लमजुङमा यातायात सेवा रोक्ने समितिका पाँच पदाधिकारी पक्राउ
बेसीशहर : सार्वजनिक सवारीसाधन बन्द गर्ने यातायात व्यवसायी समितिका पाँच जना पदाधिकारीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाईलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बुद्धीसागर पुरीले जानकारी दिए ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पदाधिकारीको खोजी भैरहेको उनले बताए ।सार्वजनिक यातायात बन्द गर्ने पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिनासाथ प्रहरी प्रशासन सक्रिय भएको हो ।
लमजुङमा लमजुङ कालिका यातायात सञ्चालक समिति र पृथ्वी राजमार्ग बस सञ्चालक समितिले यातायात सञ्चालन गर्दै आएका छन् । यी दुवै समितिले शुक्रबार यातायात चलाएका छैनन् । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।
देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सञ्चालन नगर्ने व्यवसायीहरुलाई लाई पक्राउ गर्न निर्देशन दिएका दिएका थिए ।