हराउँदै फेरी लाउने चलन

हराउँदै फेरी लाउने चलन

बिर्तामोड : 

फेरी लगाएर जीविकोपार्जन गर्दै आएका पूर्वका जोगी समुदायलाई अहिले पेसा र संस्कृति धान्न धौधौ परेको छ। रातको समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र आनासुकी संकलन गरी जीविकोपार्जन गर्दै आएका यो समुदायका नयाँ पुस्ताले यसलाई निरन्तरता दिन छाडेका छन्।

यो पेसालाई अहिलेको पुस्ताले निरन्तरता नदिँदा संस्कृति नै लोप हुने चिन्ता लाग्न थालेको तेह्रथुम फेदापस्थित जोगी गाउँका ६१ वर्षीय बुद्धिबहादुर जोगीको गुनासो छ। उनी अहिले पनि आफ्नो पेसा र संस्कृतिलाई जगेर्ना गर्न भन्दै हिमाल, पहाड र तराई चहारिरहेका हुन्छन्।

झापाको बिर्तामोड आइपुगेका बुद्धिबहादुरले उमेरमा जंगली जनावर बराँठको सिङ फुक्दै (जसलाई फेरी भनिन्छ) डुलेको क्षण झलझली सम्झना आउने सुनाए। त्यही यादले आफूलाई घरमा टिकाएर राख्न नसकेको उल्लेख गर्दै उनले अहिले पनि झापाका विभिन्न स्थानका घर–घरमा रातको समयमा फेरी लगाउन र दिनमा तिनै घरमा गएर दान थाप्न हिँडिरहेको बताए। उनलाई नाति २२ वर्षीय चन्द्रबहादुरले साथ दिएका छन्।

‘यो नातिले त साथ दिएको छ, हाम्रो समुदायका युवाले अहिले यसरी हिँड्न छाडे’, बुद्धिबहादुरले भने, ‘युवाले साथ नदिएपछि पेसा, संस्कार र संस्कृति धान्न पनि धौधौ पर्‍यो। अहिलेका पुस्ताले परम्परा नधान्लान् भन्ने चिन्ता धेरै छ, अरू त के नै चिन्ता हुनु र ? ’

फेरी लगाउँदै डुलेर अन्न, नुन, तेल र आनासुकी संकलन गरी जीविकोपार्जन गर्दै आएका जोगी समुदायका युवाले यसलाई निरन्तरता दिन छाडेका छन्।

तेह्रथुमकै ओयाक्जुङका साबिक ५, ७, ८ र ९ वडामा रहेका जोगी समुदायका वृद्धमध्ये केहीले यो पेसालाई अँगालेका छन् भने केही युवाले मात्र साथ दिएको स्थानीय कृष्ण जोगीले बताए। ‘रातको समयमा फेरी लगाउँदा गाउँ, सहर डुल्ने र उज्यालो भएपछि ती घरबाट अन्न, नुन, तेल र आनासुकी पैसा संकलन गरी जीविकोपार्जन गर्नुको मज्जा पनि बेग्लै हुन्छ’, उनले भने, ‘मलाई त यो पेसा र संस्कार नै ठीक लागेर हजुरबुवाहरूलाई साथ दिइरहेको छु।’

उनका अनुसार अघिल्लो पुस्ता साउन, भदौ, असोज, कात्तिक र चैत गरी वर्षको पाँचपटक नेपालमा फेरी लगाउँदै डुल्छन्। बाँकी समय भारतका सिक्किम, गान्तोक, मणिपुर, दार्जिलिङ, खर्साङ, कालिङपोङलगायत ठाउँ पुगी तीन–चार महिनामा फर्किने पाका पुस्ताको दिनचर्या अहिले पनि उस्तै रहेको उनले बताए।

भारतीय भूमिमा फेरी लगाउँदा कमाइ राम्रो हुने र फर्किएर आउँदा लत्ताकपडासहित अन्य घरायसी प्रयोजनका सामान ल्याउँदा परिवार चलाउन सहज हुने यो समुदायका वृद्ध बताउँछन्। ‘हामी फेरी लगाउन निस्किएपछि केही महिनासम्म गाउँमा आईमाई, केटाकेटी मात्र हुन्थे’, बुद्धिबहादुरले विगत सम्झिए।

छोरा, नातिले फेरी लगाउने पेसा सम्हाल्न नमानेपछि पहिचान नै लोप हुने अवस्थामा पुगेको जोगी अगुवाको गुनासो छ। युवाहरू फेरी लगाउनुभन्दा बरु वैदेशिक रोजगारीमा जाने तथा अरू नै पेसामा लागेपछि यो समुदायको पहिचान संकटमा परेको बिर्तामोड नगरपालिका पाथिभरा टोलका यदुनाथ भण्डारीको बुझाइ छ।

यो समुदायमा विवाहपछि परिवार छुट्टिँदा अंशका रूपमा फेरी लगाउने बराँठको सिङ दिने चलन थियो। अभिभावकले बराँठको सिङ दिँदै भन्थे, ‘पुख्र्यौली पेसा नछाड्नू, फेरी लगाएर जीविकोपार्जन गर्नू।’ अंशका रूपमा फेरी लगाउने सिङ पाउने धेरैले पेसा नै त्याग्दै लगेको बुद्धिबहादुरले बताए। युवाले लाज मान्नु, पेसाबाट आत्मसम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरि काम नपाउनु, आकर्षक कमाई नहुनुलगायत कारणले यो पेसा अँगाल्न नमानेको उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.