विपल्वका जनसरकार प्रमुख पक्राउ
गाईघाट : प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकारलाई प्रहरीले ५ महिना पछि पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य उदयपुरगढी गाउँपालिका ५ का जितबहादुर पुलामी मगरलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो ।
मगरलाई त्रियुगा नगपालिका ७ चुहाडे कालीखोला क्षेत्रबाट विशेष सुराकीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डिएसपी मेघराज अधिकारीले जानकारी दिए । उनका अनुसार मगर विद्युतीय धराप थाप्ने मुख्य योजनाकार हुन् ।
प्रहरीको रेकर्डमा मगरले काँग्रेस उमेदवार कार्कीलाई लक्षित गरी २०७४ मंसिर १३ गते उदयपुरगढी गाउँपालिका ६ नेपालटार दनुवारबेसीमा विद्युतीय धराप थापी अङ्गभङ्ग बनाएका थिए । कार्कीसँगै ९ जना घाइते भएका थिए । घाइते कार्की काठमाण्डौँको अस्पतालमा उपचारपछि शुक्रबार (हिजो) मात्र डिस्र्चाज भई घर फर्केका थिए ।
त्यसैगरी २०७४ मंसिर १२ गते त्रियुगा नगरपालिका ७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उमेदवार हिमाल कार्कीको घरमा बम विस्फोट गराएकोसमेत मगरलाई आरोप छ ।
प्रहरीको रेकर्डमा मगर विभिन्न समयमा बम विस्फाेट गराएर क्षति पुर्याएको, गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उमेदवारलाई लक्षित गरी बिद्युतीय र बम पडकाएको जस्ता रेकर्ड छन्,’ डिएसपी अधिकारीले भने, ‘गएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ ।’जनसरकार प्रमुख मगरलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्र्तगतको मुद्दा चलाएको छ ।