एचआईभी संक्रमितमाथि विभेद
तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका २ दाङकी लक्ष्मी केसी (नाम परिवर्तन) एचआईभी संक्रमित भएको १४ वर्ष भयो। आफूलाई संक्रमण भएको थाहा पाएको दुई वर्षमा सार्वजनिक भएकी उनी लामो समयसम्म समाजमा टिक्न सकिनन्। उनीमाथि सामाजिक विभेद सुरु भयो। १० वर्षसम्म एचआईभीको सचेतना र समुदायका महिला पुरुषलाई संक्रमणबारे जानकारी गराउँदै आएकी केसी अहिले समाजिक सिकार भएकी छन्। ‘समाजले नकारात्मक रूपमा हेर्न थालेपछि समाजसँग लुकेर बस्ने अवस्था आएको छ', उनले भनिन्, ‘समाज परिवर्तन गर्छौभन्दा विभेदको सिकार हुनुपर्यो।'
लमही नगरपालिका ५ की कौशिला चौधरी (नाम परिवर्तन) एचआईभी संक्रमित भएको ७ वर्ष भयो। संक्रमित केटासँग विवाह गरेकी चौधरीलाई विवाह गरेको तीन वर्षपछि मात्रै आफू र लोग्ने एचआईभी संक्रमित भएको थाहा भयो। संक्रमित भएको जानकारीपछि सचेतना फैलाउन भन्दै सार्वजनिक भएकी उनी पछिल्लो समय सबै छोडेर समाजबाट टाढिनुपरेको छ। ‘संक्रमितको पहिचान लिएर गाउँ, जिल्ला हुँदै राष्ट्रियस्तरमा परिचित भएँ', उनले भनिन्, ‘समाजले घृणित व्यवहार देखाउन थालेपछि लुकेर बस्नुपरेको छ।'
चार÷पाँच वर्ष सचेतनामा लागेकी चौधरी अहिले पूर्ववत अवस्थामा फर्केर समाजदेखि टाढा छिन्। उनीजस्ता धेरै जना समाजमा खुलेका दाङका एचआईभी संक्रमित अहिले समाजबाट टाढिन थालेका छन्। सार्वजनिक भएर आफूलाई बाच्नसमेत गाह्रो भएको भन्दै पुनः पहिचान लुकाउनुपर्ने अवस्थामा पुगेको संक्रमितको भनाइ छ। राज्यबाट ध्यान नहँदा र समाजमा अपहेलना र तिरस्कार बढ्न थालेपछि परिवार र सन्तान सुरक्षाका लागि आफूहरू पुनः समाजबाट लुकेर बस्नुपरेको गुनासो गर्छन्। दाङमा तीन सय बढी एचआईभी सक्रमित रहेको तथ्यांक छ।
समाजलाई सचेतना दिने गरी अभियान सञ्चालन गरेर सार्वजनिक भएका एचआईभी संक्रमित समाजले परिवार र आफूप्रतिको नकारात्मक टिप्पणी गर्न थालेपछि गाउँबाटै विस्थापित भएर जानुपरेको संक्रमित धरणी योगीले बताइन्। ‘संक्रमितहरू खुला नहुनु र भएकाहरू पनि पछि हट्नुका थुप्रै कारण छन्', संक्रमित डुरुवाकी आँचल वली (नाम परिवर्तन) ले भनिन्, ‘मुख्य कारण समाज र परिवारभित्रको लाञ्छना र भेदभाव नै हो। यो अवस्था नहटेसम्म संक्रमितहरू समाजमा देखिनसक्ने अवस्था रहेन।' सार्वजनिक भएर १२ वर्षदेखि सचेतना अभियानमा लागे पनि बच्चाबच्ची र परिवारका लागि अहिले भूमिगत भएर बस्नुपरेको उनको गुनासो छ। ‘म र श्रीमान्का कारण बालबालिकालाई असर पर्न थालेपछि समाजबाट टाढा बस्न बाध्य भएकी हुँ। अहिले घर छाडेर बजारमा कोठा भाडा लिई लुकेर बसेकी छु', उनले भनिन्।
एचआईभी संक्रमित कविताले जिल्लामा आएका संस्थाका कारण सार्वजनिक भएको भए पनि सार्वजनिक अवस्थामै टिक्न सक्ने वातावरण नरहेको बताइन्। ‘समुदायमा सचेतमा लागियो, तर अहिले संस्था हरायो समाजले पनि विभेद गर्न कम गरेन र छाडेन', उनले भनिन्, ‘बाध्य भएर घरभित्र बस्नुपरेको छ। अहिले अरू काम गरेर खाऊँभन्दा पनि संक्रमित भएकैले काम नपाउने अवस्था छ। बालबालिकालाई समेत विद्यालयबाट निस्कासन गर्ने अवस्था आएको छ।'
धेरै एचआईभी संक्रमित सुरक्षाका कारण पहिचान लुकाउन बाध्य छन्। संक्रमितसँग काम गरिरहेकी सामुदायिक कार्यकर्ता भगवती पुरी भन्छिन्, ‘समाजबाट नकारात्मक रूपमा परिवारका सदस्यमा त्यसको प्रत्यक्ष असर देखिन थालेपछि यो अवस्था आएको हो।' जिल्लामा अहिले १८ वर्षमुनिका १९ बालबालिका र उनीहरूको शिक्षामा समेत समस्या परेको छ। एचआईभी संक्रमितले परिवार सञ्चालनमा समस्या भएको भन्दै संक्रमितका परिवारलाई रोजगारीको व्यवस्था गरिदिन माग गरेका छन्।
बालबच्चा पढाउन र घर चलाउन समस्या भएको भन्दै शिक्षाअनुसार रोजगारी पाउनुपर्ने उनीहरूको माग छ। ‘हामीलाई सबैभन्दा बढी आवश्यकता गाँस बास, कपास र शिक्षा हो। त्यो पूरा गरिदिए जसरी पनि बाँच्न सकिन्थ्यो', संक्रमित कविताले भनिन्, ‘आमाबुबा संक्रमित भएकै कारण छोराछोरी सबै क्षेत्रबाट वञ्चित नबनून्।' दाङमा एचआईभी संक्रमितको संख्या तीन सय पाँच पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ। तीमध्ये १९ जना बालबालिका छन्। एक सय ८६ जनाले एन्ट्रिरेट्रो भाइरल (एआरभी) औषधि सेवन गरिरहेका छन् भने ११ जनाको एचआईभीकै कारण मृत्यु भइसकेको छ।