थोपा सिँचाइले उत्पादन बढ्यो

थोपा सिँचाइले उत्पादन बढ्यो

 टीकापुर : कैलालीको पूर्वी क्षेत्रमा व्यावसायिक केराखेती गर्दै आइरहेका किसान माझ थोपा सिँचाइ प्रणाली लोकप्रिय बनेको छ। डिप बोरिङ गरेर निकालिएको पानीमा मेसिन जडान गरेर मसिनो पाइपको माध्यमबाट हरेक बोटमा थोपाथोपा गरेर सिँचाइ, औषधि र खाद्यतत्व पुर्‍याउन सकिने भएकाले यो प्रविधि लोकप्रिय बनेको हो।

खेती गरेको जमिनमा नियमित सिँचाइ पुर्‍याउन, औषधि र खाद्यतत्व मेसिनको माध्यमबाट सन्तुलित रूपमा सबै बोटमा पुर्‍याउन सकिने भएकाले यसतर्फ व्यावसायिक किसानको आकर्षण बढ्दै गएको हो। टीकापुर नगरपालिका वडा नं. ६ र ७ मा १२ बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका देवीराम कोइरालाले थोपा सिँचाइ प्रणालीले उत्पादन २५ प्रतिशत वृद्धि हुने दाबी गरे। उनले भने, ‘नियमित सिँचाइ र औषधि पुग्ने हुनाले उत्पादन २५ प्रतिशतसम्म वृद्धि भएको छ।'

२०५८ सालबाट व्यावसायिक केराखेती गर्दै आएका टीकापुरका विनोद शाहले दुई वर्षअघि झण्डै २० बिघा केराखेतीमा थोपा सिँचाइ गर्दै आइरहेका छन्। एक बिघा केरा सिँचाइ गर्न १० जना श्रमिक लगाउनुपर्ने बाध्यता झेल्दै आएका शाहले समय र श्रम दुवैको बचत हुने बताए। ‘यसबाट कम समयमा पूरै बारी सिँचाइ गर्न सकिन्छ, मलखाद्य पुर्‍याउन सकिन्छ', उनले भने। व्यावसायिक रूपमा खेती गर्ने किसानका लागि थोपा सिँचाइ निकै प्रभावकारी भएको छ।

कैलालीको पूर्वी क्षेत्रका दर्जनभन्दा बढी किसानले करिब एक सय बिघा क्षेत्रफलमा थोपा सिँचाइ प्रणालीबाट केराखेती गरेका छन्। २०७० सालमा टीकापुरका दीपेन्द्र शोसी चौधरी र रामबहादुर कुँवरले केराखेतीमा थोपा सिँचाइ प्रणाली भित्र्याएका थिए।

थोपाथोपा गरेर पानी, औषधि र खाद्यतत्व पुर्‍याउन सकिने भएकाले थोपा सिँचाइ लोकप्रिय बनेको हो।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमले समेत थोपा सिँचाइ प्रणालीमा कृषकलाई सहयोग गर्दै आएको छ। आयोजनाका कृषि आयाम संयोजक कुलप्रसाद तिवारीले कृषकलाई थोपा सिँचाइ प्रणालीमा ५० प्रतिशतसम्म अनुदान दिने गरेको बताए। यो प्रणालीले केरा उत्पादन वृद्धि भएको उल्लेख गर्दै तिवारीले भने,‘परम्परागत प्रविधिबाट सिँचाइ गर्दा एक बोटमा १०÷१२ दर्जन केरा फल्थ्यो भने यो प्रविधिले २८÷३० दर्जनसम्म फलेको हामीले देखेका छौं।'

किसान थोपा सिँचाइ प्रणाली लोकप्रिय बन्दै गएपछि केराका अतिरिक्त कागती र तरकारीखेतीमा समेत यो प्रणाली विस्तार गर्ने योजना रहेको तिवारीले बताए। केराखेतीमा थोपा सिँचाइ प्रणाली नेपालमै पहिलोपटक कैलालीमा सुरु गरिएको दाबी गर्दै तिवारीले अहिले देशका अन्य क्षेत्रका किसान समेत अवलोकनका लागि टीकापुर आउने गरेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.