पूर्वका गाडीमा अझै सिन्डिकेट
धरान : सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरे पनि प्रदेश १ का अधिकांश जिल्लामा व्यवसायीले स्वरूप परिवर्तन गरी झन् कडा बनाएका छन् ।
सुनसरी, मोरङ, झापा र उदयपुरका यातायात व्यवसायीले प्रदेशभर सञ्चालन भएका सार्वजनिक यातायातमा पालो प्रणाली कायम गरेका छन् । काँकडभिट्टा, धरान, विराटनगर, इटहरी, गाईघाट, चतरालगायत स्थानबाट सञ्चालन हँुदै आएका ५ हजारभन्दा बढी सार्वजनिक यातायातका साधनमा व्यवसायीले समयतालिकाअनुसारको पालो प्रणाली लागू गरेका हुन् ।
कोसी बस व्यवसायी संघ, सप्तकोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात व्यवसायी संघ, संयुक्त यातायात व्यवसायी संघले धरानबाट देशभर चल्ने यातायातका साधनमा अझै सिन्डिकेट लगाएका छन् । व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिए पनि ट्राफिक प्रहरी रमिते बन्ने गरेको संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजमले बताए । भने,‘सर्वसाधारणको यात्रामा अवरोध गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ ।’
धरानबाट सञ्चालन हँुदै आएका ५ सय बस दैनिक समयतालिका निर्धारण गरी गन्तव्यसम्म छुट्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयबाट रुट पर्मिट लिएर सञ्चालन गरिएका गाडी निर्वाध सञ्चालन हुन सकेका छैनन् । यहाँका चारै संघले संस्थामा गाडी दर्ता गरे मात्र निर्वाध सञ्चालन गर्न दिने नत्र अवरोध गर्ने गरेको मोरङका गाडी व्यवसायी राजु श्रेष्ठले बताए । भने, ‘धरानका यातायात व्यवसायीले सिन्डिकेट प्रणालीलाई निरन्तरता दिइरहे पनि स्थानीय प्रशासनले कारबाही नगर्नु लाजमर्दो भएको छ ।’
यात्रुलाई अचानो बनाएर बस व्यवसायीले मनोमानी गर्ने गरेको धनकुटाका श्रीकुमार लिम्बूले बताए । भने, ‘सिन्डिकेट लाद्ने व्यवसायीलाई कडा कारबाही हुनुपर्छ ।’ यातायातका साधनलाई प्रतिस्पर्धामा सञ्चालन गर्न दिइनुपर्ने उनको भनाइ छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले सिन्डिकेट नभई समय मिलाएर आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए । संघीय प्रहरी कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले सरकारको निर्देशनविपरीत सिन्डिकेट लगाएर यात्रुलाई दुःख दिने व्यवसायीलाई कडा कारबाही गरिने बताए । भने, ‘सरकारले लिएको नीतिविपरीत काम गर्नेलाई कारबाही हुन्छ ।’
झापाबाट सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा कन्काई व्यवसायी संघ, मेची बस व्यवसायी संघ र मेची यातायात संघले सिन्डिकेट लगाएका छन् । सुनसरी र मोरङबाट पहाडी जिल्ला जाने बस सञ्चालनमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघ, पूर्व नेपाल यातायात संघ, सिद्धकाली यातायात संघको सिन्डिकेट छ । उदयपुरबाट हिमाली यातायात बस व्यवसायी संघ, सगरमाथा यातायात संघले सिन्डिकेटलाई निरन्तरता दिएका हुन् ।