सम्पदा विकासका लागि बजेट

सम्पदा विकासका लागि बजेट

 बुटवल :  रुपन्देहीका स्थानीय तहले बुद्ध जन्मस्थल लुम्बिनी आसपासमा सम्पदाको विकास गरी पर्यटक भित्याउने योजना सुरु गरेका छन्। प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको विकास र प्रवद्र्धन गर्न सके लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षासहित स्थानीय तहले काम सुरु गरेका हुन्। त्यस्ता सम्पदा विकासका लागि तहले केही बजेट विनियोजन गरेका छन्।

लुम्बिनीसँग जोडिने सहज मार्ग भएमा पर्यटनको आकर्षण बढ्न सक्ने जनप्रतिनिधिको अपेक्षा छ। रुपन्देहीको सैनामैना क्षेत्र बुद्धकालीन–५ सहरमध्ये एक भएको विश्वास गरिन्छ। त्यहाँ बुद्धकालीन अवशेष फेला परेका छन्। ती पुरातातात्तिक अवशेष जम्मा गरेर सैनामैना संग्रहालय बनाइएको छ। ‘सैनामैना क्षेत्रलाई व्यवस्थित तरिकाले उत्खनन गरे पुरातात्विक महत्वका थुपै्र कुरा भेटिन्छन्’, सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले भने, ‘त्यसो भएमा तिलौराकोट जत्तिकै महत्व भएको ठाउँ बन्न सक्छ।’

सैनामैनामै पर्रोहा बोलबम धाम छ। पश्चिमको पशुपतिनाथ भनेर चिनिने यो धाममा साउनमा जलार्पण गर्नेको ठूलो भीड लाग्छ। बोलबम धाममा शिवज्योर्तिलिंग छ। यो स्वयं उत्पत्ति भएको विश्वास गरिन्छ। पर्रोहा बोलबमधामलाई विकास गर्न सके लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ। रामापुरदेखी लुम्बिनी जाने डबल लेनको सडक बनेकाले सो सडकबाट पर्यटक भित्याउने योजना नगरको छ। ‘लुम्बिनीभन्दा उत्तरतर्फ गर्मी पनि केही कम हुन्छ’, नगरप्रमुख कार्कीले भने, ‘पर्यटकको बसाइ क्षेत्र बनाउन यहाँ उपयुक्त छ।’

रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको दानापुर तालको प्रवद्र्धन सुरु गरिएको छ। शान्त ठाउँमा रहेको तालमा जिल्ला बाहिरका क्षेत्रबाट पनि आन्तरिक पर्यटक पुग्ने गर्छन्। यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न सके टाढाका आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्न सकिने कञ्चन गाउँपालिकाका प्रमख गोकर्ण क्षत्रीले बताए। ‘लुम्बिनीसँग सहज पहुँच भयो भने आन्तरिक पर्यटक बढाउन सकिन्छ’, उनले भने, ‘तालको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग बजेटको माग गरेका छौं।’ रामापुर लुम्बिनी सडकको हात्तीबजारबाट पश्चिमतर्फ लागेपछि दानापुर पुग्न सकिन्छ। दानापुर तालमा होमस्टेको योजना पनि अघि बढेको छ।

गैडहवा गाउँपालिकामा जिल्लाकै ठूलो गैडहवा ताल रमणीय स्थलमध्ये एक हो। तालकै नामबाट गाउँपालिकाको नाम राखिएको छ। यही तालमार्फत धेरै पर्यटक भित्याउने योजनामा गाउँपालिका छ। ‘गैडहवालाई पर्यटकीय स्थल बनाउन गुरुयोजना बनाइसकेका छौं’, गाउँपालिकाका अध्यक्ष बचु केवटले भने, ‘यसको व्यवस्थित र प्रचारप्रसार गर्न सकियो भने पर्यटक आउँछन्।’ गैडहवा गाउँपालिकाको सूर्यपुरामा यशोधरा मन्दिर पनि बनाउन लागेको केवटले जानकारी दिए। ‘गौतम बुद्धकी पत्नी यशोधराको मन्दिर कतै छैन, मन्दिर निर्माण गरेर पार्क बनाएपछि पर्यटक तान्न सकिन्छ’, उनले भने।

रुपन्देहीको सियारी गाउँपालिकाले माछा जोनलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना ल्याएको छ। कृषि पर्यटकलाई गाउँपालिकामा भित्याउँदै माछाका परिकार बेच्ने योजना बनाइएको छ। ‘लुम्बिनी आएका आन्तरिक पर्यटकलाई आकर्षित गर्न योजना बनाइरहेका छौं’, गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले भने। बेलबास बेथरी सडक र बुद्ध परिपथ तयार भएर सञ्चालनमा आए छपिया जान केही सहज हुनेछ। लुम्बिनी नजिकका स्थानीय तह मात्र नभई केही पर र अन्य जिल्लाका स्थानीय तहले पनि लुम्बिनीसँग जोडिने गरी पर्यटकीय विकास गर्न आ–आफ्नो योजना बनाएका छन्।

रुपन्देहीको दानापुर तालमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.