरुक्कै हुन्थेँ। त्यही हलनजिक मैले केही समय क्यान्टिन पनि चलाएँ। त्यसपछि केही समय हिन्दी सिनेमाको वितरण गरेँ। अनि, नेपाली फिल्मको वितरण हुँदै फिल्म निर्माणमा हात हालेँ।
फिल्म निर्माणमा अहिले 'छविराज ओझा' एउटा ब्रान्ड जस्तै भइसक्यो। यो बनाउन कत्तिको दुःख गर्नुपर्यो ?
मैले मेरो ऊर्जाशील उमेरको ३० वर्ष नेपाली फिल्म उद्योगमा बिताएँ। जस्तोसुकै परिस्थितिमा पनि निरन्तर फिल्म बनाइरहेको छु। ब्रान्ड त्यसकै प्रतिफल हो भन्ने लाग्छ।
निर्माताका रूपमा यति लामो समयसम्म टिक्नुको कारण के होला ?
फिल्म वितरण गरेरै यो क्षेत्रमा आएकाले मलाई 'दर्शकले कस्ता फिल्म रुचाउँछन्' भन्ने ज्ञान थियो। दर्शकको रुचि बुझेर फिल्म बनाएकाले मैले बनाएका प्रायः फिल्म चले। दर्शकले नै मलाई यहाँसम्म पुर्याएका हुन्।
फिल्म राम्रोसँग नबुझी आएकाले धेरै निर्माता डुबेका हुन् ?
हो। उनीहरू फिल्म उद्योगलाई नबुझेरै आए। नबुझेरै चाहिनेभन्दा धेरै खर्च गरे। फिल्म बनाउनु भनेको आफ्नो गोजीमा भएको पैसा खर्च गर्नु हो। सफल निर्माता बन्न खर्च भएको पैसा अरूको गोजीबाट झिक्न पनि जान्नुपर्छ।
फिल्म क्षेत्रमा आफ्नो तीन दशकको यात्रालाई फर्केर हेर्दा कस्तो लाग्छ ?
यो क्षेत्रबाट मैले धैरे कमाउन सकिनँ होला तर नाम कमाएको छु। मेरा पैसावाल साथीहरू भन्छन्– 'तँलाई पत्रिकामा देखेँ, टीभीमा देखेँ। हामीले धेरै पैसा कमाएर पनि केही गर्न सकेनौँ। तैँले राम्रो काम गरिस्।' मैले दर्शकको माया कमाएको छु।
तपाईंले डेब्यू गराएका कलाकार धेरै छन्। फिल्म उद्योगमा उनीहरू फैलिएको देख्दा कस्तो अनुभव हुन्छ ?
हो, धेरै कलाकार हुनुहुन्छ। उहाँहरूले यत्रो फिल्म उद्योेगलाई नै हाँक्नुभएको छ। मलाई 'फिल्म क्षेत्रको बा' भन्नुहुन्छ। आफ्ना छोराछोरीले राम्रो गरेको, नाम कमाएको देख्दा कुन चाहिँ आमाबाउ खुशी नहोलान् ?
अनि आफ्ना 'छोराछोरी'सँगको सम्बन्ध कस्तो छ नि ?
सबैसँग राम्रो छ। उहाँहरू सेलिब्रिटी भइसक्नुभएको छ। डिमान्ड पनि उच्च भएको छ। तर, मसँग उहाँहरू त्यसरी प्रस्तुत हुनुहुन्न। मलाई सम्मान गर्नुहुन्छ।
तीन दशकमा नेपाली फिल्ममा के—के परिर्वतन भएको पाउनुभयो ?
पहिले फिल्म कम बन्थे, तर फिल्म धेरै हेरिन्थ्यो। पहाडमा त्यति हल थिएनन्। शहरका ८० प्रतिशतले फिल्म हेर्थे। फिल्म नहेरे लाज हुन्थ्यो। अहिले फिल्म हेर्ने बानी ह्वात्तै घटेको छ। पहिले मनोरञ्जनका साधन एकदमै कम थिए। अहिले विकल्प धेरै छन्। यसले गर्दा पनि फिल्म हेर्ने बानीमा कमी आएको होला। तर, फिल्मको गुणस्तर भने अहिले बढेको छ।
समीक्षकहरूको भनाइ छ– तपाईंले धेरै फिल्म बनाउनुभयो तर राम्रा र स्तरीय बनाउनुभएन। हो ?
आफ्ना सबै कामकाज, तनाव छोडेर हलसम्म आएका दर्शकले मनोरञ्जन खोज्छ। मैले दर्शकले खोजे अनुसारकै मनोरञ्जन दिने फिल्म बनाएँ। ‘अफबिट’ फिल्म बनाउँदा व्यापार कम हुन्छ। अर्को पटक फिल्म बनाउन सक्ने गरी पैसा उठ्दैन। त्यस्ता फिल्म बनाउँदा मिडियाकर्मी र समीक्षकबाट ताली त पाइन्छ तर गोजी रित्तै हुन्छ।
यति धेरै फिल्म बनाएर के पाउनुभयो ?
व्यक्तिगत रूपमा भन्दा मैले दर्शकको माया पाएँ। थोरैले भए पनि ‘यो फिल्म बनाउने मान्छे हो’ भनेर चिन्नुहुन्छ। मेरा लागि यही खुशी र सन्तुष्टिको कुरा हो।