संस्कृति बन्दै पाथीभरा
धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल पाथीभरामा पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको संख्या बढ्दो छ। ताप्लेजुङमा रहेको मुख्य पाथीभरासहित पूर्वका विभिन्न स्थानमा शाखा पाथीभराहरू स्थापना गरिएका छन्। यहाँका प्रत्येक पाथीभरामा वर्षैभरि मानिसको घुइँचो लाग्ने गर्छ। मुख्य पाथीभरा ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरिजंघा गाउँपालिकाको संगमस्थलमा रहेको छ। तीन हजार सात सय ९४ मिटरमा अवस्थित यो मन्दिरमा वार्षिक चार लाख पुग्ने गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिको तथ्यांकमा छ।
पाथीभरा दर्शनका लागि शरद र वसन्त उपयुक्त मौसम भए पनि बाह्रै महिना तीर्थयात्रीहरू गइरहन्छन्। पछिल्लो समय पाथीभरा बहुधार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गइरहेको छ। विभिन्न जाति, धर्म, संस्कार र सम्प्रदायका मानिसको आस्था पाथीभराप्रति चुलिँदो छ। मेचीदेखि महाकालीसम्म, भारतको सिक्किम, पश्चिमबंगाल, बिहार, उत्तरप्रदेश भुटान र बंगलादेशसम्मका तीर्थयात्रीहरू यहाँ आउने गर्छन्।
प्राकृतिक भ्युटावरको रूपमा समेत विकसित हुँदै गएको पाथीभरा डाँडाबाट उत्तरतर्फ चाँदी झैं टल्कने हिमशृंखला त्यसले बनाएका सुन्दर खोंच र गल्छीहरूको दृश्य मनमोहक देखिन्छ। कञ्चनजंघा र कुम्भकर्णलाई आँखैअगाडि साक्षात्कार गर्न सकिन्छ भने सगरमाथा, ल्होत्से, चोयु, मकालुजस्ता आठ अजार मिटर उचाइमाथिका हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। त्यस्तै फुङलिङ बजारसहित पाँचथर र इलाम, तेह्रथुम, संखुवासभा र सोलुका अधिकांश साथै भारतको सिक्किम र पश्चिम बंगालको विभिन्न भूभाग देखिन्छ।
प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेको छ। झापाको बिर्तामोडदेखि दुई सय ३७ किमि पक्की सडकको यात्रा गर्दा फुङलिङ बजार पुगिन्छ। फुङलिङबजारदेखि ट्याक्सीमा चार किमि पक्की र आठ किमि कच्ची हिँडेपछि काफ्लेपाटी पुगिन्छ। त्यहाँबाट मन्दिर पुग्न करिब तीन घन्टा पैदल हिँड्नुपर्छ। त्यहाँबाट कञ्चनजंघा राष्ट्रिय निकुञ्जको जंगलमा रोडान्डा, डाँफेलगायत दुर्लभ वन्यजन्तु हेर्दै उकालो चढ्दा बाटो काटेको पत्तै पाइँदैन। काठमाडौंबाट हप्ताको तीन दिन हवाईजहाजबाट पनि जान सकिन्छ।
पाथीभराको महत्व त्यहाँ अवस्थित देवीकै कारणले बढेको हो। आजभोलि सबैले पाथीभरा देवी भनेर चिन्छन्। ‘वास्तवमा पाथीभरा त्यहाँ अवस्थित देवीको नाम नभएर स्थानको नाम हो’, फुङलिङ- ७ का पण्डित देवीप्रसाद निरौला भन्छन्, ‘पाथी भर्दा चुलिए झैं गरेर चुलिएको हुनाले यस डाँडालाई पाथीभरा भनिएको हुन सक्छ।’ निरौला देवीको खास नाम र स्थापनाबारे कुनै खास लिखित प्रमाण नभएको बताउँछन्। किंवदन्तीअनुसार यी देवीको नाम ‘पञ्चकन्या रक्तकाली’ हो। यिनको उत्पत्तिको विषयमा पनि किंवदन्तीलाई नै आधार मान्नुपर्ने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका पूर्वअध्यक्ष मित्रलाल पौडेल बताउँछन्।
परापूर्वकालमा त्यहाँ एउटा भेडीगोठ रहेको र भेडाको संख्या हजारौं भएको गोठमा गोठालाहरूको संख्या पनि थुप्रै थियो। गोठ सार्दै लैजाने क्रममा गोठालाहरू डाँडा (अहिले मन्दिर भएको छेउ) मा पुगेका थिए। नजिकैको पोखरीमा लगेर भेडाहरूलाई पानी खुवाएका र मध्यदिनमा पानी खाएपछि गोठाला तन्द्रामा भुलेका थिए। ब्युझिँदा सबै भेडा हराएका र दुई दिनसम्म खोज्दा कतै नभेटिएको किंवदन्तीमा उल्लेख छ। गोठालाहरू सपनामै देवीको दर्शन भएका र भेडा बलि दिने वाचा गरेपछि भोलिपल्ट बलि चढाइएको र सबै भेडा भेटिएको थियो। तत्पश्चात् देवी उत्पन्न भई पूजा सुरु भएको विभिन्न पुस्तकहरूमा उल्लेख छ।
किराँती मान्यताअनुसार पाथीभराको प्रसंग मुन्धुम दर्शनमा पनि जोडिन आउँछ। किराँतीहरू पाथीभरालाई ‘मुलुमलुङमा’ भन्छन्। लेखक राजेश्वर थापाका अनुसार महाभारतकालमा मुकुमलुङमा (पाथीभरा) रहेको पहाडी शृंखलामा ‘रिसिङ’ नाम गरेका लिम्बु ऋषि तपस्या गरेर बसेका थिए। महाभारतको युद्धपछि राजा युधिष्ठिरले आयोजना गरेको महायज्ञमा सिरिङ ऋषिलाई लिन भीमसेनलाई पठाइएको थियो। भीमसेनले त्यहीं युमा (देवी) को दर्शन पाएको थापाद्वारा लिखित पुस्तक ‘पावन पवित्र मुकुमलुङमा’ उल्लेख छ।
यसले पनि युमाको प्राकट्य स्थल पाथीभरा नै हो भन्ने प्रस्ट हुन्छ। बौद्धमार्गीहरू पनि पाथीभराप्रति अगाध आस्था राख्छन्। शेर्पाहरूले पाथीभरालाई ‘रक्ता सेदिङ्मा’ तथा ‘मजिलाम्टामा’ भनेर देवीको रूपमा मान्ने गर्छन्। सुख, शान्ति, आयु, आरोग्यको कामना गरेर पूजापाठ गर्नुका साथै ‘आचार्य गुरु पद्मसम्भव’ को मन्त्र लेखिएको पताका पाथीभरामा टाङ्ने गरिएको जिग्डोल लामाको भनाइ छ। भन्छन्, ‘पाथीभरा अब मन्दिर वा दर्शन गर्ने आधार मात्र नभएर संस्कृतिको रूपमा विकास हुन पुगेको छ।’
पाथीभरा दर्शनका लागि धेरै पहिलेदेखि राजा-महाराजाहरू आए। अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी आउने गरेका छन्। पाथीभरा दर्शनका लागि सबैभन्दा पहिला आउने उच्चपदस्थ व्यक्ति बबरसमशेर रहका स्थानीय बताउँछन्। बबरसमशेर हिँडेरै पाथीभरा पुगेका ७८ वर्षीय वीरबहादुर भट्टराई बताउँछन्। उनीसँग सेनाका जर्नेलसहित सरकारी अधिकारी आएका भट्टराईको तर्क छ। यीबाहेक ताप्लेजुङ, पाँचथर र तेह्रथुमका तीर्थयात्री र स्थानीयहरू मात्रै पाथीभरा जान्थे। पहिला-पहिला पाथीभरा दर्शन गर्न जाँदा गुन्द्रीदेखि, सिरक, भाँडा, दालचामल आफैं बोकेर लैजानुपर्थ्यो।
गोठमा बस्नुपथ्र्यो। गोठमा नअटे ओढारमा र रूखको फेदमा आ श्रय लिनुपथ्र्यो। तर अहिले होटलहरू प्रशस्त खुलेका छन्। खान र बस्न समस्या छैन। बाटोको स्तरोन्नति गरिएको छ। पाथीभरा प्रवद्र्धनका लागि दुईवटा समिति क्रियाशील छन्। २०४३ सालमा समुदायस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समितिले पूर्वाधार विकास र प्रचार-प्रसारको काम गरिरहेका छन्।
पूर्वमा पाथीभरा संस्कतिकै रूपमा विकास भएको छ। एकपटक पुग्नै पर्ने ठाउँको रूपमा पाथीभरा स्थापित हुँदैछ। पाथीभरा दर्शनपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ। धेरैले पाथीभरा दर्शन गरेपछि विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको बताउने गर्छन्। पाथीभराको कृपाले नै आफ्नो व्यवसाय फस्टाएको इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य बताउँछन्। भन्छन्, ‘पाथीभरामा मानिसको दुःख हरण गर्ने अद्वितीय शक्ति छ।’ विराटनगरका व्यापारी शम्भु रौनियार पनि पाथीभरामा अलौकिक शक्ति रहेको विश्वास गर्छन्। भारतको पश्चिम बंगालका प्रवक्ता अरुण सेठ्ठी र गोर्खाल्यान्ड आन्दोलनका विमल गुरुङ नियमित पाथीभरा दर्शन गर्न आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईको भनाइ छ। पाथीभरा आएपछि मात्र राजनीतिमा सफल भएको बताउने गरेको भट्टराईको भनाइ छ। विवाह गरेको ११ वर्षसम्म पनि सन्तान नभएको र पाथीभरा दर्शनपछि सन्तान भएको फुङलिङ- ३ का ईश्वर बरालले अनुभव सुनाए। भने, ‘माताकै आशीर्वादले सन्तान सुख प्राप्ति भयो।’ दर्शनपछि धेरैको दीर्घरोग निको भएको मन्दिरका पूजारी डिल्ली आचार्य दाबी गर्छन्।
पाथीभराको लोकप्रियताकै कारण पूर्वका विभिन्न जिल्लामा शाखा पाथीभरा मन्दिरहरू पनि स्थापना गरिएका छन्। मुख्य पाथीभरा जान नसक्नेले त्यहाँ पूजा गर्छन्। इलामको कुटीडाँडा, झापाको चारआलीमा स्थापित पाउ पाथीभरा, तेह्रथुमको हरिसे, वसन्तपुर, टुटे देउराली, संखुवासभाको चौकीबजार, सिद्धेश्वरीमा पनि पाथीभरा मन्दिर स्थापना गरी दर्शन गर्ने क्रम बढेको छ। यी सबै ठाउँबाट ताप्लेजुङको मुख्य पाथीभरा रहेको ठाउँ देख्न सकिन्छ।
पाथीभराले जिल्लाको परिचय मात्र दिएको छैन, पर्याप्त आम्दानीसमेत दिएको छ। लिम्बु संस्कृतिको बाहुल्य रहेको यो ठाउँमा चौरीका छुर्पी, कोदोका तोङ्बा, बोकाका मासु र अर्गानिक सागसब्जीमा रमाउन पाइन्छ। यहाँ आउनेले होटलदेखि घरेलु सामानमा समेत खर्च गर्छन्। सदरमुकाम-सुकेटार हुँदै पाथीभरा क्षेत्रमा खोलिएका चियापसलदेखि किराना पसल दर्शनार्थीमै निर्भर छन्। ‘पाथीभरा प्रत्यक्ष-परोक्ष रूपमा जिल्लावासीको आम्दानी बनेको छ’ होटल व्यावसायी संघ ताप्लेजुङका अध्यक्ष दिनेश खवास भन्छन्, ‘पाथीभरा भएकैले धेरैको घरमा बिहान-बेलुकीको चुलो बल्छ।’
पाथीभरा भएकै कारण सामान्यतः एकजनाले औसतमा दिनको दुई हजार खर्च गर्ने गरेको पाइएको छ, त्यो पनि गाडीभाडा र होटल खर्च मात्र। यीबाहेक दर्शनार्थीले इच्छाएर गरेको किनमेलको तथ्यांक कहींकतै छैन।
दर्शनार्थीलाई लक्ष्य गरी सबैभन्दा बढी होटल र सवारीसाधनमा लगानी गरेको पाइएको छ। करोडभन्दा धेरै रकम लगानी गरेर होटल सञ्चालन गरेका जंग सुनुवार भन्छन्, ‘होटलमा लगानी गर्नुको मुख्य कारण नै पाथीभरा हो।’ होटल तथा गाडीमा लगानी बढेसँगै रोजगारको अवसर खुल्न थालेको छ। ‘वर्षौं विदेशमा पसिना बगाइयो। तर घरलाई होटलको आकार दिएसँगै आम्दानीको स्रोत बन्यो’, सुकेटारका रुद्र तिवारीले भने, ‘घर-व्यवहारदेखि छोराछोरीको पढाइ खर्च कटाएर वार्षिक १० लाख जति बचत हुन्छ।’ संवद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीका अनुसार पाथीभरा जिल्लावासीको भविष्यसँग जोडिएको छ। अहिले मन्दिरवरिपरिको वन क्षेत्रलाई धार्मिक वन बनाउन पहल भइरहेको छ।
भालुगौंडेबाट मान्दिरसम्म केबुलकारको अध्ययन सम्पन्न भई निर्माण चरणमा रहेको छ। प्राकृतिक सौन्दर्य र जैविक विविधताको खानी यस क्षेत्रको थप विकासका लागि गुरुयोजना बनाएर काम गरिने कार्कीले बताए।