नारायणी नदीमाथि एक अर्ब लागतमा सिग्नेचर पुल
चितवन: पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।
वि.सं. २०३८ सालमा बनेको यो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।
सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालिम दिन सुरु गरिसकेका छन् । महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सुन्दर पुल निर्माण गर्न लागेको हो ।
चीनका पुल विज्ञ डा. चेनले हाल महाशाखाका प्रविधिज्ञहरुलाई तालीम दिइरहेका छन् । पहिलो पुल नारायणी नदीमा निर्माण गर्ने योजना छ ।
प्रमुख थापाका अनुसार चारसय मिटर लामो यो पुल चार लेनको हुनेछ । अहिले भइरहेको पुलसँग जोडेर उत्तर वा दक्षिणतर्फ पुल बनाइनेछ । आउँदो आर्थिक वर्षभित्र पुलको डिजाइन सम्पन्न गरी अर्को वर्ष टेण्डर गर्ने तयारी छ । पाँच वर्षभित्र नयाँ पुल निर्माण गर्ने गरी काम अगाडि बढाइएको थापाको भनाइ छ ।
विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्न र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्न रुचि देखाएपछि काम अगाडि बढेको हो ।
देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ ।
नारायणी नदीमा पहिलो पुल निर्माण गर्ने तय भए पनि अन्य १० ठाउँको भने टुंगो लागि नसकेको उनले बताए । डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने बताइएको छ । तर पनि यो पुल बनाउन करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
नारायणी नदीमाथिको हालको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ । वि.सं. २०३८ साल अघि नारायणी नदीमा डुंगा र फेरीको सहयोगमा यातायातका साधन वारपार गराइन्थ्यो । रासस