के के भयो कांग्रेसको एक महिना लामो बैठकमा ?
देउवामाथि खनिए नेता
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको महिना दिनसम्म चलेको बैठक शनिबार सकिँदैछ । चैत ९ गतेदेखि सुरु यो बैठक ३६ दिनसम्म चलेको थियो ।
मंसिरमा भएको निर्वाचनमा नराम्ररी पराजित भएपछि पहिलो पटक बसेको यो बैठकमा सबै नेताको आलोचनाको तारो बनेका छन् सभापति शेरबहादुर देउवा ।
३६ दिनसम्म चलेको चलेको बैठकमा के के भयो त ? स्थानीय तथा संघीय निर्वाचनको समीक्षा गर्न बसेको यो बैठक लामो समय चल्यो । तर पनि यो बैठकमा सभापति देउवाको आलोचना बाहेक कांग्रेस अन्य ठोस निचोड र उपलब्धी गर्न सकेन ।
बैठकमै हिलो छ्यापाछ्याप
संघीय निर्वाचन सकिएको पाँच महिनापछि भएको बैठकले निर्वाचनमा पराजय बेहोर्नुको ठोस कारण पत्ता लगाएर कांग्रेसलाई नयाँ गति अगाडि अहम भूमिका खेल्ने आशा आमकार्यकर्ता गरेका थिए । तर कार्यकर्ता जब निराश भए तब नेताहरु एक अर्काबीच बैठकमै हिलो छ्यापाछ्यापमा र पाखुरा सुर्कासुर्कीमा लागे ।
धेरै नेताहरुले निर्वाचनमा पराजयको कारण सभापति देउवाको गलत रवैया भएको टिप्पणी समेत गरे । सबैभन्दा रोचक पक्ष भनेको १३ औँ महाधिवेशनमा देउवालाई सभापतिका लागि समर्थन गरेका कुलबहादुर गुरुङले त्यो निर्णय आफूले फिर्ता लिएको समेत घोषणा गरे ।
हारको दोषी देउवा ?
निर्वाचनमा भएको पराजयको समीक्षा भन्दा बैठक आरोप प्रत्यारोप र दोषारोपणमै सीमित भएको छ । गुट-गुटबीच आलोचना मात्रै होइन व्यक्ति व्यक्तिका आलोचना समेत भएका छन् । देउवा पक्षले पौडेल पक्षको आलोचना गरेको भने पौडेल र सिटौला पक्षले देउवा तथा उनको नेतृत्व प्रति आक्रोश पोखेका छन् ।
देउवा पक्षका नेताले हारको कारण वाम गठबन्धन नै प्रमुख भएको बताए भने अन्यले नेतृत्व र देउवाको अक्षमतालाई हारको प्रमुख कारण ठहर्याए । उनीहरुले देउवाकै काराण स्थानीय तथा संघीय निर्वाचनमा हार बेहोरेको पनि आरोप लगाए ।
बैठकमा हारको कारणबारे मिहिन र गम्भीर समीक्षा नभएको युवा नेताहरुले आरोप लगाएका छन् । सभापति देउवा विधानसम्मत नचलेको पौडेल र सिटौला पक्षको आरोप छ ।
भातृ संगठन लथालिङ्ग हुनु र पदाधिकारी चयन हुन नसक्नुको प्रमुख कारण देउवाको अक्षमता नै भएको उनीहरुको आरोप छ ।
'प्रतिपक्षको भूमिका समेत कांग्रेसले सशक्त रुपमा निर्वाह गर्न सकेको छैन । पराजय पछि कांग्रेस अझ शिथिल हुँदै गएको छ', नेता शेखर कोइरालाले बैठकमा भनेका थिए, 'हँसिया हथौडामा भोट हाल्न लगाएदेखि कार्यकर्तामा उत्साह हराएको छ । कार्यकर्ताको उत्साह बढाउने कुनै कार्यक्रम समेत कांग्रेसले ल्याउन सकेको छैन ।'
महाधिवेशन भएको २ वर्ष भइसक्दा समेत उपसभापति, महामन्त्री र सहमहान्त्रीको मनोनयन गर्न नसकेका देउवामाथि पौडेल र सिटौला दुवै गुटका नेता खन्निएका छन् ।
निर्वाचनमा नमिठो पराजयपछि देशव्यापी पुनर्जागरण अभियान थालेका युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर थन्क्याउने काममा मात्रै वर्तमान नेतृत्वले गरेको आरोप पनि देउवामाथि लागेको छ । प्रवक्ता बनेसँगै पुनर्जागरण अभियान ओझेलमा परेको भन्दै अन्य युवा नेताले चिन्ता जनाएका छन् ।
पदाधिकारी चयन अलपत्र
कांग्रेसको यही बैठकमा पदाधिकारी चयन हुने आकलन गरिएको थियो । तर देउवा र पौडल पक्षबीच भागबण्डा नमिल्दा पदाधिकारीको समेत चयन हुन सकेको छैन । अहिले देउवा पक्षमै पदाधिकारीको लागि मारामार छ । देउवा पक्षकै पदाधिकारीका आंकाक्षीहरु एकअर्कामा आरोप प्रत्यारोपमा लागेका छन् ।
उपसभापतिका दाबेदार रहेको गोपालमान श्रेष्ठ अर्का दाबेदार विमलेन्द्र निधिमाथि खनिएका छन् । दुवै उपसभापतिका आंकाक्षी हुन् । गृहमन्त्री रहँदा निधिको कृयाकलापले निर्वाचनमा कांग्रेसलाई क्षति पुगेको श्रेष्ठको आरोप छ । देउवासँग निधि भन्दा आफुलाई साखै लेखाउन श्रेष्ठले आफ्नै गुटका निधिमाथि आक्रोश पोख्न पछि परेनन् ।
गच्छदाको पाँच घण्टा
फोरम लोकतान्त्रिक छाडेर कांग्रेसमा फर्किएका विजयकुमार गच्छदारले समेत आफ्नो भूमिका खोजेका छन् । उनले बैठकमा भनेका छन्, ‘आफ्नै घर सम्झिएर फर्किएँ, जिम्मेवारी दिनु पर्यो।’उनी पनि उपभापतिका दाबेदार हुन् ।
गच्छदार कांग्रेसमा फर्किँदै उनलाई उपसभापति दिने चर्चा थियो । तर उनी पनि अहिले करिब जिम्मेवारीबिहीन भएर थन्किएका छन् । त्यहीकारण उनले देउवासँग सम्मानजनक भूमिका खोजिरहेका छन् । केन्द्रीय समिति बैठकमा गच्छदारले बिहीबार र शुक्रबार मात्रै करिब ५ घण्टासम्म बोलेका छन् ।
रामचन्द्रको आक्रोश
उता बैठकमा नेता रामचन्द्र पौडेलले देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै हारको जिम्मा लिन दबाब दिएका छन् । मंसिरको चुनावमा पराजित भएपछि समस्यामा परेका पौडेलले आफ्नो गुटलाई बलियो बनाउन खोजे पनि देउवामाथि दबाब दिन नसकिरहेका बेला बैठकमा उनी कडारुपमा प्रस्तु भएका हुन् ।
कांग्रेस कमजोर हुनुमा देउवा नै दोषी रहेको निचोड रामचन्द्रले निकालेका छन् । चार पटक प्रधानमन्त्री भएका देउवाको भन्दा कांग्रेस र आमजनतामा गणेशमानसिंहको सम्मान रहेको भन्दै उनले देउवाको कडा आलोचना गरे ।
पौडेलले देउवाप्रति आक्रमक हुँदै भनेका थि, 'तपाईँ ४ पटक प्रधानमन्त्री बन्नुभयो, पार्टी र देशका लागि के के गर्नु भयो ?' उनले विधान विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिबारे चाँडो निर्णय हुनुपर्ने र महासमिति बैठक जेठ मसान्तसम्म गर्नुपर्ने प्रस्ताव राखे ।
बैठकमा पौडेलले पेस गरेको लिखित पत्रको देउवा पक्षले आलोचना गरेपछि उनी अझ कडा रुपमा प्रस्तुत भएका हुन् ।
कुलबहादुर झन् आक्रोशित
अर्का वरिष्ठ नेता कुलबहादुर गुरुङले त बैठकमा देउवालाई १३ औँ दिएको समर्थन फिर्ताको लिएको समेत घोषणा गरे। उनले महाधिवेशनमा देउवालाई दिएको समर्थन र प्रस्ताव पनि दु:खपूर्वक फिर्ता लिएको घोषणा गरे । गुरुङ १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार देउवाका समर्थक थिए ।
सिटौला पनि खन्निए
पछिल्लो समय देउवाले वास्ता गर्न छाडेपछि अर्का नेता कृष्णप्रसाद सिटौला पनि देउवाविरुद्ध खनिएका छन् । बैठकमा संस्थापन पक्ष सभापति देउवा र नेतृत्वको बचाउमा लागेको अवस्थामा पौडेल-सिटौला पक्ष भने विरोधमा उत्रिँदै कडारुपमा प्रस्तुत भए ।
युवाको छुट्टै माग
बैठकमा नेताहरु गगन थापा, चन्द भण्डारी, प्रदीप पौडेल र गुरुराज घिमिरे लगायतका युवाले ‘अर्ली’ महाधिवेशनको प्रस्ताव गरेका थिए ।
वर्तमान नेतृत्व असफल भएको भन्दै उनीहरुले अर्ली महाधिवेशनको प्रस्ताव गरेका हुन् । उनीहरुले कांग्रेस निर्वाचनको समीक्षा र कार्यदिशाबारेमा अवधारण प्रस्तुत गरे । तर उनीहरुको अवधारणप्रति न संस्थापन पक्ष नै गम्भीर देखियो न पौडेल पक्ष नै ।
२०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कांग्रेस नराम्रोसँग पराजित भएको थियो । पराजयसँगै केन्द्रीय र प्रदेश सरकारबाट पनि कांग्रेसले कम्तिमा ५ वर्षका लागि हात धुनुपरेको छ ।