भर्ती भन्दै असुल्ने गिरोह पक्राउ
कोहलपुर : नक्कली शैक्षिक प्रमाणपत्र र परीक्षार्थी खडा गरी नेपाली सेनामा भर्ती गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । सेनामा भर्ना हुन न्यूनतम् आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, फिजिकल टेस्ट, दौड, बेरिङ चेक, स्वास्थ्य जाँच र लोक सेवाले लिने लिखित परीक्षा सबैमा नक्कली परीक्षार्थीलाई सहभागी गराई सेनामा भर्ती गराउने गिरोहका चार जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके बैजानाथ गाउँपालिका १ का टीकाराम बस्नेत, सोही ठाउँकै वसन्त विक र जनक विकका साथै सप्तरी घर भई सूर्योदय माविमा कार्यरत शिक्षक राजेश यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बस्नेत सेनामा भर्ती हुने युवा खोज्ने र परीक्षार्थीको प्रवेशपत्रमा अर्को व्यक्तिको फोटो टाँस्ने कार्यमा संलग्न भएको, विक परीक्षार्थीको मेडिकल गर्ने कार्यमा संलग्न भएको र यादवले कक्षा आठको नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पैसा असुल गर्ने जनक विकलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । विकले सेनामा भर्ती गराइदिने भन्दै दुई लाख ७५ हजार रुपैयाँ लिएको प्रारम्भिक बयानमा स्विकारेको इप्रका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । उनी सेनामा भर्ती हुने व्यक्तिका आफन्त पनि भएको खुलेको छ । सुर्खेत घर भएका एक निरक्षर व्यक्ति नेपाली सेनाको जवान पदमा भर्ना भई तालिम गर्दै गर्दा सेनालाई अयोग्य लागेपछि इलाका प्रहरी कार्यालयसँग अनुसन्धानका लागि सहयोग मागेपछि यो रहस्य खुलेको हो । ‘हस्ताक्षर पनि गर्न नजान्ने व्यक्ति भर्ना भएपछि शंका लागेर सेनाले सहयोग मागेको हो’, घिमिरेले भने, ‘सेनामा भर्ना भएका व्यक्तिलाई सैनिक ऐनअन्तर्गत कारबाही हुन्छ । गैरसैनिकका विषयमा अनुसन्धान गरी प्रहरीले मुद्दा चलाउँछ ।
सेनामा भर्ती गराउन प्रत्यक्ष संलग्न अन्य दुई व्यक्तिलाई समेत प्रहरीले खोजी गरिरहेको छ । लिखित परीक्षा दिने र फिजिकल टेस्ट गरिदिने व्यक्तिको खोजीमा भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त बस्नेतले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा फिजिकल र बेरिङबापत ६० हजार, लिखित परीक्षाको ३० हजार, नक्कली कागजातका लागि १७ हजार पाँच सय, स्वास्थ्य जाँचबापत १० हजार रुपैयाँलगायत भर्नाका विभिन्न तहअनुसार पैसा असुल गरेका थिए ।
भर्नाका लागि सुरुमा सक्कली परीक्षार्थीकै नाममा फारम भर्ने गरे पनि फिजिकल, स्वास्थ्य जाँच, लिखित परीक्षामा फरक–फरक व्यक्ति संलग्न गराएर घरै बसीबसी सेनामा भर्ती गराइएको थियो । सेनामा भर्ती हुने व्यक्ति सबै तहका परीक्षामा पास भएपछि अन्तर्वार्तामा मात्र सहभागी भएका थिए । शैक्षिक कागजात र सेनाको लोगो अंकित छाप उनीहरूले नक्कली बनाएर काम गरेको भेटिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । बस्नेतको घरबाट सेनाको नक्कली छाप पनि प्रहरीले बरामद गरेको छ ।
भर्ना भएका व्यक्ति रुपन्देहीमा सैनिक तालिम गरिरहेका छन् । उनलाई भने सैनिक ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई सरकारी छाप किर्ते गरेको र संगठित अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।