अंग्रेजी मोह र शिक्षण शुल्क

अंग्रेजी मोह र शिक्षण शुल्क

अंग्रेजी माध्यममा शिक्षा दिने नाममा सामुदायिक विद्यालयहरूले पनि निजी विद्यालयले जस्तै महँगो शुल्क लिइरहेको समाचार संवेदनशील छ । आम जनता शिक्षाको पहुँच बाहिर नपरून् भनेर संविधानमै आधारभूत तहको शिक्षा निःशुल्क हुने बन्दोबस्त गरिएको छ । सोही बन्दोबस्तअनुसार नै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिएको हो । सामुदायिक विद्यालयको स्थापना नै निःशुल्क शिक्षा प्रवाहका लागि भएको हो । निःशुल्क शिक्षा प्रदान गर्नकै लागि स्थापना गरिएका विद्यालयले अंग्रेजी माध्यमबाट शिक्षा दिने नाममा शुल्क लिनु सोचनीय छ ।

प्रजातान्त्रिक आन्दोलनको बीज रोपिइरहँदा नेपाली समाजमा शिक्षाको चेतना पनि प्रसार भएको थियो । सात सालपूर्व नै समाजका अगुवाहरूले सामाजिक सक्रियतामा उपलब्ध स्रोतसाधन परिचालन गरेर शिक्षालयहरू खोलेका थिए । सात सालको क्रान्तिपूर्व नै नेपालका विभिन्न स्थानमा खासगरी सहरहरूमा शिक्षालयहरू खुलेका थिए । सात सालको परिवर्तनले शिक्षाको चेतनालाई गाउँगाउँसम्म पुर्‍यायो । तर आरम्भमा सबै शिक्षालयहरू सामाजिक सुधारका प्रयत्न थिए । 

दानमा प्राप्त गरेको जग्गा, चन्दा र स्थानीय स्तरमा उपलब्ध काठपातजस्ता भौतिक सामग्रीको जुगाडमा समुदायहरूले आपूmलाई चाहिने शिक्षालय स्थापना गरेका थिए । शैक्षिक क्रान्तिको लहर फैलिरहेको तत्कालीन समयमा अघिल्लो पुस्ताले गरेको त्यो सत्प्रयास इतिहासका पानामा सधैं गरिमामय स्मृति बन्नेछ । तर उनीहरूको परिकल्पना शिक्षामै विभेद थिएन । राणाशाहीले आफ्ना सन्तान पढाउने र रैतीका सन्तानलाई निरक्षर राख्ने गरी गरेको विभेदविरुद्धको त्यो आन्दोलनको मर्म सबैलाई शिक्षा थियो ।

शैक्षिक आन्दोलनको त्यो मर्मलाई सम्बोधन गरेरै शिक्षालाई निःशुल्क बनाउनुपर्ने माग गरिएको हो । मागको केही हदसम्म सम्बोधन गर्ने गरी आधारभूत तहसम्म निःशुल्क शिक्षा भनी संविधानमा बन्दोबस्त गरिएको हो । तर सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाउने बहानामा शुल्क लिएको प्रसंगले प्रश्नहरू उत्पन्न गरेका छन् ।

सबैभन्दा पहिला उठ्ने प्रश्न हो- सामुदायिक विद्यालयले के आधारमा शिक्षण शुल्क लिइरहेका छन् ? के सामुदायिक विद्यालय कुनै पनि बहानामा शुल्क लिन छुट प्राप्त छन् ? के उनीहरूसँग शैक्षिक शुल्क लिएर कक्षा सञ्चालन गर्ने वैधानिकता छ ? शिक्षा ऐन र शिक्षा नियमावलीले सामुदायिक विद्यालयलाई शैक्षिक शुल्क लिने अनुमति दिँदैन । तर अंग्रेजी पढाउने बहानामा सामुदायिक विद्यालयहरूले शिक्षण शुल्क लिइरहेका छन् । यसले सरकारी तवरबाट नियमन र नियन्त्रणको कमी भएको देखाउँछ ।

सँगसँगै नेपाली समाजमा स्थापित भएको अंग्रेजी भाषालाई सर्वोपरि ठान्ने गलत चिन्तन पनि उजागर हुन्छ । उपनिवेशको विस्तारसँगै बेलायती साम्राज्यअन्तर्गत अंग्रेजी भाषाको प्रसार भएको हो । खासगरी लर्ड म्याकलेले सन् १८३५ मा शिक्षा नीतिलाई लिएर बेलायती संसद्मा प्रस्ताव पेस गरेसँगै बेलायती साम्राज्यअन्तर्गत औपनिवेशिक देशहरूमा अंग्रेजी शिक्षा दिन सुरु गरियो । 

त्यसको उद्देश्य थियो, एकैखाले भाषा र चिन्तन भएको समाज सिर्जना गर्नु, आफ्नो साम्राज्यको सेवा गर्ने कारिन्दाहरूको फौज तयार गर्नु । लामो समयको त्यो अभ्यासले अंग्रेजी भाषालाई प्रबल गुणयुक्त ठान्ने मानसिकताको निर्माण गरिदियो । एडवर्ड सइदजस्ता विद्वान्हरूले उत्तरऔपनिवेशिकको सिद्धान्त प्रस्तुत गरेर त्यो मानसिकता हटाउनुपर्नेमा जोड पनि दिए । यद्यपि त्यो मानसिकता अझै प्रबल छ भन्ने उदाहरण हाम्रा विद्यालयहरूले दिएका छन् ।

अंग्रेजी भाषा विश्व भाषाका रूपमा स्थापित भइसकेकाले यसलाई सामुदायिक विद्यालयमा पनि अनिवार्य विषय बनाइएको छ । भाषाविद्हरूका अनुसार कुनै एक भाषामा पारंगत मानिसलाई अर्को भाषा सिक्न धेरै समय पनि लाग्दैन । तर नेपाली समाजको मौलिक बुनोटबारे पढाइ हुने सामाजिक शिक्षाजस्तो विषय पनि अंग्रेजीमा पढाउने संस्कृतिको विकास भइसकेको छ । त्यसमाथि द्वैध शिक्षा प्रणालीले ‘हुनेखानेका छोराछोरी’ अंग्रेजी माध्यमका र ‘नहुनेका छोराछोरी’ नेपाली माध्यमका स्कुलमा भन्ने मानसिकता बनाइदिएको छ । जबसम्म यो मानसिकताकै खण्डन हुँदैन तबसम्म सामुदायिक विद्यालयमा शिक्षण शुल्कको बहानाबाजी चलिरहनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.