सुन्धाराका सटर निर्माण नरोक्न अन्तरिम आदेश
काठमाडौं : गुठी संस्थानद्वारा सुन्धारामा निर्माण थालिएका सटर निर्माण उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोदमोहन आचार्य र अग्निप्रसाद थपलियाको संयुक्त इजलासले निर्माण कार्य रोक्का नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले व्यक्ति र गुठी संस्थानबीच विवाद भएको भन्दै सटरका निर्माण रोक्न निर्देशन दिएको थियो । सटर निर्माणका लागि ठेक्का लिएको अमात्य सप्लायर्सका प्रोप्राइटर सुरेन्द्र अमात्यको निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म निर्माण रोक्का नगर्नू÷नगराउनू भनी उच्च अदालतले आदेश दिएको हो ।
अमात्य सप्लायर्सका प्रोप्राइटर अमात्यले गुठी संस्थान र अमात्य सप्लार्यसबीच भएको पाँचबर्से सम्झौताअनुसार भइरहेको निर्माण कार्यमा अवरोध भई अपूरणीय क्षति हुने भन्दै महानगरदेखि पुरातत्व विभाग, गुठी संस्थानसम्मलाई विपक्षी बनाई अदालतमा रिट दिएका थिए ।
अमात्य सप्लायर्स र गुठी संस्थानीच २०७३ माघ २१ गते गुठीको स्वामित्वमा रहेको उक्त जग्गा भाडामा लिई अस्थायी संरचना निर्माण गरी उपभोग गर्न पाउने पाँचबर्से सम्झौता भएको थियो ।
महानगरबाट नक्सा पास गराई धरहरानजिक गुठीको स्वामित्वमा रहेको नौ आना एक पैसा जग्गामा अमात्य सप्लायर्सले धमाधम निर्माण कार्य गरिरहेको अवस्थामा महानगरले निर्माण रोक्न निर्देशन दिएको थियो ।
गुठीको जग्गापछाडि घर भएका व्यापारीले निर्माण कार्य अवरोध गर्दै आएका थिए । व्यापारीकै आग्रहमा महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । महानगरका सूचना अधिकारी वसन्त आचार्यले व्यक्ति र गुठी विवादका कारण निर्माण रोक्नुपरेको बताउँदै आएका छन् ।