परदेशीका सपना : पैसाको बिटो
स्कुलमा नेपाली र अंग्रेजी विषयमा निबन्ध लेख्नका लागि प्रश्न आउँथ्यो र अहिले पनि प्रायः कतै न कतै देशसँग जोडेर प्रश्न सोधिन्छ। विशेष गरेर नेपाली विषयमा विद्यालय तहका साना कक्षादेखि नै बढी सोधिन्छ, ‘मेरो देश नेपाल’ शीर्षकमा निबन्ध लेख। धेरैजसो विद्यार्थीले पहिलो वाक्यमै या त पहिलो अनुच्छेदमै लेख्छन्, ‘मेरो देश सानो छ। यो गरिब मुलुक हो। ...यो सुन्दर प्रकृतिले भरिएको देश हो। तर यसको विकास हुन सकेको छैन। यहाँका नेता भ्रष्टाचारी हुँदा विकास हुन सकेन। यहाँका नेताले देशलाई राम्ररी विकास गर्न सकेका छैनन्, त्यसैले हामी गरिब छौं। ...मलाई मेरो देश मन पर्छ। म मेरो देशलाई माया गर्छु।’ नकारात्मक कुराबाट सुरु भएर सकारात्मकतामै टुंगियो, अलिकति चित्त बुझाऊँ। दोषको पोको छ, ‘यो सानो छ, गरिब छ। एकातिर केही छैन, काम छैन अनि अर्कोतिर प्राकृतिक सुन्दरताले धनी मुलुक।’
अर्को कुरा समाजले, दुनियाँले बालमस्तिष्कमा भूत चढाएको छ। दुनियाँका कुरा सुनेकै भरमा बालबालिकाको दिमागमा अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरिया जाने लक्ष्य रेखा कोरिएको छ। नेताबाटै भाषण हुन्छन्, ‘म नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु।’ विद्यार्थीले नम्बर पाउँछ। जसोतसो १२ कक्षा उत्तीर्ण भयो तब भन्छ, ‘मैले विदेशका लागि अप्लाइ गरेको छु, नेपालमा बसेर के काम ? ’ निबन्धमा भन्छ, ‘मलाई मेरो देश मन पर्छ। म मेरो देशलाई माया गर्छु।’ तर त्यो नतिजा राम्रो बनाउनका लागि भयो। अब देशले के गर्ने त ? यसको उत्तर धेरैलाई थाहा छ, यहीं केही गर्ने, रोजगारको अवसर दिलाउने। उसको दिमागमा सबैले ठूलो पेसा भनेको पाइलट, इन्जिनियर र डाक्टर हो भनेर हालिदिएको छ।
हाम्रा बालबालिकाका दिमागमा वैज्ञानिक बनाउने सोचलाई हालिएको छैन। सपनाका ठेली थमाएर किताबको गहु्रँगो झोला भिराइन्छ। हामीले यसो पनि भनेका छैनौं, सिकाएका छैनौं– तिमी पछि जेसुकै बन तर कमसेकम मान्छे बन्ने कोसिस गरिरहुँ। अहँ, यसो त भन्नै चाहँदैनौं। वर्तमान सन्दर्भमा आफ्नै चाहनाले पढ्ने उद्देश्य बोकेर या त विशिष्ट लक्ष्य बोकेर विदेशको सपनामा होमिनेका आफ्नै तरिका छन्। त्यहाँ उद्देश्य र प्राप्तिको रहर छ। यहाँको अभावमा नभएर सपनाका गुजुल्टा कोरिएका हुन्छन् तर तिनमा पनि पीडाका पहाड उत्तिकै छन्। संघर्षको जालोले तिनलाई पक्कै घेरेकै हुन्छ। विद्यार्थी भएर जानेका मनोदशा भने दयनीय हुन्छन् नै। ती सपनामा इच्छाले ढाडस दिएको हुँदो रहेछ। आशाका त्यान्द्राले आगतका स्वप्न लहरीलाई उराल्दो रहेछ।
अभाव र जलनले मानव मन पिरोलिन्छ। सीप र जाँगर नभएर होइन आज युवा अवसर र श्रमको मूल्यांकन नहुँदा बिदेसिएको छ। मजदुर या त कामदार बनेर पर्देसिन्छ। तिनमा भिजन छ, मिसन हुन्छ यतै केही गरौं भन्दा चाहेर पनि वातावरण पाउँदैन। एकजना पर्देसिनुभएका मेरा अनन्य मित्रले भन्नुभयो, ‘विदेशमा जवानी फालेर अविवाहित भई काममा घोटिइरहनु मेरो रहर होइन, तीतो बाध्यता हो।’ कतिपय राजनीतिको पहुँच नहुँदा लाञ्छना बेहोर्दै हीनताबोध बोकेर विदेशको विकल्प रोज्न पुग्छन्। वैदेशिक रोजगारमा विवस बन्नेका दुःख र आर्तनादलाई सुन्दा त्यसै पनि मन कुँडिन्छ। घरको सानो बाकसमा पैसा थन्क्याउने लक्ष्य बोक्ने आफैंले बाकसभरि भरिएर फर्कंनुपरेका जलन छन्। सेल्फी लिँदै गलामा पूmलमाला र खादा भिरेर बिदेसिनेले स्वदेशमा फर्किंदा मृत शरीरमा पूmल र दागबत्तीको प्रतीक्षा गर्नुपर्यो भने मन दुख्नुपर्दैन र ? संघर्षमा आशा, रहरभन्दा धेरै बाध्यता हुँदो रहेछ।
भाषा नजान्दा, प्रविधिलाई नजान्दा, कडा राज्यनीतिको रूपलाई नबुझ्दा, हेपेर लुटिँदा, ठगिँदा या त लाञ्छना लगाएर निर्दोषले जेल, नेल मात्रै नभई मृत्युदण्डसम्म भोग्न विवश बनाइएको त्यो मन र तिनका परिवार, आफन्तको आँसु कति कारुणिक लाग्छ। विषय आफैंमा गम्भीर छ। देशलाई माया त विदेशमा बस्नेले पनि गरेकै छ। अझ आपूmले थाहै नपाई रेमिटेन्स भित्र्याएर देशको अर्थतन्त्रमा टेवा पुर्याउनेले कुनै न्यायको पोको नै खोल्ने चेष्टा गर्न जानेका छैनन्। खाडीमा पसिना बगाउँछन्। जवानीको जोस, परिवारको माया, दुःखाइ पिराइ, चाडपर्व, विवाह रमाइलो, मित्रताको सुगन्ध, चौतारीको चिसो हावा सबै अरबको खाडीमै स्वाहा।
‘साँहिली, साँहिली चालीस कटेसी रमाउला।’ – आखिर तिनले सुन्ने गीतमा भावुकता र वेदना हुँदो रहेछ। के तिनका पीडाको रहस्यलाई आर्थिक, मनोवैज्ञानिक या त सामाजिक कोणबाट खोतल्ने कोसिस भएका होलान् ? मेनपावरलाई १० हजार या त तोकिएको रकम बुझाएको श्रम स्वीकृतपत्रसहित एयरपोर्टमा पासपोर्ट बोकेर विजयको टीका पहिरिँदै बाहिरिनेका दुर्दशा कुनै खेलाँची गफ त होइनन्। तर रहस्य सबैलाई थाहा छ– तिनीहरू सबैले घरबारी, श्रीमतीका गहना धितो राखेर या त भैंसी, गाईवस्तु बेचेर लाखौंको बिटो मेनपावरमा बिनाआधार बुझाइरहेका हुन्छन्। बीचका च्याँखे थाप्नेदेखि प्लेनमा उडाउनेसम्ममा गरेर नेपालीबाटै आफ्नै मातृभूमिमा दैनिक रूपमा ठगिएका नेपालीका दुर्दशा खेलाँची लाग्दैन। पासपोर्ट बनाउँदाका झमेला र अप्ठ्यारामा तिनले केही बोल्न सक्ने अवस्थै छैन।
सरकारले विदेशका जेलमा रहेका कामदारको अवस्थालाई बुझ्ने जमर्को गरेको सराहनीय विषय हो। काम, माम र दामका निम्ति पर्देसिएकाहरूका आँसुका ढिक्कामा मेनपावरले माध्यम बनेर कति ठग्दैछन्– गम्भीर खोजको विषय हो। पैसाको मुठो सम्बन्धित व्यक्तिलाई दिन नपाइने, साथमा मोबाइल या कुनै फोटो खिच्ने चिज बोक्न नमिल्ने आफ्नै खाले कपटी नियम बनाई आपूm जोगिन्छन्। बढाइचढाइ गफ गरी फसाइन्छ। आश्वासन दिई अनेकौं जाल फालिन्छ। पैसा खाए पनि बाठोपना छाँटेर पहुँचले सोझाको पसिनामा रजाइँ हुन्छ। प्रमाण केही नहुने गरी पैसा खाएर गायब हुनेको चुक्ली जाल र साँठगाँठको लहरबाट ठगिनेको सूची खोज्न थाल्ने हो भने त्यो दुर्दशा पक्कै टिठलाग्दो होला ! आखिर सामाजिक न्यायको पुन्तुरो किन यति धेरै लज्जास्पद बन्छ ?
एउटा नेपाली स्वदेशमै होटेलमा ठगिन्छ, फोटो खिच्दामा ठगिन्छ, फोटोकपीमा ठगिन्छ, मेडिकल जाँचमा राम्रोसँग ठगिन्छ। अनेक बहानामा उसको समयको मूल्यको प्रवाह नगरी झुलाइन्छ। फ्री भिसा फ्री टिकट भनेर आशा देखाइन्छ। बहानाबाजी बनाएर लुटिन्छ। नांगो बनाएर गरिबका पसिनामा चुक्ली खेलिन्छ। आखिर मालिकले गाडी चढेर के गर्नु आखिर ती आँसुमा देखिएका दृश्य मदिरापान र मासुको परिकारमा गएर टुंगिन्छ। उता बिदेसिएकाहरूले भनेजस्तो काम नपाउने, भनेभन्दा थोरै रकम दिइनेजस्ता अनेकौं तवरले झुक्याइएका गुनासालाई तिनले दिल खोलेर कहाँ पोखेका हुन्छन् र ? सुन्ने चेष्टा गर्ने निकाय उसको आफन्त पनि त नहुन सक्छ। तिनै बिदेसिएका नेपालीहरूले आमाबाबा, छोराछोरी या त आफ्ना आफन्तका अनेकौं आशामा टेको दिएका हुन्छन्।
नेपालका नागरिकको प्रतिव्यक्ति आय हजार डलर नाघेको तथ्य बोकेर के गर्ने सारा जिन्दगी खाडीको गर्मीमा तुच्छ काम गर्दै सपना तुन्दैमा बित्नेको दशा कम दारुण लाग्दैन। सग्लो फर्कन पाइए, अलिअलि कमाइए त हाँसिएला नै, तर उतै अलपत्र भएमा, आरोपित भएर थुनुवा हुनुपरे, बिरामी परेर बेसहारे बन्नेको दर्दनाक मर्ममा पीडाको पहाड छ। तिनका परिवारले गरिरहनुपरेको प्रतीक्षा अझ भनौं नवविवाहिता श्रीमती या त मुखै देख्न नपाएर हुर्कंदै गरेको सन्तानको प्रेम कति मर्मस्पर्शी होला। नेपालले कसरी गर्व गर्दै छाती फुलाउन सक्ला ?
फेसबुकमा तिनै बिदेसिएका नेपालीले हरेक पर्व, संस्कृतिमा देश प्रेमको भावलाई पोख्छन्। तिनले सायद ‘नेपालको माया’ शीर्षकमा निबन्ध लेखेका नहुन पनि सक्छन्। देशको सद्भावमा तिनका विचार सजिन्छन्। बेरोजगारको प्रताडनामा देश रोइरहँदा एक्काइसौं शताब्दीमा पनि सोझा नेपाली नेपालीबाटै ठगिरहँदा बाध्यता स्विकार्न विवश छन्। विदेश त जानैपर्यो। लाखौंको बिटो तिरेको रहस्यलाई कसले खोल्न चाहन्छ र। बाध्यताको सिकार बनेका तिनको पीडामा परिवारको बोझ छ। जिम्मेवारीका लामा सूची हुन्छन्। तिनका बाध्यतामा छोराछोरी पढाउने र ऋण तिर्ने अपेक्षाका कुण्ठाले झापड हानिरहन्छ। औपचारिक तर बडो सावधानीपूर्वक दैनिक ठगिइरहने सोझाको न्याय मन्दिर कतिको विश्वासिलो छ त ? जनताले खुलेआम ठगिनुपरेको छ तर त्यहाँ विवशता छ। मनोविज्ञान छ। ‘विदेश जान नपाए बर्बाद हुन्छ भने किन कसैलाई यो सत्य सुनाउने ? ’ आजसम्म यसैगरी ठगी भइरहेको छ। आखिर पैसाको बिटोसँग मनको वहले सपनाका गुजुल्टालाई उन्नैपर्ने बाध्यता र मनोविज्ञानलाई नियाल्दा यो एक्काइसौं शताब्दीको ठगी प्रक्रिया लाग्दैन र ? हाइलाइट
बेरोजगारको प्रताडनामा देश रोइरहँदा एक्काइसौं शताब्दीमा पनि सोझा नेपाली नेपालीबाटै ठगिरहँदा बाध्यता स्विकार्न विवश छन्।