सुन तस्करी प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता
विराटनगर : सुन तस्करी र सनम शाक्य हत्या घटनासम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले बुधबार ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
सुन तस्करी घटनामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरिएको छ । प्रतिवादीविरुद्ध तीन प्रकारका मुद्दा दर्ता भएका छन्।
संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार प्रतिवादी बनाइएकामध्ये २९ जना पक्राउ परेका छन् । पक्राउ परेकामा प्रहरी सेवाका सात जना छन् । ३४ प्रतिवादी फरार रहे पनि विपक्षी बनाएर मुद्दा दर्ता गरिएको छ।
सुन तस्करी तथा सनम हत्या घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारी–७ का गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । तस्करीमा संलग्न रहेका र सनम हत्याका अभियुक्त भगाउन सहयोग गरेको भन्दै अवकाशप्राप्त पूर्वडीआईजी गोविन्द निरौला, अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।
लोहनी मंगलबार सम्पर्कमा आएपछि प्रहरीले अनुसन्धानका लागि म्याद थप नगरी सीधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको हो । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले लोहनीसँग बयान लिन नभ्याइएको जनाउँदै अन्य अभियुक्तसँगै लोहनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको बताए।
पक्राउ परेकामध्ये सइ बालकृष्ण सञ्जेलसहित २३ अभियुक्तविरुद्ध भने संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ।
मुद्दा दर्ता गर्न बुधबार दिउँसो ४ः४५ बजे अदालतमा उपस्थित गराइएका प्रतिवादीको बयान बिहीबार बिहान १० बजेबाट सुरु हुने स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । आइतबारसम्म बयान सकेपछि थुनछेक बहस सुरु हुनेछ ।
तीन हजार सात सय ९९ किलो सुन तस्करी
गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरी ल्याएको खुलेको छ । सन् २०१५ जुलाईदेखि हालसम्म १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बराबरको सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एसएसपी लोहनीले समाचार संकलनका लागि अदालतमा पुगेका पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । पत्रकार सुमन तिमल्सिना ‘सुस्केरा’ र धु्रव भट्टराईमाथि दुव्र्यवहार गरेका हुन् । मुद्दा दर्ताका लागि अदालतमा ल्याइएका उनले आफ्नो मात्रै फोटो र भिडियो खिचेको भनेर अपशब्द बोल्दै दुव्र्यवहार गरेका हुन् ।